तेह्रथुम जिल्लाको साबिक मोराहाङ हालको मेन्छ्यायेम गाउँपालिकामा जन्मिएका चन्द्रकुवेर खापुङ नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुन् ।
किसान परिवारमा जन्मिएका उनको परिवारलाई कृषि कर्म गरेरै खान पुग्थ्यो । बाउ बाजेको प्रशस्त जग्गाजमिन भएकाले उनले जीवनमा अभावको महसुस गर्नु परेन । तर उनका बुबाआमा छोराछोरी पनि आफूजस्तै किसान बनून् भन्ने चाहँदैन थिए । र, जीवनमा केही गर्नुपर्छ भनेर छोराछोरीलाई सम्झाउँने गर्थे ।
मिश्रित समुदाय भएको वातावरणमा हुर्किएका कुबेरसँग प्रायः सबै प्रभावित थिए । गाउँकै विद्यालयबाट माध्यमिक तहको शिक्षा पुरा गरेका चन्द्रगाउँ छाडेर अन्यत्र पढ्न जान उनलाई पटक्कै मन थिएन । गाउँमा त्यो समयमा पढ्नुपर्छ\पढाउनुपर्छ भन्ने सोच भएका मानिसहरू मुस्किलले भेटिन्थे । यद्यपी उनी त्यो भिडमा पर्दैन थिए या भनौं उनी पढ्न चाहन्थे ।
गाउँका क्षेत्री, बाहुन समुदायका व्यक्ति पढ्ने-लेख्ने र लिम्बू समुदाय चाहीँ लाहुरे (ब्रिटिश आर्मी, इन्डियन आर्मी) हुने चलन जस्तै थियो । लिम्बू समुदायमा पढ्ने निकै कम हुन्थे । खापुङका दुई दाजुभाइ पनि ब्रिटिश आर्मीमा थिए । उनका काकाहरू पनि ब्रिटिश आर्मी नै थिए ।
चन्द्रका बुबा ललितबहादुर खापुङ भने गाउँमा सामाजिक अभियन्ताका रुपमा काम गर्थे । ६ भाइ छोरामध्ये उनको पढाई राम्रो थियो । सानैदेखि खोज तथा अनुसन्धानमा दखल राख्ने व्यक्तिमा उनी गनिन्थे । विद्यालयमा पनि उनको नाम सबैले अनुशासित र जेहेन्दार विद्यार्थीमा लिन्थे ।
०४२ सालमा उनले एसएलसी दिँदा उनको विद्यालयबाट तीन जना मात्र पास भए । ती तिनमध्ये खापुङले सबैभन्दा राम्रो नतिजा ल्याएका थिए । एसएलसीपछि बुबाले उनलाई काठमाडौं पढ्न पठाउने निधो गरे । ०४३ सालमा पढ्नका लागि उनी काठमाडौं आए । काठमाडौं आएपनि कहाँ पढ्ने ? कहाँ बस्ने ? केही योजना थिएन । दाजुले नेपाल ल क्यापसमा भर्ना गरिदिएपछि उनले त्यहीँ पढ्न सुरु गरे । पढ्दै जाँदा ०४९ सालमा उनले बीएल पास गरे ।
०४६ सालको पञ्चायत ढाल्ने आन्दोलनका कारण उनको ०४८ सालमा सकिनुपर्ने बीएलको परीक्षा रोकिएको थियो । पञ्चायत र संवैधानिक राजतन्त्रको साक्षी उनीपनि थिए ।
काठमाडौंको बसाईमा त्यो बेला पाएको दु:ख र संघर्षको असरले उनलाई पनि गलाएको थियो । चन्द्रलाई त्यो बेला काठमाडौं छाडेर घर जाऊ कि जस्तो पनि लागेको थियो । तर, उनी हारेनन् । कानूनको विद्यार्थी भएकाले समयको उपयोग गर्दै पञ्चायती व्यवस्था र बहुदलको बारेमा उनले गहिरोसँग अध्ययन गर्ने मौका समेत पाए ।
