गुल्मी । जिल्ला कारागार कार्यालय गुल्मीले स्वास्थ्यकर्मी पाएको छ ।
कारागारमा सिनियर अहेवको दरबन्दी भए पनि २०७७ जेठदेखि स्वास्थ्यकर्मी प्रकाशचन्द्र घिमिरे स्वास्थ्य मन्त्रालयमा काजमा भएका थिए । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीहरुलाई अस्पताल लैजान र ल्याउनका लागि सुरक्षाकर्मीको भर पर्नु परेको थियो।
मन्त्रालयमा कडाइका साथ पत्राचार गरेर काजमा रहेका स्वास्थ्यकर्मी फिर्ता आई साउन १६ गतेदेखि नियमित काममा भइरहेको छ ।
पछिल्लो समयमा कारागारमा खानेपानी र भवन लगायतको समस्यालाई मर्मत गरेर सुधार गरिएको छ ।
२५ जनाको क्षमता १०२ कैदी बन्दी
विसं २०२४ सालमा स्थापना भएको (ङ) वर्गको कारागारमा २० पुरुष र पाँच महिलाको क्षमता रहे पनि यहाँ अहिले १०२ जना कैदी बन्दी रहेको निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीले जानकारी दिए।
कारागारमा पर्याप्त खेलमैदान, उचित वासस्थान र उद्यमी गर्नेहरूका लागि उचित व्यवस्था नहुँदा समस्या भएको पन्थीको भनाइ छ । भवन जीर्ण हुनु, प्राविधिक कर्मचारीलाई आवासको समस्या र उचित जग्गा नहुँदा कैदी बन्दीहरूलाई ताजा तरकारी उत्पादन गर्ने गरी व्यवस्था गर्न सकेमा उत्तम हुने कार्यालयले जनाएको छ ।
जिल्ला कारागार गुल्मीमा १० जना कर्मचारीहरूको दरबन्दी रहेको कार्यालयले जनाएको छ । जसमा अधिकृत १, सी अहेव १, नायव सुब्बा १, खरिदार १, सहायक लेखापाल १, सहायक कम्प्युटर अपरेटर १ र कार्यालय सहयोगी ४ जना गरी १० जनाको दरबन्दी रहेको छ ।