धुलिखेल । काभ्रेपलान्चोकको ग्रामीण भेगका तीन पालिकाले स्थानीय वासीलाई पायक पर्ने स्थानमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेका छन् ।
नमो बुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाको जनप्रतिनिधिको बिहीबार बसेको अन्तरपालिका समन्वय बैठकले संयुक्त रूपमा सो माग गरेका हुन् ।
नमो बुद्ध नगरपालिकामा भएको सो बैठकले भौगोलिकरुपमा विकट रहेका महाभारत, रोशी, तेमाल गाउँपालिका र नमो बुद्ध नगरपालिकाका सेवाग्राहीलाई नापी र मालपोत कार्यालय, राष्ट्रिय परिचयपत्र र मतदाता नामावलीसम्बन्धी सेवा लिन हाल धुलिखेलमा आउनुपर्छ ।
पालिकालाई पायक पर्ने स्थानमा कार्यालय स्थापना गर्न संयुक्तरुपमा अनुरोध र पहल गर्ने निर्णय भएको नमो बुद्ध नगरपालिकाका प्रवक्ता टीकाबहादुर केसीले बताए । ‘यस क्षेत्रका बासिन्दाको मागअनुसार तीन वटा नै पालिकालाई पायक पर्ने स्थानमा सो कार्यालय स्थापना गर्न अत्यावश्यक छ, उनले भने, ‘ती कार्यालय स्थापना र संवैधानिक अधिकारअनुसार हस्तान्तरणका लागि सम्बन्धित निकायलाई संयुक्तरुपमा अनुरोध र आवश्यक पहलसमेत गर्ने निर्णय गरेको हो ।’
बैठकले पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, विपद् व्यवस्थापन तथा न्यूनीकरण, खानेपानी तथा सरसफाइ, शिक्षा, स्वास्थ्य, कृषिसँग सम्बन्धित नमो बुद्ध, रोशी र तेमालको साझा योजना तथा कार्यक्रम पहिचान गरी सम्बन्धित निकायमा आवश्यक समन्वय र सहकार्य गर्दै सञ्चालन गर्न संयुक्तरुपमा पहल गर्ने निर्णयसमेत गरेको छ ।
त्यस्तै पोहर मैलालाई दिगोरुपमा वैज्ञानिक तथा प्रविधियुक्त तवरले व्यवस्थापन गर्नका लागि ‘एकीकृत फोहर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्र’को स्थापना गर्नका लागि तीन नै पालिकालाई सहज हुने स्थान पहिचान गर्ने निर्णयसमेत गरेको छ ।
नमो बुद्ध–४ मा रहेको प्रादेशिक अस्पताल मेथिनकोट अस्पतालबाट सो क्षेत्रका बासिन्दा लाभान्वित हुने गरेकाले उक्त अस्पतालमा सेवा सुविधा थप व्यवस्थापन गर्न आवश्यक समन्वय, सहयोग र सहकार्य गर्नुका साथै प्रदेश सरकार र सङ्घीय सरकारसँग संयुक्तरुपमा पहल गर्ने निर्णय बैठकले गरेको छ ।
त्यस्तै एक नगरपालिका र दुई गाउँपालिकाभित्रका विभिन्न स्थानमा हुनसक्ने प्राकृतिक जन्य तथा स्वास्थ्यजन्य विपद् र अन्य प्रकोपको पहिचान, व्यवस्थापन तथा न्यूनीकरणका लागि संयुक्तरुपमा कार्य योजना बनाई कार्यान्वयन गर्ने र विपद्जन्य घटनाको व्यवस्थापन, न्यूनीकरण, रोकथाम तथा उद्धारलगायतका कार्य गर्नका लागि पालिकासँग रहेका जनशक्ति, मेसिनरी औजार र सवारीसाधनको आपसी समझदारी गरी आवश्यकरुपमा परिचालन तथा सहयोग गर्ने निर्णय गरेको छ ।