काठमाडौं । सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो ।
हालसम्म नौ स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्याङ्क अधिकृत सूर्यबहादुर खड्काका अनुसार हाल चार सय २५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम भइरहेको छ ।
मन्त्रालयले अस्पताल नभएका ६ सय ५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो । “सतचालीस स्थानीय तहमा सम्झौताअनुसार अस्पताल निर्माण गर्न रकम विनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा ८४ स्थानीय तहमा रु चार अर्ब ४३ करोड पठाइसकेका छौँ”, अधिकृत खड्काले भने ।
सरकारले पहिलो चरणमा तीन सय ९६ र दोस्रो चरणमा दुई सय ६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो । केही पालिकामा जग्गा विवाद र राजनीतिक कारण निर्माण कार्य अघि बढ्न सकेको छैन ।
सरकारले तीन सय ९६स्थानीय तहमा निर्माणको स्रोत सुनिश्चित गरिसकेको छ । दुई सय ६१ पालिकामा अस्पताल निर्माण गर्न स्रोत सुनिश्चत भएको छैन ।
“स्रोत सुनिश्चित नभएका स्थानीय तह आफैले अस्पताल बनाइरहेका छन् । सिन्धुपाञ्चोकको सुनकोसी गाउँपालिका आफैले अस्पताल भवन बनाएको छ”, अधिकृत खड्काले भन्नुभयो ।
उनका अनुसार अहिलेसम्म तीन सय ९६ पालिकामा अस्पताल बनाउन रु ५१ अर्ब ८४ करोड ५५ लाख र दुई सय ६१ पलिकाका लागि रु तीन अर्ब २० करोड विनियोजन गरिएको छ ।
विसं २०७७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका तहमा पाँच, १० र १५ शय्याको अस्पताल निर्माण गर्ने निर्णय गरेका थिए ।
त्यही अनुसार ८० पालिकामा पाँच शय्याको, एक सय ५४ पालिकामा १० शय्या तथा चार सय २३ पालिकामा १५ शय्याका अस्पताल निर्माण गर्न थालिएको हो ।
सरकारले पाँच शय्याका लागि रु सात करोड ११ लाख ९८ हजार, १० शय्याका लागि रु १० करोड ८३ लाख ३६ हजार र १५ शय्याका लागि रु १८ करोड ६ लाख ४२ हजार विनियोजन गरेको छ ।