बाँके । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् ।
नेकपा (एमाले) बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री अधिकारीले राजनीतिक स्थायित्व र देशमा अग्रगमनका लागि दुई ठूला दलको सहकार्यमा बनेको सरकारले जनतामा आशा जगाउने काम गरेको बताए।
“हामीले जनतालाई आशा जगाउने गरी काम गरिरहेका छौँ, त्यसको प्रतिफल आइरहेको छ”, मन्त्री अधिकारीले भने, “मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिका लागि वर्तमान सरकार दृढताका साथ काम गरिरहेका छौँ ।” सहकारीमा देखिएका समस्या समाधान गर्न सरकारले अध्ययन गरिरहेको उहाँले जानकारी दिए ।
सहकारीमा देखिएका समस्या समाधान गर्न समिति नै बनाएर अध्ययनको काम गरिरहेको मन्त्री अधिकारीले बताए । “ऋण लगेकालाई ऋण तिर्न पर्दैन भन्ने हल्ला फैलाइएको छ, त्यो होइन, ऋण तिर्नुपर्छ”, उनले भने ।
मन्त्री अधिकारीले निम्न आय भएका व्यक्तिले थोरै–थोरै बचत गर्ने ठाउँ सहकारी भएकाले यसमा देखिएका समस्या समाधान गरेर अगाडि बढ्नुको विकल्प नरहेको बताए । उनले मन्त्रालयले सूचना केन्द्रलाई अगाडि बढाउने, कोष खडा गर्ने, न्यायाधीकरण बनाउने र नियमन निकाय बनाउन जरुरी भएको उल्लेख गरे । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका मालपोत कार्यालयको वार्षिक समीक्षा गोष्ठीमा सहभागी हुन उनि यहाँ आएका हुन् ।