यतिबेला नेपालमा आजसम्मकै ठूलो खेल प्रतियेगिता नेपाल प्रिमियर लिग एनपीएल चलिरहेको छ । विगतको तुलनमा पछिल्लो केहि समययता खेल क्षेत्रलाई मिडियाले महत्व दिईरहेका छन । अझ बिशेष गरी खेलका प्रत्यक्ष प्रसारण देखि खेल विश्लेषण सम्म भईरहेको पाईन्छ । खेल क्षेत्रले मेनस्ट्रिमिङ् पाउनु नै चुनौति भईरहेको बेला देशमा भईरहेको ठूलो इभेन्टले थप उत्साह ल्याएको छ । यसै बिषयमा हामीले कान्तिपुर टेलिभिजन नेटवर्कका प्रमुख कार्यकारी अधिकृत सीईयो शिशिर पछाईसँग कुराकानी गरेका छौं । सामान्य व्यवसायिक जीवनबाट फड्को मार्दै आजको अवस्थामा पुगेका र विशेषगरी टेलिभिजनको माध्यमबाट खेल क्षेत्र र खेलाडीलाई प्रेतिसाहन गरिरहेका पछाईसँग समग्र खेल क्षेत्रको विकासका सन्दर्भमा रहेका गरिएको कुराकानी ।
हाल नेपालमा एनपिएल चलिरहेको छ । व्यवसायिकताको दृष्टिकोणबाट यसलाइ कसरी हेरिरहनुभएको छ?
-अहिले नेपालमा चलिरहेको एनपीएलले मुलुकको खेल जगतलाई उत्साह मात्रै थपेको छैन खेल क्षेत्रमा लुकेको सम्भावनालाई पनि उत्तिकै प्रष्फुटन गरेको छ । नेपाली खेलकुदले देखेको र अनुभव गरेको यो अहिलेसम्मकै बृहत खेल महोत्सव हो भन्दा फरक पर्दैन । यो यति बृहत भैसकेको छ कि नेपाल क्रिकेट संघ क्यान नेतृत्वले सोचे जस्तै १ सय करोड भन्दा बढीको टर्नओभर एनपीएलले गरिसकेको छ । यद्यपि यसमा फ्रेञ्चाइज टोलीकै लगानी पनि ८० करोड हाराहारी छ । यसबाट के प्रमाणित हुन्छ भने राम्रो व्यवस्थापन र सही नेतृत्व भयो भने खेलले सफलता मात्रै हासिल गर्दैन बरु क्यापिटल गेनमा पनि मद्दत गरिरहेको हुन्छ । एनपीएल त्यही दिशामा अघि बढिरहेको छ । यसका लागि क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई धन्यवाद भनेर मात्रै पुग्दैन उहाँहरुलाई अघि बढ्न प्रेरणा र साथ दिनुपर्छ । एनपीएल मात्रै हैन खेलकुद क्षेत्रमा आयोजना हुने ठूला प्रतियोगिताहरुलाई व्यवसायिक रुपमा सफल तुल्याउन र त्यसलाई ठूलो परियोजनको रुपमा हेरिनुपर्छ । दर्शकको सहभागिताले मात्रै हैन फ्रेञ्चाइज टोलीका मालिकहरुमा देखिएको उत्साह र प्रतियोगिताको प्रसारणमा भएको अन्तर्राष्टियकरणले पनि के सन्देश प्रवाह भएको छ भने राम्रो कन्टेन्टको सिर्जना गर्ने हो भने यसले ठूलो अवसर सिर्जना गर्न सक्छ । त्यो अवसरको सिर्जनामा एनपीएलले एउटा बलियो जग निर्माण गरेको छ ।
खेल क्षेत्रका लागि नेपालको स्पोन्सरसिप सेक्टर सक्षम छ ? यसको स्थायित्व कस्तो रहला ?