चन्द्रले बीएल पढ्दा काठमाडौंमा उनको कोठा भाडा ३ सय रुपैयाँ थियो । अभाव नभएपनि गाउँबाट तुरुन्तै पैसा नआउने भएकाले उनलाई पैसाको समेत जोहो गर्नुपर्ने थियो । त्यसबेलाको स्मरण उनी यसरी गर्छन्, 'एक पटक तातो दूधले बोतल फुटेको थियो । तर हामीले भोलिपल्ट त्यसलाई टालेर दूध पसलेकोमा लगी नयाँसँग साट्यौँ । हामी दुई जना साथीहरू बस्थ्यौं । फट्याइ पनि गरियो, अभाव पनि झेल्यौं ।'
पढाइमा निकै मेहनत गर्ने उनको स्वभाव थियो । परिवारबाट दुःख गरेर पहिलो चोटि काठमाडौं पढ्न पठाएको छोराले राम्रो गरेस् भनेर बाबुले जहिल्यै गाउँका मान्छे काठमाडौं आउँदा समाचार पठाउने गर्थे । उनलाई पनि बाबु आमाको सपना पुरा गर्नु थियो । चन्द्रपछि तीनजना भाइ भएकाले उनी भाइहरूको भविष्यप्रति पनि सतर्क भएर पढाइमा केन्द्रित हुन्थे ।
आफू लम्फू भए भाइहरू अवसरबाट वञ्चित हुनुपर्छ भन्ने चन्द्रलाई लाग्थ्यो । त्यही सोच बोकेर अगाडि बढेकाले अहिलेसम्म उनले कुनैपनि परीक्षामा 'ब्याक पेपर' लेख्नु परेको छैन । उनी भन्छन्, 'मास्टर्ससम्मको पढाई र यता जागिरको परीक्षामा पनि ब्याक पेपर लेख्नु परेको छैन ।'
यसरी प्रहरी सेवामा प्रवेश गरे
चन्द्र बीएल सकेर काठमाडौंमै लोकसेवाको शाखा अधिकृतको तयारी गर्दै थिए । निजामती सेवामै आफूलाई समर्पित गर्ने सोच उनको थियो । यसैबीच ताप्लेजुङका साथीहरू आएर इन्सपेक्टरमा फारम खुलेको बताए । उनको रहर त्यतातिर थिएन । साथीहरूले अनुभवका लागि भएपनि दिऊँ भनेर कर गरेको हुनाले उनले परीक्षा दिए ।
चन्द्रले लहलहैमा प्रहरी इन्सपेक्टरको परीक्षा दिने निधो गरेका थिए । उनले २०५० सालमा इन्सपेक्टरको परीक्षा दिए । जिके र आइक्यूको परीक्षा थियो । उनी भन्छन्, ‘पुलिसको जिकेमा गाह्रो हुने रहेछ तर, पास भइयो । त्यो पछि पाँच वटा विषयको जाँच दिए । त्यसमा पनि म खुरुखुरु पास भएँ ।'
अन्तरवार्ताका क्रममा उनलाई कसैलाई भनसुन त गरिएको छैन नि भनेर समेत प्रश्न गरिएको थियो । उनले भने, 'यहाँ भनसुन चल्दैन है समेत भनेका थिए ।'
प्रहरी इन्स्पेक्टरको परीक्षा दिएर उनी गाउँ गए । उनका बुबालाई चन्द्र प्रहरीको जागिरे भएको हेर्ने रहर थियो । तर उनी छोरा प्रहरीको जागिरे भएको सुन्न नपाउँदै २०५१ सालमा स्वर्गीय भए । उनी भन्छन्, 'बुबाले मैले प्रहरी इन्सपेक्टरको परीक्षा पास गरेको कुरा समेत सुन्न पाउँनु भएन ।'
एकपटक दिएर हेरौं न भनेर दिएको परीक्षामा उनी खुरुखुरु पास भएपछि उनलाई नेपाल प्रहरीतिरबाट नै देशको सेवा गर्ने रहर पलायो । इन्सपेक्टरको फाइनल रिजल्टमा उनीसहित १ सय जना पास भएका थिए । त्यतिबेला दुईवटा समूह विभाजन गरिएको थियो । ४० जना रहेको समूह 'ख' मा उनी रहेका थिए ।
