म्याग्दी । वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कंदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो ।
विदेशमा सोचेजस्तो कमाइ नभएपछि घर फर्केका उनको अन्य आम्दानीको स्रोत थिएन । 'विसं २०५८ मा केन्जन बहुउद्देश्यीय कृषि फार्म खोलेर कुखुरा र गाईभैँसीसी पाल्नुका साथै खेतबारीमा सुन्तलाका बिरुवा लगाएँ', उनले भने, 'कुखुरा, अण्डा र गाईभैँसीको दूध बेचेर घरव्यवहार चलाउने र छोराछोरीलाई इन्जिनियर, नर्स र कानुन व्यवसाय पढाएँ ।'
तिलककी जेठी छोरी यास्ना गुरुङ मेडिकल इन्जिनियर, माइली दिव्या नर्स, साइली सोनिया अधिवक्ता छन् । तीनै बहिनी हाल अस्ट्रेलियामा छन् । काइली साकिरा आर्किटेक्ट इन्जिनियर, कान्छी निलिमया स्टाफ नर्स र छोरा केन्जनले नेपालमै एरोनिकल इन्जिनियरको स्नातक तहको पढाइलाई अन्तिम चरणमा पुर्याएका छन् ।
तीन सय ५० बोटमा फलेका सुन्तलालाई यसपालि रु १४ लाखमा बोटबाट नटिप्दै व्यापारीलाई ठेक्कामा बेचेका गुरुङ कृषि पेसाबाट आर्थिक र सामाजिक पहिचान बनाउन सफल भएका छन् । उनले जिल्ला र केन्द्रीयस्तरको कृषि उद्यमी पुरस्कार पनि पाएका छन् ।
हाल १२ वटा गाईभैँसी पालेका गुरुङले दैनिक ९० लिटर दूध बिक्री गर्छन् । तिलक, श्रीमती तिलकुमारी र अन्य दुई जना कामदार कृषि फार्मको काममा व्यस्त हुन्छन् । बास्कुना कृषि सहकारी संस्थाका सञ्चालक समेत रहेका तिलकले बास्कुनालाई ‘एफएम भिलेज’ (फ्रुट र मिल्क गाउँ) बनाउने अभियानको अगुवाइ गरेका थिए ।
'बास्कुनाका १६ घर सबैले सुन्तला लगाएका र गाईभैँसी पालेका छन्, यसपालि रु एक करोड ५० लाख बराबरको सुन्तला बिक्री हुने अनुमान गरेका छौँ', गुरुङले भने,'दैनिक तीन सय लिटरभन्दा बढी दूध बेनीमा बिक्री हुन्छ । दुई दशकअघि गरेको एफएम भिलेज बनाउने परिकल्पना पूरा भएको छ ।'
बास्कुना, सुर्केमेला र थामडाडाका चालीस घरधुरीले आठ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरेका छन् । करिब ५० हजार उत्पादन दिने सुन्तलाका बोट छन् । पूर्व फर्किएको बास्कुना गाउँभरि सुन्तलाखेती छ । लटरम्म फलेका सुन्तलाले गाउँ रंगिएको छ । सुन्तला बगैँचा अवलोकनका लागि कृषक समूह र पाहुना बास्कुना पुग्छन् ।
खेतबारीमा धान, मकै र कोदो बाली रोप्न छाडेर सुन्तलाखेती गरेका कृषकको जीवनस्तरमा परिवर्तन आएको छ । कृषक भीम गुरुङले गत वर्ष रु पाँच लाखको सुन्तला बेचेका कृषकले यसपालि रु दश लाख बराबरको फलाएका बताए । नयाँ बिरुवा थपिएका र फल राम्रो लागेकाले उत्पादन बढेको गुरुङले बताए ।
सुन्तला बिक्री गरेर एक जना कृषकले रु एक लाखदेखि १४ लाखसम्म आम्दानी गर्छन् । बास्कुनाको सुन्तला अन्य ठाउँको भन्दा रसिलो, गुलियो र स्वादीलो हुने सुन्तला व्यापारी सुदर्शन गौतमले बताए । नारायणघाट, काठमाडौँ र नुवाकोटमा सुन्तला लैजाने गरेको उनले बताए ।
मूल्यमा एकरुपता कायम गर्न, कृषकको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि र कृषक समूहले सुन्तलाको प्रतिकिलो न्यूनतम रु ८५ मूल्य कायम गरिएको बेनी नगरपालिका–४ का वडासदस्य सन्दीप खत्रीले बताए । गत वर्ष रु ८० प्रतिकिलो सुन्तलाको मूल्य कायम भएको थियो ।
'यसअघि मङ्सिरमा रङ र गुलियो नपस्दै सुन्तला बजार पठाउँदा नराम्रो सन्देश गएको थियो । कृषकले व्यापारीले जति भने त्यति मूल्यमा सुन्तला बेच्ने गरेका थिए', उनले भने,'गत वर्षदेखि कृषकले समान र उचित मूल्य पाउने, पाकेको गुणस्तरीय र स्वादिलो सुन्तला बजारमा जाने वातावरण बनाएका छौँ ।'
कृषि ज्ञान केन्द्रले बास्कुनालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बल्क कार्यक्रममा समेटेको छ । सुन्तला बगैँचा व्यवस्थापन गर्ने औजारका साथै झर्याङ, क्रेट, झरेका सुन्तलाको दाना व्यवस्थापन गर्ने प्लास्टिकको थैलोलगायतका सामग्री सहयोग गरिएको केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए ।
प्रदेश सरकारमार्फत तीन वर्षअघि बास्कुना, सुर्केमेला र थामडाँडाका लागि बालमखोला सिँचाइ आयोजना निर्माण भएको थियो । सिँचाइ सुविधा भएपछि सुन्तलाखेती गरेका कृषकलाई सहज भएको छ । बेनी–थामडाँडा–बरङ्जा सडक स्तरोन्नति नहुनु, बाँदर आतङ्क र सुन्तलाको दाना झर्ने समस्या मुख्य चुनौतीका रुपमा देखिएको कृषकले बताएका छन् ।
कृषकसमेत रहेका वडासदस्य खत्रीले बेनी–थामडाँडा सडक स्तरोन्नतिका लागि यसपालि प्रदेश सरकारबाट बजेट विनियोजन भएको, सिँचाइ आयोजनाको क्षमता विस्तार गर्न पहल गरेको र दाना झर्ने समस्या समाधानका लागि कृषि निर्देशनालयसँग समन्वय गरेको बताए । रासस