– नेपाली खेलकुदको चरित्र विशिष्ट छ । खेलकुद हाम्रो लागि स्वास्थ्य र मनोरञ्जनको साधनभन्दा निकै माथि छ । कहिलेकाहीं त यसले मुलुककै एकताको प्रतिनिधित्व गरिरहेको हुन्छ । राजनीतिले निराश एवं आकुल व्याकुल तुल्याइएका नागरिकमा आशाको सञ्चार गराउने एकमात्र क्षेत्र नै खेलकुद हो । त्यसैले यस्तो विशिष्ट क्षेत्रमा आउने स्पोन्सरसिपलाई पनि त्यसैगरी हेर्दा ठीक हुन्छ । हाम्रा प्रायोजकहरु सक्षम छ कि छैन भन्ने प्रश्नको जवाफ खोज्नुअघि उनीहरुको प्रोडक्टको भ्यालिडिटी कस्ता उपभोक्ताबाट हुन्छ वा भैरहेको छ भन्ने बुझ्नपर्छ । हाम्रा खेल प्रतियोगिताहरुमा कस्ता दर्शकको सहभागिता हुन्छ ? यो बुझ्न जरुरी छ । क्रिकेट, भलिवल, बास्केटबल वा अन्य जुनसुकै खेलहरु हुन यिनमा फरक प्रकारका दर्शकहरु हुन्छन । अझ दर्शकको उमेर समुह पनि फरक हुन्छ । शहरमा एउटा खेल लोकप्रिय छ भने गाउँमा अर्कै । तराईमा हेरिने खेल र हिमाल अनि पहाडमा हेरिने खेल फरक छ । प्रायोजकहरुका लागि यस्तो विविधतायुक्त क्षेत्र अरु हुनै सक्दैन । खेलकुद मात्रै एउटा यस्तो क्षेत्र हो जहाँ प्रायोजकले आफ्नो वस्तुको उपभोक्तासँग सिधा सम्पर्क स्थापित गर्न पाउँछन् । ठूला खेल प्रतियोगिताहरुमा प्रायोजकले आफ्नो प्रोडक्टको ब्रान्डिङ् गर्न सक्छन् र भ्यालु कन्भर्जन गर्न सक्छन । आगामी दिनमा यो झन स्थापित हुँदै जानेमा म आशावादी छु ।
नेपालको समग्र खेल क्षेत्रको विकासका लागि संचारमाध्यममको भुमिका कस्तो हुनु पर्छ ?
– एउटा भनाई छ नि नाम, बदनाम जेसुकै होस् तर गुमनाम नहोस । खेलमा पनि यो लागू हुन्छ । सञ्चार माध्यममा नआएका खेल प्रतियोगिताहरु व मिडिया कभरेज नपाएका प्रतियोगिताहरु एउटा बन्द कोठामा खेलिएको खेलभन्दा फरक हुँदैन । खेल क्षेत्रले पछिल्लो समय पाएको विश्वव्यापी ख्यातिका पछाडि पनि सञ्चार माध्यमको महत्वपूर्ण भूमिका छ । त्यसैले त ठूला प्रतियोगिताहरुको प्रसारण अधिकारको बिक्री करोडौं डलरमा हुने गर्छ । यसमा मूलधारका मिडिया वा समाजमा प्रभाव पारिरहेका बैकल्पिक सञ्चार माध्यम वा न्यू मिडियाले पनि खेलको विकास, विस्तार र व्यापकतामा राम्रै प्रभाव पारेका छन् । कुनै पनि खेलको स्पर्धालाई आम समुदायमा पुर्याउने माध्यम नै सञ्चार माध्यम हो । तर , विचार गर्नुपर्ने तथ्य के पनि हो भने प्रचार गरिएका खेहरुको आवश्यकता के हो, यो खेलले खेलाडी, समाज वा राष्ट्रलाई पार्न सक्ने सकारात्मक प्रभाव कस्तो हुन्छ भन्ने कुराको लेखाजोखा गर्ने काम पनि मिडियाको हो । हामीकहाँ पनि खेलको लोकप्रियतासँगै दर्शकको मनोभावनालाई गाँस्ने काम पनि मिडियाले नै गरेको छ । खेलाडीहरुको हक हित र उनीहरुको बारेमा आवाज उठाउने काममा दर्शकलाई आगृत गर्ने काममा पनि नेपाली मिडिया अगाडि छ । खेलको विकास र मिडियाको भूमिका एउटा सिक्काका दुई पाटाजस्तै हुन् – एकअर्काका परिपूरक । एउटाको अस्तित्व बिना अर्काेको अस्तित्व कल्पना पनि गर्न सकिन्न ।
संचार क्षेत्रको ब्यबस्थापकको रुपमा नेपाली खेल क्षेत्रको अहिले सिनारियो कस्तो देख्नु हुन्छ ?
