काठमाडौं । वि.सं. २०४५/०५० सालमा मोना सिंहलाई सरकारी सेवामा प्रवेश गर्छु भन्ने कुनै सोच थिएन । पढाइमा अब्बल उनको कुरा मधेसी समुदायमा खुब चल्ने गर्थ्यो । उनको पढाइको लगनशीलतालाई परिवारले पनि चाहिने साथ दिएका थिए ।
मोनाका बुबा अर्जुनप्रसाद सिंह वन कार्यालयको जागिरे भएकाले छोरीलाई राम्रो शिक्षा दीक्षा दिने कुरामा कहिल्यै हस्तक्षेप भएन । आमा निरा सिंह र हजुरबुबा हजुरआमाले समेत उनलाई साथ दिएका थिए । त्यसो हुँदा उनी रोकिने कुनै चान्स नै भएन ।
सप्तरी जिल्लाको राजविराजस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट कानून संकायमा स्नातक गरेकी उनले आफूलाई एकदिन कुनै न कुनै क्षेत्रमा प्रमाणित गरेर देखाउँछु भन्ने सोच राख्थिन् । परिवारले साथ दिएपनि मोनाको समुदायमा छोरीले जागिर खाएको राम्रो नमान्ने चलन थियो ।
उनी सम्झिन्छन्, 'बुवा सरकारी सेवामा भएकाले मैले समाजबाट अलग हुने मौका पाएँ । बुवाको जता–जता सरुवा हुन्थ्यो । उतै–उतै जान्थे ।'
उनले स्नातक तह निर्धारित समयमै सकिन् । त्यो बेला पढ्न पाउने छोरीहरू कमै हुन्थे । उनी सम्झिन्छिन्, 'मेरो ब्याचमा जम्मा दुई जना मात्र महिला थियौं । अरू समुदायमा पनि छोरीहरूलाई पढाउने चलन त्यति थिएन । मेरो अर्को साथी झापाको हुनुहुन्थ्यो । २०५५ सालमा मैले स्नातक तह पास गरें ।'
स्नातक तह पास भएपछि उनलाई धेरै प्राइभेट तहबाट जागिरका अवसरहरू आए । तर उनले त्यो बेला काम गर्न सक्ने वातावरण भने तयार भएन । घरमा केटी माग्न आउनेको लर्को नै लाग्थ्यो । कहिलेकाहीँ त मोनालाई दिक्क पनि लाग्थ्यो । छोरीले मात्र पराई घर जानुपर्ने ? आफ्ना दाजुभाइ चाहिँ यही घरमा बस्न हुने ? भन्ने कुराहरूले उनको मन खाइरहन्थ्यो । तर समाजको नियम उनले मान्नैपर्ने थियो र उनले विवाह गर्ने निर्णय गरिन् ।
२०५६ सालमा उनको विवाह भयो । सप्तरीकी छोरी रौतहटको गौरमा पुगेपछि तत्काल पढ्ने तथा सरकारी जागिर खाने कुनै सम्भावना थिएन । बरु उनलाई बालबच्चा हुर्काउने जिम्मेवारी थपियो । महिलाको जिम्मेवारीबाट पन्छिने कुरै थिएन ।
छोरी हुँदा 'ओपन' भएपनि बुहारी भएपछि उनलाई सहज भने भएन । तर उनका श्रीमान् अमरेशकुमार सिंहले भने सुरुवातदेखि नै निरन्तर साथ र सपोर्ट दिए । उनी भन्छिन्, 'श्रीमानले मलाई तिमीले पढेको छौ केही गर्नुपर्छ भन्नुहुन्थ्यो ।'
महिलाको प्राकृतिक जिम्मेवारी उनले निर्वाह गर्नैपर्यो । बच्चा हुर्काउन ९ वर्षको समय खर्च भयो । बुहारीको जिम्मेवारी समेत उनले पुरा गर्नुपर्ने थियो । यि सबै जिम्मेवारीको बोझ श्रीमानले उनलाई थिचिन दिएनन्, निरन्तर सपोर्ट गरिरहे । बिस्तारै उनलाई आफूले केही गरेर पढाइको उपलब्धि लिन मन लाग्यो । त्यसैले उनले सरकारी सेवामा प्रवेश गर्छु भन्ने सोच राखिन् र जाँच दिने निधो गरिन् ।
घरको सम्पूर्ण जिम्मेवारी पुरा गर्दै सम्पूर्ण काम सकेर उनी रातभरि लोकसेवा पढ्थिन । श्रीमानको जागिर थियो । ठुलो परिवारमा बसेकी उनलाई थुप्रै जिम्मेवारीहरू आउने गर्थे । हुन त उनलाई आर्थिक रूपमा परिवारबाट कुनै समस्या थिएन । तर महिला पनि आर्थिक रूपमा सक्षम हुनुपर्छ भन्ने उनको सोच थियो ।
