काठमाडौं । सन् २०२४ मा अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व मञ्चमा एक कठिन वर्ष भएको छ । भूराजनीतिक प्रतिस्पर्धा बढ्दै गएका छन् । विगतदेखि जारी युद्धहरू शान्त हुन सकेका छैनन् । सन् २०२४ को ग्रीष्मकालीन ओलम्पिक र पारालिम्पिक्स विश्वको सुन्दर सहर पेरिसमा सम्पन्न भएको छ ।
सन् २०२४ ले दिएका उपलब्धि र पाठले सन् २०२५ सबैका लागि प्रेरणाको वर्ष हुनेछ । विश्व जगत्ले विगतदेखि जारी राखेका सकारात्मक कामले सन् २०२५ र त्यसपछिका वर्षमा पनि निरन्तरता पाउनुपर्छ र विश्व विकासको कदमले सार्थकता पाउनुपर्छ ।
सन् २०२५ ले युद्ध र हिंसाजस्ता मानवीय व्यभिचारका कारण उत्पन्न दुर्भावनालाई नियन्त्रण गर्नेछ र जलवायु परिवर्तनसँगै निम्तिएका खडेरी, अनावृष्टि, अल्पवृष्टि, अतिवृष्टि र यसका कारण हुने मरूभूमिकरण, बाढी र पहिरोजस्ता प्राकृतिक विपत्ति न्यूनीकरण र नियन्त्रणमा विश्वले सहकार्य गर्नेछ ।
मानवीय गतिविधिले निम्त्याउने रोग तथा महामारीजन्य विपत्तिलाई आधुनिक विज्ञानको आविष्कार र सहयोगमा परास्त गर्दै हामीलाई यस प्रकृतिको अनुपम उपहार यस पवित्र धर्तीमा निर्भिकताका साथ बाँच्न पाउने अधिकारको सुनिश्चितता गर्नेछ ।
सन् २०२४ को अन्त्यसँगै वर्षभरि प्रविधि विकास र प्राकृतिक समस्या समाधान प्रयासमा भएका प्रमुख गतिविधि र घटनालाई सम्झिनु सन् २०२४ को बिदाइका लागि सान्दर्भिक हुनेछ ।
–अन्तरिक्ष दौड–
सन् २०२४ मा अन्तरिक्षको दौडले विगतमा जस्तै निरन्तरता पाएको छ । सन् २०२४ मा अन्तरिक्ष अन्वेषणमा जापानले जनवरीमा चन्द्रमाको क्रेटरमा स्लिम (स्मार्ट ल्यान्डर फर इन्भेस्टिगेसन द मुन) अवतरण गरी तीन महिनासम्म पृथ्वीमा तथ्याङ्क प्रेषित गर्न सफल भयो ।
चीनको एउटा अन्तरीक्ष अभियानले चन्द्रमाको सबैभन्दा टाढाबाट माटोको नमूना लिएर फिर्ता भयो । चीनले अहिलेसम्म कोही पनि नपुगेको चन्द्रमाको सुदूर क्षेत्रमा आफ्नो अन्तरिक्षयान अवतरण गरेको हो । मे ३ मा प्रक्षेपण गरिएको चाङ्ग–अ सिक्स नाम दिइएको चिनियाँ अभियानले चन्द्रमाको ‘क्रेटर’ अर्थात् विशाल खाडलमा रहेका पुराना चट्टान र माटो सङ्कलन गरेको हो ।
नासाको पर्सिभेरेन्स रोभरले मङ्गल ग्रहमा सूक्ष्मजीवी (माइक्रोबियल) जीवनको सम्भावित प्रमाण फेला पारेको छ ।
यो वर्ष ईयू–जापान अन्तरिक्ष अभियानले बुध ग्रहको दक्षिणी ध्रुवको तस्वीर लिन सफल भएको छ । स्पेसएक्सले ‘चपस्टिक आम्र्स’ को साथ ‘रिटर्निंग बूस्टर रकेट’हरू कब्जा गर्नका लागि एक नयाँ प्रविधिको आविष्कार गरेको छ ।
त्यसैगरी, बोइङको स्टारलाइनर परियोजनाले जुनमा दुई अन्तरिक्ष यात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा पठाएको थियो । उनीहरू त्यहाँ दुई महिनाका लागि बस्ने भनिएको भए पनि प्राविधिक समस्याले उनीहरू फिर्ता हुन ढिलाइ भएको छ ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा फसेका दुई अन्तरिक्षयात्रीलाई पृथ्वीमा फर्काउने ‘स्पेसएक्स मिसन’को ‘ड्र्यागन क्याप्सुल’ इनटरनेसनल स्पेस स्टेसन (आइएसएस)सँग जोडिएको छ ।
‘ड्र्यागन क्याप्सुल’ले आइएसएससँग जोडिएपछि नासाका अन्तरिक्ष यात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभ फेब्रुअरीमा अन्तरिक्ष स्टेसनबाट फर्किँदा उनीहरूले अन्तरिक्षविद् विलियम्स र बुच विल्मोरलाई फिर्ता ल्याउनेछन् ।
