काठमाडौं । काठमाडौंमा बसोबास गर्ने थारु समुदायले समाचकेवा पर्व मनाएका छन् ।
शनिबार ‘थारू भसा साहित्य केन्द्र नेपाल’ले आयोजनामा थारु समुदायका महिलाहरु भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाएका हुन् ।
थारु समुदायका दिदी–बहिनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६८ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु भसा साहित्य केन्द्रके अध्यक्ष भुलाई चौधरीले बताए ।
हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा पनि आफ्नो संस्कार र संस्कृतिलाई कायम राख्न यो पर्व मनाएका हौं । तर सरकारले हाम्रो यो पर्वलाई कुनै मान्यता दिएको छैन। यो तराईको संस्कृतिमाथिको अपमान हो,’ उनले भने ।
उनले अहिले सरकारले दसैं, तिहार र छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएको तर समाचकेवा तराईका थारुलगायत अन्य समुदायले मनाए पनि सरकारले बेवास्ता परेको गुनासो गरे ।
कार्यक्रममा थारु कानून व्यावसायी सभाको महासचिव श्रवणकुमार चौधरीले समाचकेवा थारुको मौलिक गीति चाड भएकाले यसलाई जोगाउनुपर्ने बताए । उनले भने, ‘समाचकेवा थारुको मौलिक गीति र जीवन्त संस्कृति हो । यसलाई जोगाउनु नै आजको आवश्यकता छ ।’ मौलिक संस्कृतिलाई संरक्षण गर्नुपर्ने उनको भनाइ छ ।
यस्तै थारु महिला रेनु चौधरीले समाचकेवा भाइबहिनीप्रतिको माया, प्रेम, सद्भाव र जिम्मेवारी तथा समाजमा भएका भएका विभिन्न व्यक्तिहरुको चरित्र चित्रण गरेको बताए ।
बाँसको नाङ्लोमा काँचो माटोबाट विभन्न आकारका मूर्तिहरु बनाइएका छन् जसमा समाचकेवा, चुगला, बिरदाबनी, मौहौतिया/मालिन, कुत्ता, नाह खैबैया, तितिर (समाको साथी), नटुवा, न्याक्दी भलाजी, ढोलकिया/झाइल बजिया र भमरा राखेर समाचकेवा खेल्ने गरिन्छ ।
तमुबौद्धमा समाचकेवा खेलिसकेपछि थारु महिला सभाले धोबीखोला किनारमा समाचकेवा (जल बिसर्जन) सेलाएका छन् । त्यसअघि आपसमा छोरीहरु बैहैनपा (मितनी), छोराहरुले बगैरिया/भाइजी/गोदिया (मित) लगाएका छन् ।
यसले थारु समुदायमा समाचकेवाको जस्तै मितिनी वा मीतको मर्यादा कायम रहन्छ भन्ने किंवदन्ती छ । त्यसअघि मिल्ने छोरीहरु बैहैनपा (मितनी), छोराहरुले बगैरिया/भाइजी/गोदिया (मित) लगाउने थारु समाजमा अहिले पनि चलन छ ।