– म आफैं खेलप्रेमी व्यक्ति हुँ । खेल भन्ने बित्तिकै म हुरुक्कै हुन्छु । केहि खेलहरु छन जुन मुलुकभित्र वा बाहिर जहाँ खेलिंदा पनि मेरो पहिलो रोजाई बन्छ । खेलप्रेमी भएकै नाताले होला आजका दिनमा देशकै ठूलो मिडियाको व्यवस्थापकीय नेतृत्व सम्हालिराख्दा मेरो मनमा खेल्ने कुरा भनेकै मिडियाले बास्तबमै खेल क्षेत्रको विकासमा के कस्ता योगदान गर्न सक्छन भन्ने नै हुन्छ । कहिलेकाहीं म आजका दिनसम्म मिडियाले खेल क्षेत्रको विकासमा पर्याप्त न्याय गर्न सकेनौं कि भन्ने ठम्याईमा पुग्छु । वा हाम्रो भूमिका खेल क्षेत्र प्रति सदैव सकारात्मक रहँदा रहँदै पनि त्यसप्रति न्योचित ढंगबाट प्रस्तुत हुन सकेनौं कि भन्ने भान मलाई पर्छ । खासमा भन्ने हो भने अहिलेसम्म हामीले खेलको विकासमा निर्वाह गरेको भूमिका औसत नै हो । आम सञ्चार माध्यमबाट प्रतियोगिताका सूचनाहरु त् हामीले दर्शक श्रोतालाई पस्किरहेका छौं । तर, समग्र खेल क्षेत्रमा कहाँ के भईरहेको छ ? यो गति र मतिले हामी कहाँ पुग्छौं भन्ने विश्लेषण हामीकहाँ नगण्य छ । त्यसैले खेल क्षेत्रलाई बृहत तुल्याउने काममा मिडियाको जति शक्ति र सामथ्र्य खर्चिनु पथ्र्यो त्यति नभएको हो कि भन्ने मलाई पनि लाग्छ । हामीले खासमा मिडियामार्फत् धेरै परिश्रम र लगानी नै गरेका छैनौं खेलको विकासमा । बाल्यकालमा पनि म अन्तराष्ट्रिय खेलहरु हेर्थे, ति खेलहरुको ग्ल्यामराईजेशनका साथै खेलाडीलाई हिरो बनाएको देखि खेलको महत्व बुझाएको, स्पोन्सरहरुको भ्यालु क्रिएट गरेको जस्ता बिषय जहाँ मिडियाको भूमिका प्रबल हुनुपथ्र्यो त्यहाँ हामी चुकिरहेका छौं । अहिले समय केही फेरिएको त छ तर जति मिडियाले काम सुरु गर्नुपथ्र्यो त्यो अत्यन्तै प्रारम्भिक चरणमा छ भन्दा फरक पर्दैन । खेल क्षेत्रलाई एउटा उद्योगको रुपमा विकसित गराउने क’रामा मिडियाको ध्यान नगएकाले नै होला अहिले पनि मुलुकको कुल बजेटको १ प्रतिशत भन्दा कम बजेट खेल क्षेत्रले पाउँछ । हामीले जसरी अहिले क्रिकेटलाई महत्व दिएका छौं वा पछिल्लो समयमा भलिबललाई महत्वमा राखेका छौं यसलाई हामीले ग्रास रुटसम्म फैलाउन सके नयाँ खेलाडी खोज्नेदेखि लिएर सुपर लिग इभेन्ट गर्ने तथा मल्टिपल इभेन्टहरु गर्ने गराउने कार्यमा पनि सफलता हात लाग्न समय लाग्दैन । अनि बल्ल नेपाललाई हिमालयको देश भनेर पर्यटकीय दृष्टिकोणबाट मात्र चिनाईराख्न पर्दैन । नेपाललाई स्पोर्टस टुरिजम हबको रुपमा पनि चिनाउन सक्दछौं । यसमा काम गर्न त परको कुरो हामी प्रवेश गर्न नै बाँकी छ ।
नेपाली संचारमाध्यममा खेल समाचार अझैपनि प्रमुख प्राथमिकतामा परिसकेको छैन, (इभेन्टका आधारमा मात्र प्राथमकितामा राखिन्छ ) खेल क्षेत्र दर्शकको आकर्षण मुल्याङकन गर्न संचारमाध्यम अझै असपफल भइरहेका हुन ?
