काठमाडौं । पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका साबिक अमरपुर गाविसको मध्यम वर्गीय परिवारमा जन्मिएका हुन् अनिल त्रिखत्री । संयुक्त परिवारमा हुर्किएका उनको बाल्यकाल सामान्य रुपमा बितेको थियो । परिवारमा ७ जना दाजुभाइ र दिदीबहिनी थिए । उनीहरूले जीविका चलाउन कृषिमा भर पर्नुपर्ने अवस्था थियो ।
अनिलका बुवाले भन्ने गर्थे 'म अशिक्षित भएपनि आफ्ना बालबच्चाहरूले शिक्षाको मार्गमा लागेर सक्षम हुन र मैले जस्तो अशिक्षित भएर दुख भोग्नु नपरोस् ।' त्यही बुबाको हौसला उनका लागि प्रेरणाको स्रोत बन्न पुग्यो । अनिल सानो उमेरदेखि नै पढाइमा धेरै लगाव राख्थे ।
पठनपाठनमा अत्यन्तै व्यस्त भएकाले घरपरिवारको काम गर्न उनी भ्याउँदैन थेँ । परिवारबाट उनलाई घरको काममा समेत लगाइँदैन थियो । विद्यालय छुट्टी भएको बेलामा भने गोठालो गर्ने चलन थियो गाउँमा । उनी पनि गोठालो गर्न किताब हातमै बोकेर हिँड्थे । उनी भन्छन्, 'अरू साथी गुच्चा खेल्थे, म किताब पढ्थे । बाबुआमाको साथ मेरो पढाइलाई दिनुभएको थियो ।'
उनी विद्यालयमा पहिलो विद्यार्थी हुन् । १० कक्षासम्म विद्यालयको हरेक परीक्षामा उनी नै प्रथम हुन्थे । उनी विद्यालयको अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै दखल राख्थे । उनले ०६३ सालमा श्री सिंहपुर पशुपति माविबाट एसएलसी उत्तीर्ण गरेका थिए ।
उनले एसएलसी उत्तीर्ण गर्दा गाउँमा सबैभन्दा बढी अंक ल्याएका थिए । गाउँदेखि सदरमुकामसम्म नै उनको चर्चा हुने गर्थ्यो । अनिलको प्रगतिको खबरले बुबाआमाको अनुहारमा पनि खुसी आयो । अहिलेसम्म पनि उनले जति अंक कसैले पनि ल्याउन सकेका छैनन् ।
जागिरसँगै पढाई
०६६ सालमा उनी उच्च शिक्षा हासिल गर्न पाँचथरस्थित कन्चनजंगा उच्च माविमा भर्ना भए । त्यहाँ अध्ययन गर्ने क्रममा अनिलले धेरै अतिरिक्त गतिविधिहरूमा समेत भाग लिन्थे । कन्चनजंगा उच्च माविले आयोजना गरेका कविता प्रतियोगितामा उनी प्रथम भएका थिए ।
उच्च माविको अध्ययन गर्दा उनले पाँचथरको सामुदायिक रेडियो सुमात्लुङ एफएमबाट दलित समुदायसँग सम्बन्धित 'परिवर्तनको स्वर'हरू नामको कार्यक्रम तीन वर्ष चलाए ।
त्यो बेला उनले दलित समुदाय सम्बन्धी बनाएका ऐनहरूको लागु भएको अवस्था के छ ? समुदायमा भेदभावको स्थिति घटेको छ कि छैन ? प्रहरीले मुद्दा दर्ता गर्नमा कत्तिको सहजीकरण गरिरहेको छ ? वा बलियो ढङ्गले कार्यान्वयन गरेको छ कि छैन भन्ने बारेमा रेकर्ड लिएर गाउँ गाउँ चाहर्थे र रेडियोको कार्यक्रम मार्फत प्रसारण गर्थे । उनी भन्छन्, 'गाउँ–गाउँमा मेरो कार्यक्रमको हल्ला सुन्दा धेरै नै गर्व महसुस गर्छु ।'
रेडियोमा आबद्ध भएको बेलामा उनले पाँचथरमा भएको मानवअधिकार चेतना र विकास केन्द्र हुकुडेकमा सुपरभाइजरको रूपमा पनि काम गरे । त्यस संस्थामा गाउँ गाउँमा गरिबी निवारणदेखि सामाजिक परिचालनका कार्यक्रमहरू सञ्चालन गर्थे । उनले रेडियो र हुकुडेक संस्थामा साढे दुई वर्ष जति काम गरे ।
