काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)को अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा आयोजित साधारणसभाले केसीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसको निवर्तमान अध्यक्ष समीर थापा, वरिष्ठ उपाध्यक्षमा मिथिलेशकुमार झा, उपाध्यक्षमा विज्ञान श्रेष्ठ, महासचिवमा रेष्टा झा, सचिवमा रितल राणा र कोषाध्यक्षमा शैलजा अधिकारी निर्वाचित भएका छन् ।
यसैगरी साधारणसभाले तेज ढकाल, योगेश उप्रेती, प्रभिना थापा र रवि फुयाँललाई सदस्य चयन गरेको छ । समितिको सल्लाहकारमा पूर्व अध्यक्ष पंकज जलान र समीर थापालाई चयन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष केसीले आगामी दिनमा संस्थालाई थप व्यवस्थित र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गरे । अघिल्लो कार्यकालका अध्यक्ष समीर थापा नेतृत्वको मेहनतबाट संस्थाले प्रगति हासिल गरेको बताउँदै केसीले आफ्नो कार्यकालमा संस्थालाई थप मजबुत बनाउने प्रतिबद्धता जनाए ।
आइप्यान अन्तर्गत हालसम्म ८६ वटा कलेज सञ्चालित छन् । ती कलेजमा वार्षिक करिब २८ हजार विद्यार्थीले अध्यय गर्दै आएका छन् ।
साधारणसभाको उद्घाटन शत्रमा आइप्यानका अध्यक्ष समीर थापाले सांगठनिक र कोषाध्यक्ष रितल राणाले आर्थिक प्रतिवेदन पेस गरेका थिए । साधारणसभामा बोल्दै संस्थापक अध्यक्ष एवं सल्लाहकार पंकज जलानले देशको शैक्षिक उन्नयनको लागि संस्थाको गतिविधिलाई थप व्यवस्थित बनाउनुपर्ने बताए ।
त्यसैगरी इजोनका अध्यक्ष रविचन्द्र पराजुलीले आइप्यानभित्र देखिएको विकृति र विसङ्गतिलाई हटाउनुपर्ने बताउँदै भर्ना प्रक्रियादेखि पढाइको अवस्थासम्मलाई पारदर्शीरुपमा अघि बढाउँदा संस्थामा थप लोकप्रियता बढ्ने बताए ।