– अन्त्यन्तै महत्वपूर्ण प्रश्न हो यो । पलेशा गोवद्र्धनले जसरी पारा ओलम्पिकमा कास्य जित्नुभयो । त्यो नेपालको मूलधारमा महत्वको समाचार बन्यो । अहिले एनपिएलले पनि राम्रै स्पेश पाइरहेको छ । परम्परागत भाषामा भन्दा फ्रन्ट पेज स्पेश पाईरहेको छ । सञ्चार माध्यमले पनि खेल र नतिजाको वजनलाई आधार बनाएर टाइम अनि स्पेश दिइरहेका छन् । हामीकहाँ अहिले पनि खेलकुद समाचार अन्तिम पेज वा समाचारको अन्तिममा मात्रै दिने वा छाप्ने गरिन्छ भन्ने बुझाइ छ । जब कि अहिले सञ्चार माध्यमले खेलकुदलाई गुण र दोष वा सफलता र असफलताको दृष्टिले मात्रै नहेरेर समानताको नजरबाट हेर्ने गर्छ । नेपाली खेलकुदमा मन्त्रालय, राखेप वा कुनै पनि खेल संघले यति ठूलो भ्यालु क्रिएट गर्न सकिरहेका थिएनन् । जसले गर्दा मेनस्ट्रिम मिडियाको फ्रन्ट पेज अथवा विग न्यूज बन्न पाएको थिएन । तर अहिले समग्रमा भन्दा खेलाडीले खेल खेलिरहेका छन देश भित्र र देश बाहिर चिनाउनका लागि रहेका छन । मेनस्ट्रिमिङ् भईरहेको छ । यो यहाँ मात्रै रोकिने अवस्थामा छैन । मैले माथि पनि भनिसकें हामीले हाम्रो फाउण्डेसन अझै पनि दरो बनाएको छैनौं । अझै पनि धेरै काम गर्न बाँकी छ । र यो देशलाई भोलीको दिनमा स्पोर्टस टुरिजम हबको रुपमा चिनाउन सक्ने वातावरणमा छिर्न हामीले के गर्नुपर्छ भन्ने मोडालिटीमा जान बाँकी नै छ । अहिले हामी पछाडी फर्केर हेर्यौं भने हामीसँग राम्रो खेल मैदान छैन, खेलाडीका न्यूनतम आवश्यकता पुरा गर्न सकिदैन, सामान्य खेलमा सहभागि भएर फर्कने अवस्था मात्रै छ, विभिन्न खेलका विश्व च्याम्पियनसिपमा न्यून सहभागिता छ । अनि हामीले कम पदक जित्ने हुँदा त्यस्तो समाचारलाई प्रमुख समाचार बनाउन पनि गाह्रो हुने अवस्था छ । तर, बिर्सन नहुने कुरा के पनि हो भने खेल जितेर फर्किंदा खेलअधिकारीहरु विमानस्थलमा पुगे पनि खेल हारेर फर्किंदा खेलाडीलाई ढाडस दिन सदैव पुग्ने चाहिं खेलपत्रकार र सञ्चार माध्यम नै हुन् ।
अहिले अवस्था फेरिदो पनि छ , विगतको तुलनामा खेल क्षेत्रले पाएको महत्व हेर्दा साच्चिकै यसको अधवराधण फराकिलो हुदै गएको हो ?