उनी वरिपरि किताब राखेर भुईँमा बसेर पढ्थिन । भन्छिन्, 'बेडमा बसेर पढ्यो भने निन्द्रा मात्र लाग्थ्यो । आफ्नो लक्ष्यमा पुग्न मेहनत त गर्नुपर्छ नि । चिसो भुईँमा बसेर पढ्थे । त्यसो हुँदा निन्द्रा समेत लाग्थेन ।'
बच्चा हुर्काएर मात्र सरकारी सेवामा प्रवेश
मोना विवाहअघि नै स्नातकोत्तरको पढाई सकाउने विचारमा थिइन् । तर परिवारले त्यही खालको ज्वाइँ खोज्नुपर्ने भन्दै रोके । 'स्नातकोत्तर गर्छु भन्दा त्यही खालको ज्वाइँ खोज्नुपर्छ भनेर मलाई परिवारमा रोक्नु भएको थियो', उनले भनिन् ।
स्नातक तहको पढाइ सकेर तत्काल बिहे भएपछि उनले पढ्न पाउने कुरै थिएन । बच्चा हुर्काएर बसेकी थिइन उनी । २०६५ सालमा लोकसेवाको फर्म खुल्यो र उनले परीक्षा दिने निधो गरिन् । मोनाले पहिलो प्रयासमै सरकारी वकिलको शाखा अधिकृतमा नाम निकालिन् र उनले सरकारी जागिरे जीवन सुरु गरिन् ।
समुदायमा उनको चर्चा व्यापक रूपमा हुन थाल्यो । माइत र घरतिरबाट पनि उनलाई आफन्तहरूले महत्त्व र प्राथमिकता दिए । उनी सम्झन्छिन्, 'महिला जागिरे हुनु र नहुनुले फरक पार्ने रहेछ ।'
उनको पहिलो जागिर ललितपुरबाट सुरु भयो । जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरमा सहायक न्यायाधिवक्ताको रूपमा उनले काम गरेकी हुन् । त्यसपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं, अक्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष सरकारी वकिल कार्यालय बबरमहल, विराटनगरमा समेत उनले काम गरिन ।
नेपाल बार काउन्सिलको सचिव समेत भएकी उनी हाल ताप्लेजुङ जिल्लामा जिल्ला न्यायाधिवक्ताको रूपमा कार्यरत छिन् । उनी ताप्लेजुङमा आफूले नै रोजेर गएको बताउँछिन् । भन्छिन्, 'सुगम क्षेत्रमा मात्र सरुवा हुने चलन भयो । मलाई दुर्गम क्षेत्रमा काम गर्नु थियो । अहिले आनन्द रूपमा सेवा गरिरहेकी छु ।'
उनी आफू खुट्टामा उभिन सक्नुपर्ने बताउँछिन् । परिवारमा सबै पुग्दो छ मैले किन दुख गर्नुपर्यो भन्ने सोच कहिल्यै राख्नु नहुने उनको भनाई छ ।
आफूले काम गर्ने क्षेत्रमा केन्द्रित रहेर काम गर्नुपर्ने कुराका विश्वास राख्ने सिंह त्यसैको लागि दिनरात मेहनत गर्थिन् । महिलाहरूका लागि सरकारी पेसा मर्यादित पेसा भएको भन्दै उनी सरकारी पेसामा महिलाहरूले जोड दिनुपर्ने बताउँछिन् ।
सेवाग्राही तथा समाजबाट पनि एकदम मानसम्मान पाइन्छ । उनी भन्छिन्, 'जागिर खाएको १४–१५ वर्ष भयो । आफू वा सिनियर तथा जुनियरबाट पनि मैले कहिले असुरक्षा तथा गलत व्यवहार महसुस गरिन । म काममा फोकस गर्ने मान्छे भएकाले मलाई गर्व महसुस हुन्छ ।'
अहिलेसम्म जागिरे जीवनमा आफू खुसी भएको उनी बताउँछिन् । आगामी दिनमा पनि राम्रो हुनेमा उनी ढुक्क छिन् । महिलालाई लोकसेवामा नाम निकाल्न अरूलाई भन्दा अझ समस्या हुने भएपनि हिम्मत नहार्नुपर्ने उनको मान्यता छ ।