समूह 'क'लाई तत्काल नियुक्ति दिइएको थियो । त्यो उनको लागि राम्रो अवसर भयो । किनकी घरमा बुबा बितेकाले परिवार सम्हाल्ने कोही थिएन । तत्काल उनी नियुक्त भएको भए प्रहरीमा जागिर नखान पनि सक्ने थिए । यसमा उनलाई भाग्यले साथ दियो ।
एक वर्षपछि उनी काठमाडौं आए र चिनेको एकजना डिएसपी भेट्न हेडक्वाटर गए । संयोग पनि कस्तो सोही दिन समूह 'ख'को नियुक्ति हुने दिन रहेछ । तर उनलाई त्यो विषय थाहा थिएन ।
५२ सालकाे मध्यावधी निर्वाचनलाई सर्वोच्च अदालतले बदर गरेको थियो । २०५२ भदौ १२ गते मनमोहन अधिकारिले बिघटन गरेको संसद पुनर्स्थापना भयो । सर्वोच्च अदालतलको निर्णयपछि शेरबहादुर देउवा प्रधानमन्त्री र खुमबहादुर खड्का गृहमन्त्री बनेका थिए । त्यतिबेला बेला खुमबहादुर खड्काले विशेष दरबन्दी सिर्जना गरेर नियुक्ति दिएका थिए । ०५० सालमा परीक्षा दिएपनि ०५२ सालको कार्तिकमा मात्र उनले नियुक्त हुने अवसर पाए । र, मंसिरबाट उनको प्रहरी तालिम सुरु भयो ।
जनयुद्धको सम्झना
०५२ साल फागुन १ गतेदेखि माओवादी जनयुद्ध सुरु भयो । खापुङलाई लाग्यो 'म त जनयुद्ध लड्न पो भर्ना भएँछु' । सुरुमा त्यो खालको अवस्था आउला भनेर उनले सोचिसकेका थिए ।
तालिम सकिएर निस्किदा रोल्पा, रुकुमलाई अलिअलि युद्धले छोएको थियो । पूर्वमा सिन्धुली, रामेछाप, काभ्रेतिर पनि युद्धको प्रभाव थियो । गोरखा, जाजरकोटतिरबाट पनि अलिअलि युद्धको हल्लाहरू आउन थालेका थिए ।
६ महिनासम्म माओवादीको पकड क्षेत्रमा जाने, आउने भइरहेको थियो । इन्सपेक्टर जहाँपनि फिल्डको कमान्ड गरेर जानुपर्ने भएकाले उनलाई सास्ती नै थियो । 'तर अप्रिय अवस्था भने मैले कहिले ब्यहोरिन । मुठभेड पनि कहिले भएन । मोरङमा गस्ती गर्न जाने क्रममा माओवादी साथीहरूको एउटा कार्यक्रम रहेछ । सुनसरी-मोरङको एउटै कमिटी थियो । उहाँहरू हामीलाई देखेपछि भाग्नुभयो', उनी सम्झिन्छन्, ‘तर हामी त्यसको लागि गएका थिएनौं । त्योबेला भागदौड नै भयो । गाईबस्तु पनि किला, दाम्ला सहित आत्तिएर निस्किएछन् । एक जना साथीलाई गोरुले सोरेर लगेछ । उहाँको मृत्यु भयो रे ! पूर्वतिर माओवादीको प्रभाव रहेको उहाँहरूले भाग्ने क्रममा छाडेको दस्ताबेजबाट थाहा भयो । त्यो ०५७ सालको कुरा थियो ।'
कार्यक्षेत्र र बढुवा
चन्द्रले देशका विभिन्न क्षेत्रमा प्रहरी भएर सेवा गरेका छन् । काठमाडौंका विभिन्न युनिटहरूसँगै, हनुमानढोकामा २ पटक पोस्टिङ भएको छ । उनले अपराध महाशाखा केरकारमा पनि इन्स्पेक्टर भएर काम गरेका छन् ।