– समय क्रमसँगै सबै क्षेत्रमा परिवर्तन त आइरहेकै छ । कुनै समय थियो हामीले खेलाडी भनेर चिन्ने भनेकै बैकुण्ठ मानन्धर, जितबहादुर केसी, संगिना बैद्य, दीपक बिष्ट, सविता राजभण्डारीहरु थिए । यि खेलाडीहरुले नेपाललाई विभिन्न किसिमले अन्तराष्ट्रिय क्षेत्रमा चिनाएका होईनन र ? हो नि । तर अहिले नयाँ नामहरु प्नि थपिंदै गएका छन् । तर, उनीहरुमध्ये कतिले खेलमै भविष्य देखेका छन् त ? यसको जवाफ नखोेज्ने हो भने हामी उल्टो गतिमा दौडिरहेका हुन्छौं । क्रिकेट होस वा फुटबल यसलाई हामीले क्यापिट्लाईज गर्न सकेनौं । त्यहाँ भएका राम्रा खेलाडीहरुलाई न हामीले रिटेन गर्न सक्यौं । खेललाई नै बचाउन सकेनौं । त्यसैले अहिले भने परिस्थिती फेरिएको छ । तर अहिले खेलाडीहरुमै बितृष्णा बढिरहेको छ । खेललाई ठूलो क्षेत्र बनाउन खोजिरहेका छौं । तेक्वान्दो, भलिबलहरुको फ्यान फलोअर्स बढिरहेको छ । तर खेलाडीहरुलाई बचाउन र विश्वास दिलाएर खेलमा समर्पित गराउन सक्नु र उसको समग्र भविष्यको जिम्मा लिन सक्ने अवस्था चुनौतिको रुपमा देखिएको छ । देशलाई चिनाउने विश्वास दिलाउनुपर्ने छ । अवस्था परिवर्तन भएको छ तर हामीले गर्नुपर्ने काम धेरै छ । खेलाडीहरुलाई स्थिर बनाएर स्थायी बनाउने तर्फ लाग्नुपर्छ । अहिले सम्माननीय प्रधानमन्त्रीले स्टेडियम बनाउने देखि खेल क्षेत्रको सुधारका लागि महत्वकांक्षा देखाउनुभएको छ । यसले गर्दा राज्यले पनि अपनत्व लिएको अवस्था छ । अवस्था सबैतर्फबाट फेरिएको संकेत देखिएको छ तर काम गर्न सहज छैन तर नगरि नहुने छ ।
संचारमाध्यमहरु बीच पछिल्लो समय प्रतियोगिताको प्रत्यक्ष प्रशारणका लागि प्रतिस्पर्धा देखिन्छ , अन्त्राष्ट्रिय संचारमाध्यमहरुले प्रयोग गरिरहेको शैली नेपालमा पनि सुरु भएको हो ?
– पछिल्लो समयमा मिडियामा अझ खास गरी टेलिभिजनहरुमा हामी राजनीतिक पृष्ठभूमिका समाचारहरुमा बढि महत्व दिइरहेका छौं । अझ भनौ राजनीतिक समाचारका कन्टेन्टले महत्व पाउने गरेको छ । मनोरजञ्जनमा पनि फ्रेन्चाईज मनोरञ्जनका कार्यक्रमहरुमा हामी बढि लागिरहेका हुन्थ्यौं । पछिल्लो समय दर्शकहरुको रुचि सिफ्ट भएको छ । र मेनस्ट्रिम मिडियाले र टेलिभिजनले पनि फोकस गरेको स्पोर्टस इभेन्टलाई नै देखिन्छ । पछिल्लो समय खेल प्रतियोगिताहरु टिभीमा बढी देखिन थाल्नुबम पछाडि दर्शक आकर्षित गर्न नै हो भने र्ओ चाहिं प्रायोजकलाई आकर्षित गर्न पनि हो । खेल प्रतियोगिताहरु देखाउन अहिले टेलिभिजन च्यानलहरुमा प्रतिष्पर्धा नै देखिएको छ । किनकी हामीले पहिले गुमाएक दर्शकलाई आफ्नै च्यानलमा रिटेन गर्नका लागि पनि ठूलो प्रतिष्पर्धामा होमिन जरुरी छ । अहिले मिडियाले धेरै कभरेज किन गरेका छन भने स्पोर्ट बढाउने, यसको भ्यालु बढाउने र स्पोर्टसको स्थापित गर्नका लागि भन्दा पनि टेलिभिजनको भिउरसिपलाई रिटेन गर्न, मिडियाकै ब्राण्ड भ्यालु क्रिएट गर्नका लागि पनि अहिले व्यापक प्रतिष्पर्धा