काठमाडौं । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।
थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।
लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर शीर्ष स्थानमा उक्लेको छ ।
अन्तिम बलमा लुम्बिनीलाई जितका लागि २ रन आवश्यक थियो । ठूलो सट हान्ने क्रममा जोरा किशोर महतोबाट क्याच आउट भए ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । टम मुर्सले ३१ र अर्जुन साउदले २० रन जोडे । सन्दिप जोराले ८ बलमा १६ रन बनाएपनि जित दिलाउन सकेनन् ।
जनकपुरको जितमा नाकय बनेका हर्श थाकरले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए । उनले ४ ओभरमा २३ रन खर्चिए ।
ललित राजवंशी, शेर मल्ल र किशोर महतोले १-१ विकेट लिए । ललितले ४ ओभरमा १३ रन मात्र खर्चिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३६ रन बनाएको थियो ।
जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए । लाहिरु मिलान्थाले २४ र आसिफ शेखले १६ रन जोडे । शुभ कंसाकारले अविजित २२ रन बनाए ।
बलिङमा लुम्बिनीका लागि युवा स्पीनर अभिशेष गौतमले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान रोहित पौडेलले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । साद विन जफरले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । सन्दिप जोराले २ ओभरमा १३ रन खर्चेर १ विकेट लिए ।