स्नातक अध्ययनका लागि बहुमुखी क्याम्पसमा भर्ना भए । त्यही दोस्रो वर्षको अध्ययन गर्ने क्रममा ०६९ सालमा उनले खरिदारमा नाम निकालेका थिए । खरिदारमा नाम निस्केपछि उनी अम्मरपुर इलाका हुलाक कार्यालयमा पोस्टिङ भए । जागिरले दिएको व्यस्तताको कारण कलेजलाई पनि समय दिन पाएनन् । उनले स्वः अध्ययन गरेर मानविकी संकायको स्नातक अध्ययन पुरा गरे ।
निजामती सेवाको तयारी
कक्षा ११ मा अध्ययन गर्ने क्रममा उनको अंकल भवानी शङ्करले निजामती सेवाका बारेमा जानकारी गराएका थिए । उनलाई सरकारी कार्यालयहरूले कसरी काम गर्छ र यस क्षेत्रबाट जनतालाई प्रभावकारी सेवा कसरी प्रदान गर्ने जस्ता कुराहरूको बारेमा पनि काकाले बताउँथेँ ।
दलित वर्ग उत्थान जिल्ला समिति नामको संस्थाले पाँच दिनको तालिमको अवसर दिने क्रममा उनी पनि सहभागी भएका थिए । उनले खरिदार देखि नायब सुब्बासम्म आफ्नै तयारीमा परीक्षा दिएर नाम निकालेका थिए । डिप्लोमा सकाएपछि उनले अफिसरमा नाम निकाल्नुपर्छ भनेर पढाइलाई केही समयको लागि स्थगित गरेर अफिसरमा नाम निकाल्ने तयारीमा लागे ।
विद्यालयमा हुँदा बाल क्लबको सचिव भएर धेरै अतिरिक्त क्रियाकलापमा सहभागी भएको अनुभवले पनि उनलाई लोकसेवाको तयारी गर्नमा धेरै मद्दत भएको उनी बताउँछन् । साथसाथै रेडियो र संस्थामा काम गरेको अनुभवले पनि उनलाई लोकसेवाको तयारीमा सहज भएको थियो । उनी भन्छन् 'लोकसेवा पास गर्नलाई फलामको चिउरा चपाको जस्तो गाह्रो हुँदैन । तयारीको लागि समय छुट्टाएर मेहनत गर्यो भने जसले पनि पास गर्न सक्छ ।'
पहिलो प्रयासमा उनले अफिसरमा नाम निकाल्न नसके पनि ०७२ सालमा उनले लेखापाल (नायब सुब्बा) पदमा नाम निकाल्न सफल भए ।
उदयपुर जिल्ला प्रशासनमा उनको पोस्टिङ भएको थियो । तर त्यहाँ लेखापालको दरबन्दी कटौती हुँदा उनी फाजिलमा रहेर एक वर्ष कार्यरत रहे ।
त्यहाँबाट उनी इलामको कोलेनिका सरुवा भए । इलाममा सरुवा भएको एक वर्षपछि २०७४ सालमा अनिलले शाखा अधिकृतमा नाम निकाले । तालिमको प्रक्रिया सकेपछि उनको सरुवा इलामको देउमाई नगरपालिकामा भयो । उनले त्यहाँ ६ महिना काम गरे ।
०७५ सालको मंसिरमा उनको सरुवा फाल्गुनन्द गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा भयो । उनीले त्यहाँ झण्डै दुई महिना काम गरे ।
उनले त्यहाँ पालिकाको प्रशासकीय भवनको लागि जग्गा ल्याउन, जनता कार्यक्रम अन्तर्गत बिस वटा दलित समुदायको लागि घरहरू निर्माण गर्ने, प्रदेश सरकारको समन्वयमा खेल मैदान र विद्यालय, स्वास्थ्य चौकीको निर्माण गर्नेजस्ता कार्यमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँछन् ।
०७७ सालमा उनको सरुवा मिक्लाजुङ गाउँपालिकाको रबी पाँचथरमा भयो । त्यहाँ गएको केही हप्तामा नै उनी कोभिड रोगको सिकार भए । करिब छ महिनापछि अलिकति स्वास्थ्यमा सुधार हुँदै नियमित अनुगमन उपचार लिँदै उनी आफ्नो दैनिक कार्य सम्पादन गर्न फर्किए । त्यहाँको वातावरण पनि निकै चिसो भएकाले उनलाई काम गर्न अप्ठ्यारो भयो ।
उनले त्यहाँका जनप्रतिनिधिहरूलाई सरुवाबारे कुरा राखेपछि जनप्रतिनिधिकै सहयोगमा उनको सरुवा भयो । जसका निम्ति उनी त्यहाँका जनप्रतिनिधिप्रति अहिले पनि उत्तिकै कृतज्ञ छन् । हाल पाँचथर जिल्ला समन्वय समितिमा शाखा अधिकृतको रुपमा उनी कार्यरत छन् ।
