ललितपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले संघर्ष बिना अधिकार प्राप्ति सम्भव नभएको बताएका छन् ।
२९औं विश्व आदिवासी दिवस २०२३ को सन्दर्भमा तराई मधेस राष्ट्रिय परिषद्ले आयोजना गरेको परिवर्तनको संवाहकको रुपमा आत्मनिर्णयको लागि आदिवासी युवाको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले त्यस्तो बताएका हुन् ।
'अधिकार प्राप्त गर्ने भन्ने विषय सामान्य होइन, भाषण गर्दैमा अधिकार प्राप्त हुँदैन' उनले भने, 'अधिकार प्राप्तिका लागि हरेक खालको संघर्षमा जान जरुरी छ ।'
मन्त्री मोदीले संघर्षका विभिन्न स्वरूप हुने समेत प्रस्ट पारे । 'संघर्षका विभिन्न मोडल छन्, एउटा मोडल भनेको संघर्षबाट राज्य सत्ता कब्जा गर्ने हो । अर्को भनेको चुनावी मैदानमा गएर आफ्नो एजेन्डालाई संस्थागत गर्ने हो', उनले थपे, 'आदिवासीहरूको थप अधिकार प्राप्तिका लागि यी सबै खाले संघर्ष आवश्यक छ ।'
मन्त्री मोदीले देशभित्रका आदिवासी जनजातिबीच एकताको खाँचो रहेको समेत बताए । पूर्वदेखि पश्चिमसम्मका सबै जनजातिहरू एक भएर अगाडि बढ्दा मात्रै लक्ष्यमा पुग्न सम्भव हुने उनको भनाई थियो ।
मन्त्री मोदीले आदिवासी जनजातिको अधिकारको पक्षमा लडेको पार्टी माओवादीलाई मत नदिएकोप्रति लक्षित गर्दै भने, 'बाख्राको गोठालो चितुवालाई दिएपछि बाख्रा सग्लो खोजेर पाइँदैन । भोट दिने बेला आदिवासी जनजातिको एजेन्डा उठाउनेलाई दिनुपर्ने थियो, दिनुभएन, अब अहिले अधिकार खोजेर पाइँदैन पनि ।'