छ भन्दा फरक पर्दैन । खेल क्षेत्रमा लगानी गर्दा जोखिम कति छ ? लगानी उठ्छ ? नाफा छ ? या दर्शक तानिराख्न घाटानै भएपनि गरिरहरनु भएको छ ? – खेल क्षेत्रमा लगानी गर्दा हामीले के हेरिराखेका छौं भने कुन खेलमा अहिले लगानी भईरहेको छ । स्पोन्सरहरुको अहिले व्यक्तिगत लगानी कुन खेलमा कति छ भन्ने पनि बुझ्न पर्छ । जस्तै क्रिकेट, भलिबल वा बास्केटबलमा धेरै आकर्षित हुन्छन् । सबै खेलमा नाफाको मात्रै दृष्टिकोण छैन र राख्नु पनि हुँदैन । यस्तो अवस्थामा घाटामा पनि काम गरिराखेका छौं । मैले माथि पनि भने कि अहिले ब्रोडकास्टर्सले न्यू मिडियाहरुमा सिफ्ट भईराखेका दर्शक तान्न पनि खेलकुदका कार्यक्रमहरु प्रसारण गर्छन् । त्यसैले पनि स्पोर्टस एउटा यस्तो डायनामिक सेक्टर हो जसमा मेनस्ट्रिम बोर्डकास्टर्सले वा हामी मिडियाले दर्शक होल्ड गर्नका लागि पनि स्पोर्टमा लगानी गर्नुपर्ने बेला भएको छ । त्यसैले यसलाई नाफा र घाटा भन्दा पनि अहिले मिडियाले लगानीको रुपमा आफ्ना कोर्षहरुलाई अगाडी बढाएको छ । जसमा प्रत्यक्ष प्रसारण गर्ने, इभेन्टलाई महत्व दिने, खेलाडीहरुको भ्यालु क्रिएट गर्ने देखि प्रोफाइल बनाउने सम्मको काममा जहाँ हामी दर्शक भेटाउन सक्छौं । त्यताबाट सोच्यौं भने हामी नाफा र घाटा भन्दा पनि ब्राण्ड भ्यालु रिटेन गर्न हामी कसरत गरिरहेका छौं ।
तपाइले सुरुवाती चरणमा खेलका ठुला इभेन्टमा हात हाल्दा जोखिम कस्तो थियो ? किन यो जोखिम लिनु भयो ?
– म कान्तिपुर टेलिभिजनको सिईओ भएर आउदा टेलिभिजनमा हाम्रा दर्शकहरुलाई होल्ड गर्ने समाचारको ठूलो क्षमता बाहेक हामीसँग साँगितीक र कमेडिका केहि कार्यक्रमहरु मात्रै थिए । टेलिभिजन उद्योगमा लिमिटेड कन्टेन्ट मात्रै भएर डिजिटल मिडिया वा न्यू मिडियामा दर्शकहरु तनिंदै जाँदा हाम्रो मेनस्ट्रिम मिडियामा के कस्ता इलिमेन्टसहरु थप्न सक्छौं भन्ने कुरामा हाम्रो विशेष जोड थियो । हाम्रो उदेश्य नाफा र घाटामा भन्दा बढि दर्शकलाई के नयाँ पस्किने भन्ने थियो । मैले स्पोर्टमा बढि ध्यान दिए । हाम्रो टेलिभिजनको क्षमता नै समाचार हो । यसको परिभाषालाई फराकिलो बनाउने सोच आएको छ । फराकीलो सोचबाट हेर्दा प्रत्यक्ष प्रसारण देखि म्याच एनालिसिस सम्म गर्न सक्छौं । र हामीले फरक डिमोग्राफि को पपुलेसन्सलाई क्याच गर्न सक्छौं भन्ने उदेश्यबाट खेलकुदमा हाम फालेका हौं । यसको जोखिम भन्दा पनि फाईदा के रह्यो भने रिटेन्सन अफ न्यू भिवरसिप । साथै सिरज अफ इभेन्टस पनि हामीले अनबोर्ड गरेका छौं । कन्टेन्ट अन्बोर्ड भएपछि भ्यालु एडिसन भयो । त्यसपछि मात्रै यसको फाईदा र घाटाको विश्लेषण हुन सक्दछ । अहिले नितान्त भाईटल रिच गर्न खोजिराखेका छौं ।दर्शकले खोजेका कन्टेन्टमा हामी बढि फोकस हुन खोजेका छौं ।
नेपालमा अहिले खेल क्षेत्रमा भइरहेकोसंरचनागत विकासलाइ तपाइले कसरी हेर्नु भएको छ ? ब्याबसायिक बनाउन कसको भूमिका के ?