०७२ सालमा तिखत्री जिल्ला प्रशासन उदयपुरमा कार्यरत रहँदा त्यहाँका तत्कालीन सिडिओले नै त्यहाँबाट सरुवापत्र बिना नै निस्कनु भन्दै दबाब दिन्थे । तत्कालीन सिडिओले तलब दिन सक्दिनँ र तपाईं चाहीँ सकेसम्म चाँडो यहाँबाट सरुवा हुनु भन्दै उनलाई मनोवैज्ञानिक यातना दिने गर्थे ।
उनी पनि सकेसम्म सरुवा हुन चाहन्थे तर मलेनिकाको आदेशबिना उनीसँग यातना सुन्नु बाहेक अरू कुनै विकल्प थिएन । उनलाई सरुवा गर्नका लागि सिडिओले मलेनिकामा सरुवापत्र पनि बनाइदिइए । उनी भन्छन्, ‘निरन्तर मिहेनत र अध्ययन गर्दा लोक सेवा पास गर्न कठिन हुदैन ।’
दैनिक कार्यालयबाट निस्केर जा वा सरुवाको दबाब, प्रेसर दिने र नकारात्मक दृष्टिकोणले हेर्ने सिडिओबाट छुटकारा पाउनको लागि उनले बिदाको स्वीकृति लिएर काठमाडौं आएर अफिसरको तयारीमा लागेको गुनासो पोखे ।
देउमाई नगरपालिकामा पनि व्यवस्थित ढङ्गले कार्य सम्पादन नभएको तिखत्रीको गुनासो छ । त्यहाँको उपसचिव (प्रमुख प्रशासकीय अधिकृत) नगर प्रमुखको चाकडी गर्ने र जिम्मेवारी नै पुरा नगर्ने भएकाले उनले त्यहाँबाट आफूलाई गर्ने व्यवहार भेदभावमुखी रहेको महसुस गरे ।
कर्मचारीतन्त्र प्रतिको बुझाई
एउटा कर्मचारीले राज्यको सार्वजनिक सेवा प्रवाह गर्ने । विकास निर्माणको कार्यहरू सम्पादन गर्ने । शान्ति सुरक्षाको कामहरूदेखि समग्र काम गर्ने जिम्मेवारी लिएको हुन्छ ।
उनले विभिन्न वर्गका व्यक्तिले निजामती सेवामा प्रवेश गर्दा कतै–कतै भेदभाव र भिन्न दृष्टिकोणले हेरेको महसुस गरे । उदयपुर र देउमाई नगरपालिकामा गरेको व्यवहार चाहिँ विभेदजन्य भएको उनको ठहर छ । तर ती कुराले उनी आफू थप बलियो भएको महसुस गर्छन् ।
कर्मचारीतन्त्र ज्यादै प्रकिृयामुखी भएकोले जनतालाई सेवा प्रदान गर्न समस्या भएको उनको बुझाइ छ ।सरकारी निकायमा सेवा प्रवाह गर्दा डिजिटल प्रविधि भित्रिन आवश्यक रहेको उनको भनाई छ । कर्मचारीहरूले नीतिसँगै नियतमा पनि परिवर्तन ल्याउनुपर्ने उनको अनुभव छ । कर्मचारीले जनताको मनोविज्ञान बुझेर उनीहरूले खोजेको सेवा प्रदान गर्न सक्ने क्षमता राख्नुपर्ने उनको भनाई छ ।
अनिल दलित समुदायप्रति भेदभाव जस्ता कुराहरू अझ पनि देख्छन् । जातीय भेदभाव जस्ता सामाजिक समस्यालाई सुधारका लागि पहिले चेतनालाई परिवर्तन गर्नुपर्ने उनको भनाई छ । सरकारको तर्फबाट पनि संविधानमा उल्लेख गरेका ऐन, नियमहरूलाई थप गरेर कडाइका साथ प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनको बुझाई छ ।
दलित समुदायको हक अधिकार प्रवर्द्धन गर्नका लागि संवैधानिक निकायको रूपमा राष्ट्रिय दलित आयोगको स्थापना भएको छ । तर आयोग आफू कमजोर हुँदा संविधानले सोचेअनुसार प्रभावकारी भूमिका निभाउन नसकेको उनको बुझाइ छ ।
दलित समुदायका लागि मुख्य चुनौती भनेका शिक्षा नै भएको अनिलको बुझाइ छ । शिक्षालाई अगाडि बढाउन मुख्य रुपमा अर्थतन्त्र नै जोडिने भएकाले आर्थिक अवस्थालाई सक्षम बनाउन आवश्यक रहेको उनी बताउँछन् ।