चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा कृषि प्रदर्शनी तथा किसान मेला हुने भएको छ । विसं २०७६ मा पहिलो पटक मेला आयोजना गरेको विश्वविद्यालयले पाँच वर्षपछि दोस्रो संस्करण सुरु गर्न लागेको हो ।
मेला आयोजक समारोह समतिका संयोजक एवं विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा ऋषिराम कट्टेलका अनुसार यही मङ्सिर २९ गतेदेखि आगामी पुस ३ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो । विश्वविद्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मेलाका बारेमा जानकारी गराएको हो । किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेलामा १३५ कक्ष रहने छन् ।
कट्टेलका अनुसार विश्वविद्यालयको कृषि सङ्कायको परिसरमा हुने मेलामा कृषि प्रविधि, नवप्रवर्तन तथा अनुसन्धानका विषयमा समेत छलफल हुनेछ । यहाँ किसानलाई आवश्यक पर्ने नयाँ प्रविधिको प्रदर्शनी किसानले अवलम्बन गरेका प्रविधि, सीप तथा ज्ञानको विषयमासमेत छलफल हुने उनले बताए ।
कार्यक्रम अवधिभर कृषि क्षेत्रको नीतिगत बहस, कृषि रुपान्तरणका विषयमा कृषि उद्यमी तथा सरोकारवालासँग छलफल, दिगो पशुपालन भेटेरीनरी सेवा तथा मानव–वन्यजन्तु द्वन्द्वव्यवस्थापन लगायतका विषयमा समूहगत छलफल हुने कट्टेलले जानकारी दिए।
मेलाबाट १० हजारभन्दा बढी किसानले लाभ लिने अपेक्षा गरिएको उहाँले बताए । मेला किसान, विद्यार्थी र अनुसन्धानकर्ताबीच छलफल तथा कृषि क्षेत्रमा देखिएका समस्याको समाधानका लागि कोशेढुङ्गा बन्ने उनको विश्वास छ । विश्वविद्यालयका निमित्त उपकुलपति प्राडा अर्जुनकुमार श्रेष्ठले मेला अवधिमा विश्वविद्यालयबाट अध्ययन गरी गएका र रामपुर क्याम्पस हुँदा उत्तीर्ण उद्यमशीलतामा लागेका विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमसमेत रहेको छ ।
उनले भने, “सबै विद्यार्थी हाम्रा लागि समान हुन्, सबैलाई सम्मान गर्ने छौँ ।” उद्यममा लागेकाबीच मूल्याङ्कन गरी तीन जनालाई पुरस्कृतसमेत गर्ने कार्यक्रम रहेको छ । विगतमा सुरुवात गरिएको मेला कोरोना लगायतका कारणले स्थगित भएको जनाउँदै उनले यस कार्यक्रमलाई अब हरेक दुई÷दुई वर्षमा गरिने बताए ।
भित्तो काटेर बनाइएको तुइनखोला पुल सञ्चालनमा
नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने तुइनखोलाको पुल सञ्चालनमा आएको छ । दुई वर्ष हिउँदमा सडक रोकेर भित्तो काटेर पहाड भत्काएसँगै पुल निर्माण गरिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दरैका अनुसार शनिबारबाट यो पु्ल सञ्चालनमा आएको हो । योसँगै नाम्सी खोला पुल पनि सञ्चालनमा आएको दरैले जानकारी दिए । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएपछि विसं २०७९ र २०८० का हिउँदका तीन÷तीन महिना दिउँसोमा सडक रोकेर पुल बनाइएको हो ।
तत्कालीन समयमा आयोजनामा सूचना अधिकारी रहनुभएका इन्जिनियर कृष्ण आचार्यका अनुसार पुल निर्माणका लागि ६५ मिटर अग्लो पहाड दुई वर्ष लगाएर काटिएको हो । सो क्षेत्र सडक खण्डकै सबैभन्दा साँघुरो ठाउँ हो । हाल त्यहाँ पहाड भत्काएर सात दशमलव पाँच मिटर फराकिलो पुल बनाइएको छ । यो ६० मिटर लामो छ । आचार्यले भने, “एकापट्टी अग्लो पहाड र अर्कोपट्टी खोला छ, पहाड कडा चट्टान र काम गर्न निकै कठिन भयो ।” पहाड फोर्न कठिन भएपछि विस्फोट गराउने तयारीसमेत गरेर अन्तिम चरणमा रोकिएको थियो ।
विस्फोट गर्दा थप क्षति हुनसक्ने भएकाले अन्तिम प्रयास गर्ने सहमति अनुरुप गरिएको काम सफल भएको इन्जिनियर आचार्य बताउनुहुन्छ । सो सडकखण्ड विस्तारसँगै त्यहाँ रहेका पुल फराकिलो बनाइएको हो । सडक निर्माणकै क्रममा चार वटा पुल फराकिलो बनाइएको थियो । बाँकी १५ पुलमध्ये अब एउटा पुलमात्र निर्माण गर्न बाँकी छ । इन्जिनियर दरैका अनुसार खहरे खोलाको पुल बनाउन बाँकी छ ।
यो पुल मुआब्जाका कारण ढिलाइ भएको हो । पहुँच सडकको केही काम बाँकी रहेको भन्दै अबको दुई महिनामा यो पुल पनि सञ्चालनमा आउने उनले जानकारी दिए ।
विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । विश्व बैंकको सहयोगमा ती पुल निर्माण गरिएका हुन् । सडक चौडा भएपछि पुलको काम थालिएको हो । यो सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । पुलसमेत सोहीअनुसार फराकिलो बनाइएको छ ।
पुल निर्माण अनक कन्स्ट्रक्सनले गरेको हो । रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।