काठमाडौं । काठमाडौं महानगरपालिकामा कक्षा ११ का लागि प्रदान गरिने छात्रवृत्तिका लागि शिक्षा विभागले आज प्रवेश परीक्षा सम्पन्न गरेको छ ।
३ हजार ९१३ जना छात्र र २ हजार १०४ जना छात्रा गरी ६ हजार १७ जनाले आवेदक विद्यार्थी थिए । आवेदकमध्ये ३ हजार ४ सय छात्र र १ हजार ७७२ जना छात्रा गरी ५ हजार १७२ जना विद्यार्थी परीक्षामा सहभागी भए । ८४५ जना आवेदक गयल भए ।
आवेदकमध्ये ४ हजार १५५ जना विज्ञान विषयका थिए । यीमध्ये ३ हजार ७१३ जनाले परीक्षा दिए । १ हजार ४८४ जना व्यवस्थापन विषय आवेदकमध्ये १ हजार १८० जनाले परीक्षा दिए । २४५ जना प्राविधिक विषयका आवेदकमध्ये १७६ जना, ८९ जना कानुन विषयका आवेदकमध्ये ६९ जना, १८ जना मानविकी विषयका आवेदकमध्ये १६ जना र २६ जना शिक्षा विषयका आवेदकमध्ये १८ जना परीक्षामा सामेल भएको शिक्षा विभागले जानकारी दिएको छ ।
१५ वटा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । परीक्षा सञ्चालन अनुगमनका लागि उपप्रमुख सुनिता डंगोल विभिन्न विद्यालयहरूमा पुगेकी थिइन ।
कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अङ्ग्रेजी विषयबाट ३०-३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्नका वह वैकल्पिक उत्तर राखेर बस्तुगत परीक्षा (ओएमआर) लिइएको हो । यस प्रकारको परीक्षा प्रणाली धेरै आवेदकहरूबाट तत्काल परीक्षा लिएर मूल्याङ्कन गर्नका लागि उपयुक्त मानिन्छ । परीक्षार्थीले उत्तीर्ण हुन कम्तीमा ४० अङ्क प्राप्त गर्नुपर्छ । योग्यता क्रम निर्धारण गर्दा उच्चतम अङ्कलाई आधार मानिनेछ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ नगरी अनलाइन म्याचिङ् विधिबाट उत्तर परीक्षण गरिने महानगरले जनाएकाे छ ।
शिक्षा विभागका अधिकारीका अनुसार केन्द्रहरूबाट उत्तर पुस्तिका संकलन भइसकेको छ । अहिले उत्तर पुस्तिका परीक्षणको काम थालनी भइसकेको छ ।
छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०%, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५%, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९%, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिने भएकाे हाे ।
बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३%, आदिवासी र जनजातिलाई १५%, मधेसीलाई १२%, खस आर्यलाई १७% आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइने बताइएकाे छ ।
दलितलाई ९%, मुस्लिमलाई २%, थारुलाई ४%, अपाङ्गता भएको व्यक्तिलाई २%, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४%, सहिद र बेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २% छात्रवृत्ति दिइने बताइएकाे छ । पिछडिएको क्षेत्रका व्यक्तिका रूपमा अछाम, कालिकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिने बताइएको छ ।