२०६४ सालमा उनी डिएसपी भए । डिएसपी भएर जिल्ला प्रहरी कार्यालय काठमाडौंमा पनि बसेका चन्द्रले काठमाडौंका विभिन्न वडागत युनिटहरूमा पनि सेवा गरेका छन् ।
चापागाउँमा डिएसपी हुँदै दरबार मार्गको पहिलो डिएसपी भएर समेत उनले सेवा गरेका छन् । ०७४ सालमा उनी एसपी भएर जिल्ला प्रहरी कार्यालय बागलुङमा बसेका थिए । त्यसपछि उनी हेडक्वाटर बसे । उनी हेड क्वाटरको कर्मचारी प्रशासन शाखामा २ वर्ष बसेका हुन् ।
०७७ सालमा उनी एसएसपी बने । एसएसपीको भर्ना छनोटपछि उनी पुनः हेड क्वाटरमै बसे । त्यसपछि उनी उपत्यका अपराध महाशाखा हुँदै पुनः हेड क्वाटरमा आए । उनले बागमती प्रदेश कार्यालयमा बसेर समेत सेवा गरेका छन् ।
२०८० वैशाखमा डिआइजी बनेका उनको अब जागिर खाने समयावधी लगभग साढे २ वर्ष मात्र बाँकी छ । यो समयभित्र उनी एआइजी, आइजीपी बन्न सक्ने सम्भावना देखिन्छ ।
प्रहरीमा इमानदार, निष्ठावान् मानिने चन्द्र कानून संकाय पढेका व्यक्ति हुन् । त्यसैले पनि उनी कार्यसम्पादन गर्दा सबैलाई खुसी र सन्तुष्ट बनाउन प्रयत्न गर्छन् ।
उनी भन्छन्, 'म जहाँ गएपनि जुनियरलाई हाकिमको जस्तो व्यवहार गर्दिँन । अहिलेसम्म पब्लिकले पनि आवाज उठाउनेगरी कुनै कर्म गरेको छैन । र अबका दिनमा पनि कसैलाई आघात र चित्त दुख्ने खालको व्यवहार गर्दिन । प्रहरी भनेको राष्ट्रसेवक हो । हामीले राष्ट्रको सेवा निःस्वार्थ रूपमा गर्नुपर्छ ।'
प्रहरीसँगै विवाह
उनको विवाह ०६४ सालमा प्रहरीमै कार्यरत भावना श्रेष्ठसँग भयो । भावना पनि प्रहरी भएकाले उनलाई काम गर्न कुनै समस्या भएन । उनले कामको कारण कहिले पनि झगडा तथा तनाव भोग्नु परेन ।
२० वर्षको जागिरे अवधी पुरा गरी भावनाले डिएसपी भएर जागिर छाडेकी थिइन् । उनी भन्छन्, 'मलाई त पारिवारिक सहयोग र सपोर्ट चाहिने जति भएको छ । दुवै जागिरे हुँदा पनि बच्चा लिएर सँगै जान्थ्यौं ।' उनी आफू यहाँसम्म आइपुग्नुमा श्रीमती, बुबा, आमा र परिवारको देन रहेको बताउँछन् ।
समान रूपमा अवसरको वितरण हुनुपर्छ
चन्द्र प्रहरीको सरुवा, बढुवा गर्ने र गर्दिने निकायमा पनि लामो समय बसे । तर उनी कसैलाई पनि अवसरको वितरण गर्दा व्यक्ति हेरेर नगरेको दाबी गर्छन् । कुन क्षमताको मान्छे कता राख्दा उपयुक्त हुन्छ भन्ने बुझेर मात्र जिम्मेवारी दिएको उनी बताउँछन् ।
भन्छन्, 'उपयुक्त मान्छेलाई उपयुक्त ठाउँमा राख्नुपर्छ । त्यसो हुँदा कहिलेकाहीँ चिनेको मान्छे पनि पर्न जान्छ । तर मान्छे तोकिएर कहिले गरिएन ।'
