काठमाडौं । गोदावरी नगरपालिका, कैलालीका एक कर्मचारीविरुद्ध सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ । नगरपालिकाको कृषि शाखामा कार्यरत गोकुल भट्टलाई यस्तो आरोप लागेको हो । उनले कृषकहरूसँग अनुदान रकमको २० प्रतिशत कमिसन मागेको आरोप छ ।
उनले नगरभित्रका कृषक समूहबाट पैसा असुल्ने गरेको आरोप समेत लागेको छ । सो क्षेत्रका गोदावरी कृषक समूह, हरियाली कृषक समूह, युनिक कृषक समूह, सेतीनाला कृषक समूह र सुदूरपश्चिम कृषक समूह गरी पाँच समूहले आर्थिक वर्ष २०७९/०८० मा ३/३ लाखका दरले अनुदान पाएका थिए । सोहि अनुदानबाट २० प्रतिशत भट्टले मागेको प्रमाण फेला परेको जनाइएको छ ।
कृषकहरूका अनुसार भट्टले राति फोन गरेर पैसा माग्ने, पैसा नदिए फाइल लुकाइदिने गर्ने गरेका छन् । यद्यपी भट्टले घुस लिएको अस्विकार गरेका छन् । प्रमाणको रूपमा आगाडी आएको पैसा मागेको अडियोमा उनले आफ्नै आवाज भएको स्वीकार गरे तापनि पैसा भने नमागेको दाबी गरेका छन् । अडियोमा कमिसनको रकम माथिल्लो कर्मचारीहरूलाई समेत दिनुपर्ने उनले बताएका छन् ।
नगर प्रमुख वीरेन्द्र भट्ट, प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार खत्री, कृषि शाखा प्रमुख नन्दी मल्ल र भट्टलाई सञ्चारकर्मीहरूले एकसाथ राखेर यस विषयमा सोधपुछ समेत गरेका थिए । नगर प्रमुख वीरेन्द्र भट्टका अघि उनले आफूलाई केही समूहले पैसा दिने बताएको पनि स्वीकारेका छन् ।
शाखा प्रमुख नन्दी मल्लले भने यस विषयमा आफू जानकार नरहेको र यसमा शाखाको कुनै संलग्नता नरहेको बताएकी छिन् । सम्बन्धित कर्मचारीलाई स्पष्टीकरण सोधिने र कारबाही प्रक्रिया अघि बढाइने प्रमुख प्रशासकीय अधिकृत वसन्त कुमार खत्रीले जनाएका छन् ।
नगर प्रमुख वीरेन्द्र भट्टले गलत गर्न र हुन नदिन प्रमुख प्रशासकीय अधिकृतलाई कर्मचारीसँग स्पष्टीकरण नलिई सिधै निलम्बन गर्न निर्देशन दिएको जनाइएको छ ।