हेटौँडा । दक्षिण एसियाको पहिलो सुरुङमार्ग ‘चुरियामाई सुरुङमार्ग’ हेटौँडा उपमहानगरलाई हस्तान्तरण गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले हेटौँडा उपमहानगरका प्रमुख मिना लामालाई उक्त सुरुङमार्ग स्वामित्व हस्तान्तरण गरे ।
हेटौँडा–१५मा अवस्थित चुरियामाई मन्दिर नजिकै रहेको उक्त सुरुङमार्गको जीर्णोद्धारपछि स्थानीय तहलाई हस्तान्तरण गरिएको मन्त्री अमनकुमार मास्केले जानकारी दिए । सुरुङमार्ग हस्तान्तरण भएसँगै सर्वसाधारणको अवलोकनका लागि खुला गरिने उपमहानगर प्रमुख लामाले जानकारी दिए ।
बागमती प्रदेश सरकारले रु तीन करोड ६५ लाखको लागतमा सुरुङमार्गको जीर्णोद्धार गरेको हो । कूल दुई सय २५ मिटर लम्बाईको सुरुङको चौडाइ दुई दशमलव पाँच मिटर र उचाइ तीन मिटर रहेको छ ।
विसं २०७८ वैशाखमा सुरुङमार्ग मर्मत सुरु भएकामा २०८० को असोजमा सम्पन्न भएको थियो । जीर्णोद्धार भएको लामो समयसम्म पनि स्थानीय तहलाई हस्तान्तरण नहुँदा अवलोकनका लागि सर्वसाधारणका लागि खुला गरिएको थिएन ।
सुरुङ सञ्चालनका लागि उपमहानगरपालिकाले कार्यविधि बनाइसकेको छ । कार्यविधिमा सुरुङ अवलोकनका लागि नेपाली नागरिकलाई प्रतिव्यक्ति रु ५०, विदेशीलाई प्रतिव्यक्ति रु १२०, पाँच वर्षमुनिका बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई निःशुल्क, विद्यार्थीलाई रु २० प्रवेश शुल्क लिने व्यवस्था गरिएको हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले जानकारी दिए ।
पर्यटन प्रवर्द्धनमा सहयोग पुग्छः मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले सुरुङमार्गमार्फत स्थानीय स्तरको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे । 'सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गरिएसँगै यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नुका साथै स्थानीय तहको आम्दानी पनि बढ्ने छ,' उनले भने ।
भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले सुरुङमार्गमार्फत यहाँको धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।
मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको चुरे पहाडलाई खोपेर विसं १९७४ मा पाँच सय मिटर लामो सुरुङ निर्माण गरिएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर जवराले यो सुरुङमार्ग निर्माणका लागि देशकै पहिलो इञ्जिनियर डिल्लीजङ्ग थापालाई जिम्मेवारी दिएका थिए ।
त्यस समयमा सुरुङमार्ग निर्माणको उद्देश्य व्यापारिक दृष्टिकोणले महत्वपूर्ण रहेको भारतको रक्सौल र नेपालको सुक्खा बन्दरगाहाका रुपमा विकास गर्न सकिने भीमफेदीबीचको दूरी घटाइ सहज पहुँच निर्माण गर्नु थियो । इन्जिनियर थापाको योजना र अगुवाइमा चुरियामाई सुरुङ मार्गसँगै चारखाल अड्डा, घण्टाघर, चन्द्र नहरलगायत महत्वपूर्ण पूर्वाधारहरू निर्माण भएका थिए ।
चुरे पर्वत कटान गरी सडक निर्माण गर्नुपूर्व विसं २०१८/२०१९ सम्म चुरियामाई सुरुङ मार्ग भएर नै जिप, लहरीलगायत साना सवारी आवतजावत गर्दै आएका थिए ।
काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पहाडमा निर्माण गरिएको सुरुङमार्ग दक्षिण एसियाकै पहिलो भएको स्वीस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दि हिमालयन किङ्डम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख छ ।
त्रिभुवन राजपथ निर्माण हुनुपूर्व रक्सौलबाट पथलैया, चुरे, हेटौँडा हुँदै भीमफेदीसम्म सवारी साधनमा र त्यहाँबाट मानिस पैदल हिँडेर काठमाडौँसम्म तथा सवारी साधनहरू काठमाडौँ प्रवेश गर्ने सडक निर्माण नभइसकेकाले मानिसलाई भरिया लगाएर पुर्याइन्थ्यो । चुरियामाई सुरुङमार्ग सिमेन्टको प्रयोग नगरी तत्कालीन परम्परागत प्रविधिसँगै चुना र सुर्कीको प्रयोग गरी निर्माण भएको हो ।