काठमाडौं । २९ औं विश्व आदिवासी जनजाति दिवस साताव्यापी विविध कार्यक्रम गरी मनाइने भएको छ । आज शुक्रबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विविध सांस्कृतिक तथा वैचारिक कार्यक्रमको आयोजना गरी मनाउने बताएको हो ।
कार्यक्रममा नेफिनका महासचिव दिवश राईले महासंघले यो वर्ष 'पहिचान र अधिकार सुनिश्चितताको लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौं, परम्परागत ज्ञान सिपको प्रवर्द्धन गर्दै पुर्ख्यौली भूमि, भाषा र संस्कृतिको संरक्षण गरौं' भन्ने राष्ट्रिय मूल नारा तय गरिएको बताए ।
संयुक्त राष्ट्र संघले यस वर्ष विश्व आदिवासी दिवसको सन्दर्भमा 'आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा' भन्ने अन्तर्राष्ट्रिय मूल नारा तय गरेको छ । महासचिव राईका अनुसार नेफिनले नेपालका आदिवासी जनजाति सम्बद्ध संघसंस्थासँगको समन्वयमा राष्ट्रिय नारा तय गरेको हो ।
महासंघले साउन २४ गते बुधबारका दिन कमलादीस्थित नेपाल प्रज्ञा भवनको सभा हलमा मूल समारोहको आयोजना गरिने जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्य रहने कार्यक्रममा पहिचानको आवाज उठाउने नेपाल सरकारका मन्त्रीहरूको समेत उपस्थिति रहने जनाइएको छ ।
आदिवासी जनजाति महासंघका संघीय अध्यक्ष गेल्जे लामा शेर्पाले कार्यक्रममा आदिवासी जनजातिहरूको प्रथाजनित मान्यताहरूमाथि विभिन्न व्यक्तिहरूले लोकप्रियताको नाममा सामाजिक सञ्जाल तथा मिडियामा आदिवासी जनजातिको मान्यता र विश्वासमाथि ठेस पुग्ने काम गरेकामा खेद प्रकट गरे ।
उनले अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदायलाई लक्षित गरेर दिएको अभिव्यक्तिलाई लक्षित गर्दै तामाङलाई मात्र नभएर समग्र आदिवासीप्रतिको गलत व्यवहार भएको समेत टिप्पणी गर्दै यस्ता कुराले दन्डहीनता बढाउने समेत बताए । उनले आन्दोलनका क्रममा राज्यले आन्दोलनकारीमाथि गरेको ज्यादती र दमनको जति निन्दा गरेपनि कम हुने जनाए ।
साउन २४ गते बिहान ११ बजे भृकुटीमण्डपमा मूल समारोहमा नेपालका आदिवासी जनजातिहरूका मातृभाषा र लोक भाकामा बनेका गीतहरू, सांस्कृतिक झाँकीहरू, स्थानीय र रैथाने प्रकृतिका आदिवासी जनजातीय कलाकृति सहितका प्रदर्शनी, विभिन्न जातीय भेषभुषाको प्रदर्शनी गरिने जनाइएको छ । महासंघले भृकुटीमण्डप प्रदर्शनी मार्गदेखि प्रज्ञा भवन कमलादीसम्म सांस्कृतिक झाँकी सहितको र्याली हुने समेत जनाएको छ । र्याली भद्रकाली, सुन्धारा, जमल, घण्टाघर भएर नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभा हलमा प्रवेश गरी मूल समारोहमा मिसिनेछ ।
राईले यो वर्षको विश्व आदिवासी दिवस भव्य तथा शक्ति प्रदर्शनको हिसाबले मनाइने र मूल समारोहमा विभिन्न जातीय संस्थाहरूबाट आ-आफ्नो मौलिक सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिने जानकारी दिएका छन् । उक्त कार्यक्रममा आदिवासी जनजाति आन्दोलनमा योगदान दिने विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिने जनाइएको छ ।
प्रज्ञा भवनको पछाडितिर रहेको खुल्ला बगैँचामा आदिवासी जनजातिहरूको विभिन्न मौलिक खानपिनहरूको प्रदर्शनी (फुड फेस्टीवल) तथा विक्री वितरण स्टलहरू राखिने जनाइएको छ ।
आज तमु ह्युल छोंज धी (गुरुङ राष्ट्रिय परिषद्) केन्द्रीय कार्यसमितिको आयोजनामा २९ औं विश्व आदिवासी दिवस र नेपालको आदिवासी आन्दोलनको अवस्थाबारे काठमाडौंमा अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिएको थियो । साथै सुनुवार सेवा समाज, केन्द्रीय कार्यसमितिले पनि शुक्रबार आत्मनिर्णयको अधिकार कार्यान्वयनका लागि कोइँच (सुनुवार) युवाको भूमिका विषयक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल मगर संघ केन्द्रीय कार्यसमितिले साउन २० गते शनिबार आदिवासी जनजाति आन्दोलनको वर्तमान अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ भने साउन २१ गते शनिबार नेपाल आदिवासी जनजाति महासंघ, संघीय महिला विभागको आयोजनामा आदिवासी जनजाति महिलाहरूको समानुपातिक समावेशी प्रतिनिधित्व र सीडको सिफारिस नं ३९ आदिवासी महिला र किशोरीको सवालबारे पेन्सन भासना होटल डिल्लीबजारमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
साउन २२ गते किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले संस्थाको ३६औं स्थापना दिवस तथा १ नं प्रदेश पुनः नामकरण विषयमा क्रिष्टल पार्टी प्यालेस मानभवन ललितपुरमा बहस कार्यक्रमको आयोजना गरेको छ भने आदिवासी जनजाति अपांग संघले आदिवासी, आदिवासी महिला, आदिवासी अपांगता भएका व्यक्तिहरूको अभियानमा आदिवासी युवाहरूको भूमिका विषयक राष्ट्रिय कार्यशाला गोष्ठी साउन २२ गते पेन्सन भासना होटेल, डिल्लीबजारमा आयोजना गरेको छ ।
साउन २५ गते आदिवासी जनजाति अपांग महिला संघको आयोजनामा होटेल यल्लो प्यागोडा जमलमा (नेपालका आदिवासी प्रेरणादायी व्यक्तित्वहरूको संघर्ष) विषयक पुस्तक विमोचन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले साउन २७ गते फोनिजको स्थापना दिवसको अवसरमा २७ र २८ गते विराटनगरमा प्रदेश नं १ आन्दोलनको विषयमा बृहत् अन्तरक्रियात्मक बिचार गोष्ठी विचार गोष्ठीको आयोजना गरेको छ भने ईन्डिजिनियस टेलिभिजनले आदिवासी जनजातिहरूको सवालमा एक हप्ते टेलिभिजन बहस कार्यक्रमको आयोजना गरेको छ ।