उनी प्रहरी सेवा राजनीतिले तहस नहस पार्यो भन्ने बुझाइसँग सहमत छैनन् । त्यस्तो समस्या प्रहरी सेवामा नभएको चन्द्रको दाबी छ । समाजमा कुनै पुलिसले नराम्रो काम गर्दा एउटा सोही बुझाई र छाप सबैको हकमा लागू नहुने उनी बताउँछन् । ८० हजार पुलिसमध्ये कोही न कोही राम्रो नराम्रो हुनसक्ने कुरालाई उनी नकार्दैनन्। खापुङ भन्छन्, 'समाजमा राम्रा नराम्रा सबै छन् । यस्तै यतापनि केही हुन सक्ला ।'
संगठित युनिफर्ममा पुलिस हुनेभएकोले पुलिसप्रति जनताको बुझाइ नकारात्मक भए यसलाई चिर्न प्रहरीले कसरत गर्नुपर्ने उनको भनाइ छ । 'पुलिस भनेको यस्तो अर्गनाइजेशन हो जहाँ बदमास मान्छेलाई बचाउनुपर्छ भन्ने पक्षमा रहेर कहिल्यै आफ्नो मान्छे जोगाउने गरिदैन ।'
एकपटक जाँच गरिहेरौं भनेर जाँच दिएका उनले प्रहरी सेवामा काम गरेको लामो समय भइसक्यो । अहिले उनी आफ्नो जागिरप्रति गर्व गर्छन् ।
उनी भन्छन्, 'म त सही जागिरमा रहेछु । सबैभन्दा फैलिएको र नेपालको ७७ वटै जिल्ला घुम्न पाउने जागिरमा छु । ७ सय ५३ गाउँपालिकामा सेवा गर्न पाउने भएकाले यो जस्तो फैलिएको संगठन छैन । यसमा धेरै मौका छन् ।'
उनी कसैले समाज सेवा गर्न चाहे उपयुक्त ठाउँ प्रहरी प्रशासन रहेको समेत बताउँछन् । मान्छेले जस्तै संकट भएपनि भगवान् पछि पुलिस सम्झने भएकाले उनी आफू सही ठाउँमा आएको महसुस गर्ने बताउँछन् ।
नेपाल प्रहरी भनेको व्यापक कार्यक्षेत्र भएको ठाउँ हो । यो समाजसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । खापुङ समाजमा प्रहरी भएर सकारात्मक काम गर्न र सहयोग गर्न सकिने बताउँछन् ।
महिला प्रहरीमा पनि ८ प्रतिशतको हाराहारीमा पुगिसकेकाले महिलाका लागि पनि यो सेवा सुरक्षित र अवसरको रूपमा रहेको उनी बताउँछन् । यहाँबाट बाहिर जान पनि अवसर मिल्ने उनको भनाई छ । खापुङ भन्छन्, 'प्रहरीको काम शान्ति सुरक्षा पुर्याउने हो । अहिलेसम्म अनुसन्धानमा समस्या हुने झन्झटिलो केही भएको छैन ।'
नेपालको सबै जिल्ला घुमेका उनी नेपालको भूगोलबारे जानकार छन् । उनी भन्छन्, 'पुलिसले जति देश र समाज कसैले चिनेको हुँदैन । समाज, देश राजनीति सबै थाहा हुन्छ ।'
अवकाशपछि गाउँमै कृषि कर्म
चन्द्र अवकाशपछि गाउँ फर्किएर समाजसेवा सँगै कृषि कर्म गर्ने बताउँछन् । 'मेरो आमा ८७ वर्षको हुनुहुन्छ । गाउँ जाने हो । खेतीपाती गरिन्छ । समाजसेवा पनि गर्ने हो', उनी भन्छन् ।
उनी गाउँमा आनन्द हुने भएकाले आनन्दको जिन्दगी बिताउँने बताउँछन् । भन्छन्, 'म राजनीतिमा आउने कुनै सम्भावना छैन ।'