लोकसेवा पास हुने भन्दा पनि प्रतिष्पर्धामा आउने कुरा भएकाले निरन्तर गहिरो मेहनत गर्नुपर्ने उनको मान्यता छ । उनी भन्छिन्, 'मेहनत त कति गर्नुपर्छ कति । कहिल्यै पनि हिम्मत हार्नु भने हुँदैन ।'
सरकारी सेवामा लाग्न निरन्तर अपडेट तथा लगनशीलता हुनुपर्ने बताउँदै कानुन पढेका महिलाहरू सरकारी सेवामा नै केन्द्रित हुनुपर्ने उनको सुझाव छ । उनी भन्छिन्, 'प्राइभेट रूपमा महिलालाई नपत्याउने चलन छ । त्यसकारण सरकारी सेवामा फोकस गरौं । आफ्नो सेक्युरिटी पनि हुन्छ । कसैले एकाधिकार प्रयोग पनि गर्न पाउन्न । पहिलेको तुलनामा त अहिले महिलाहरू आउनु पनि भएको छ । यो सुखद पक्ष हो', म महिला हो मेरो सुगम क्षेत्रमा मात्र सरुवा हुनुपर्छ भन्ने मान्यता चिर्नुपर्ने बताउँदै उनी भन्छिन् ।
अह्राएको खटाएको ठाउँमा जान महिलाले पनि सक्नुपर्ने उनको भनाई छ । उनी सरकारले महिला कर्मचारीलाई दिएको सेवा सुविधाबाट पनि सन्तुष्ट रहेको तर्क गर्छिन्। भन्छिन्, 'अहिलेका कानूनहरू महिलामैत्री छन् । यसले महिलाका समग्र कुरा समेटेको छ ।'
सकिन्छ र सम्भव हुन्छ भने त्यहाँको वस्तुगत अवस्था बुझ्नका लागि पनि आफू देशका विभिन्न ठाउँको काम गर्न तयार हुनुपर्ने मोना बताउँछन् ।
सुगम र दुर्गममा काम गर्न कति सहज ?
सुगम क्षेत्रमा कानुनको बारेमा जानकारी राख्ने सेवाग्राही बढी र दुर्गम क्षेत्रमा कम हुने भएपनि बुझाउन सकिने भएकाले काम गर्न सहज नै भएको बताउँछिन् । उनी भन्छिन्, 'कहिलेकाहीँ सेवा लिन आउँदा तपाईंले यस्तो गर्नु भएछ कानुनमा यसो गरेबापत यो खालको सजाय हुन्छ भन्दा उहाँहरूले कानुनको बारेमा ज्ञान नभएको बताउनु हुन्छ ।'
अहिले समाज परिवर्तन भइसकेको भन्दै उनी विकट ठाउँमा केही बुझाइमा समस्या भएपनि धेरै ठाउँमा परिवर्तन भइसकेको बताउँछिन् । भन्छिन्, 'महिलाका लागि सरकारले दिएको सुविधाप्रति खुसी छु, मलाई दुर्गम गाउँमा नै सेवा गर्न मन लाग्छ ।'
पढाइमा कसरी 'फोकस' गर्ने ?
अघिल्लो पुस्ता भन्दा पछिल्लो पुस्ता निकै स्मार्ट भएको भएपनि पढाइमा भने पछि देखिएको मोना बताउँछिन् । यसलाई सुधार्न आवश्यक रहेको उनको ठहर छ । एसएलसी (एसईई) पुरा गरेदेखि नै आफूले के गर्ने भन्ने कुरा विचार गर्न थाल्नुपर्ने उनको बुझाइ छ । अबको दिनमा आफू कसरी अगाडि बढ्ने भन्ने कुरामा पहिल्यै आफू क्लियर हुनुपर्ने उनी बताउँछिन् ।
आफू तयार भएपछि घर परिवारले पनि त्यहीअनुसार सपोर्ट गर्नुपर्ने उनको भनाइ छ । भन्छिन्, 'समाज छिटो छिटो अगाडि बढिरहेको छ । आफू कसरी अगाडि बढ्ने र लाइफ सेटल गर्ने भन्ने कुरा युवाले सोचिहाल्नुपर्छ ।' परिवार र समाजमा मान सम्मान र इज्जत प्रतिष्ठा कमाउन आफूलाई एउटा क्षेत्रमा सबैले अब्बल बनाउनुपर्ने उनको तर्क छ ।
युवा पुस्ताले पनि आफ्ना कुरा परिवारमा राख्न सक्ने र म यो गरेर देखाउँछु भन्ने आँट ल्याउनुपर्ने उनको भनाइ छ । उनी भन्छिन्, 'आफूलाई प्रमाणित गरेर जतै पनि राम्रो काम गरेर देखाउन सक्नुपर्छ । लोकसेवा होस् या कानून, त्यसबाहेक पनि अवसर त धेरै छन् । तर मेरो बाटो कुन हो र म कसरी हिँड्ने पत्ता लगाउन सक्नुपर्छ ।'