– मेरो आफ्नै तितो अनुभव छ । हामीले नेपालमा राष्ट्रिय भलिबल च्याम्पिएनसिपको प्रत्यक्ष प्रसारण गर्नका लागि राखेपको कबर्ड हलभित्र भएको संरचनामा क्यामेरा राख्नुपर्ने थियो । त्यो खेललाई अन्तराष्ट्रिय स्तरको प्रत्यक्ष प्रसारण गर्न कम्तिमा ८ वटा क्यामेरा राख्नुपर्ने हुन्थ्यो । खेलाडी र खेल मैदान कस्तो थियो भन्नेमा म गईन । तर त्यहाँको संरचनाका कारण हामीले ४ वटा भन्दा क्यामेरा राख्नै सकेनौं । हामी जहिले पनि कोठे खेलहरुमा मात्रै सीमित भयौं । कभर्ड हलभित्र भित्र खेलाउने खेललाई अन्तराष्ट्रिय स्तरसम्म लैजान कसरी सकिन्छ भन्ने सोच नै हामीकहाँ विकसित भएको छैन । जे भएपनि संरचनाको विकाश गर्ने दायित्व राज्यकै हो । खेलाडीले खेल्नका लागि खोजेका न्यूनतम आवश्यकताको र मागको पनि पूर्ति हुन सकिरहेको छैन । सामान्य हेरौ न खेलाडीलाई हामीले कस्तो जुत्ता दिन सक्छौं । त्यस्तो जुत्ता कति समयमा फेर्न सक्छौं । खेलाडीलाई खेल मैदानसम्म पुग्न यातायात खर्च पुग्छ पुग्दैन । उसले डाइट खान पुग्ने गरी रकम पाउँछ कि पाउँदैन ? खेलमै लागिरहनका लागि उसलाई के ले प्रेरित गर्ने ? यि फाउण्डेसनको कुरा हुन । खेलका लागि चाहिने फाउण्डेसन र खेलाडीको लाईफस्टाइल बीच तादत्म्य भएन भने खेल अघि बढ्न सक्दैन । त्यसमा खेलाडीकलाई कसरी प्रोत्साहन गर्न सक्छौं ? कस्तो खलाडी लिन सक्छौं ? मानसिक विकास कसरी गर्न सक्छौं ? फाउण्डेसन सुरु हुने यहाँबाट हो । त्यसपछि बल्ल खेलाडीले कहाँ खेल्ने ? अभ्यास कहाँ गर्ने जस्ता संरचनागत कुरा आउँछ । भौतिक पूर्वाधारसँगै खेल अनुत्पादक क्षेत्र हैन भनेर बुझाउन सकिएको छैन त्यसैले समस्या अत्यन्तै डरलाग्दो देखिन्छ खेल क्षेत्रमा । क्रिकेट, भलिबल र मार्शल आर्ट्स जगतले खेल क्षेत्रकै लागि नेपालमा ठूलो माहौल निर्माण गरेको छ । तर राज्यका खेल क्षेत्र हेर्ने महत्वपूर्ण विभाग तथा संरचनाहरुले सहि तरिकाले काम गर्न सकेको भए धेरै सुध्रिसकेको हुन्थ्यो । यसरी खेल क्षेत्रको समग्र जग बसाउन एकपटक सबै तालुकदार निकाय गम्भिर हुनुपर्छ । अन्तराष्ट्रिय भ्रमण मनोरञ्जन र व्यक्तिगत विकासका लागि होईन सिक्नका लागि हो । खेल क्षेत्रको सरचनागत विकाश बिना आँफैमा खेलको विकाश हुन सक्दैन र यो सम्भव पनि छैन ।
साभार: प्रक्षेपण राष्ट्रिय दैनिक