दुर्भाग्यको कुरा, अन्तरिक्ष पनि केवल व्यावसायिक र वैज्ञानिक प्रतिस्पर्धाको विषय बन्न थालेको छ । यो प्रकृतिमाथिको हस्तक्षेप हो । यो नयाँ भूराजनीतिक प्रतिस्पर्धाको कारण निम्तिएको परिणाम हो ।
अमेरिकी अधिकारीहरूले गत मे महिनामा रूसले अन्तरिक्षमा रहेको ‘एन्टी स्याटेलाइट’ हतियार अन्तरिक्षमा राखेको आरोप लगाएका थिए । यसैबीच चीनले अन्तरिक्षमा रहेका सैन्य उपग्रहको सङ्ख्यामा व्यापक वृद्धि गरेको छ ।
अन्तरिक्ष सञ्चालनलाई नियन्त्रण गर्ने केही अन्तर्राष्ट्रिय सम्झौताहरूले अन्तरिक्षको सैन्यीकरणलाई रोक्न खासै केही गर्दैन । संयुक्त राज्य अमेरिकाले देशहरूलाई ‘आर्टेमिस सम्झौता’मा हस्ताक्षर गर्न आग्रह गरिरहेको छ, जसले अन्तरिक्ष अन्वेषणको सैन्यीकरणलाई रोक्न चाहन्छ । यो सम्झौतामा अहिलेसम्म ५२ देशले हस्ताक्षर गरेका छन् तर यो सूचीमा चीन, रूसलगायतका अमेरिका इतर मुलुकहरू समावेश छैनन् ।
– एआईको विकास –
नेपालीमा कृत्रिम बौद्धिकता भनिने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विकासहरू आश्चर्यजनक तथ्य सङ्कलनका लागि बृहत् फड्को त हो नै सँगसँगै यो चिन्ताको पनि विषय हो । एआई क्रान्तिले विज्ञानका कथालाई तथ्यमा बदलिरहेको छ ।
हालको एआई प्रगतिहरूको सूची प्रभावशाली छ, उनीहरूको व्यावहारिक अनुप्रयोगहरू छन् । एआईको प्रयोग आनुवंशिक अवस्थाको विश्लेषण गर्न, स्वास्थ्य सेवासुधार गर्न, उत्पादन क्षमता सिर्जना गर्न र अन्य धेरैका लागि प्रयोग भइरहेको छ ।
नोबेल पुरस्कार समितिले जोन हपफिल्ड र जियोफ्रे हिन्टनलाई ‘कृत्रिम तन्त्रिका सञ्जालको मेशिनबाट जानकारी प्राप्त गर्ने वा गणना गर्न सक्षम आधारभूत खोज र आविष्कारहरूको लागि’ र रसायन शास्त्रमा नोबेल पुरस्कारको आधा हिस्सा डेमिस हसाबिस र जोन जम्परलाई ‘प्रोटिनकको स्ट्रक्चरल प्रेडिक्सन’ का लागि एआई मोडेल विकास गरेको तथ्यबाट एआईको महत्त्वले आधिकारिक मान्यता प्राप्त गरेको छ ।
पुरस्कारको आधा हिस्सा नितान्त नयाँ प्रकारको ‘प्रोटिन’को विकास गरेका डेभिड बेकरले प्राप्त गरेको थियो भने बाँकी आधा ‘प्रोटिन’को जटिल ढाँचालाई एआईको मद्दतले मापन गर्ने मोडेल विकास गरेका जम्पर र हसाबिसले पाएको थियो ।
सबै विकशित प्रविधिहरूमा कुन देश अगाडि छ भनेर विशेषज्ञहरूले बहस गर्छन् । प्रायजसो उपायहरूले संयुक्त राज्य अमेरिका ‘ठूलो अन्तरले अघि बढेको’ देखाउँछ तथापि, चीन एआई अनुसन्धान प्रकाशनहरूको अनाधिकारिक सङ्ख्याका लागि विश्वव्यापीरूपमा अग्रस्थानमा रहेको देखिन्छ ।
हरेक आकांक्षी एआईको शक्तिले सामना गर्ने एउटा सीमा भनेको दक्ष कामदारहरूको उपलब्धता हो । अर्को अवरोध भनेको बिजुली र पानीको उपलब्धता हो । एआई मोडेलका उपकरणका लागि ठूलो मात्रामा इन्धन शक्तिको आवश्यकता पर्दछ जसले सधैँ चिसो रहिरहन आवश्यक वातावरणमा ताप उत्पन्न गर्दछ र वातावरणीय सन्तुलनका प्रभाव पार्दछ ।
एआई क्षेत्रमा प्रवेशको उच्च लागत समानताका विषयमा चिन्ताको एक कारण हो एआई विकासमा देखिएको होडबाजीले धनी र गरीब देशहरू बीचको खाडललाई अझ फराकिलो बनाउनेछ ।
आर्टिफिसियल इन्टेलिजेन्सलाई कसरी नियमन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । समग्रमा सम्झौता गर्ने कुरा एउटा जटिल अभ्यास हुनेछ ।
– जलवायु परिवर्तन –
जलवायु परिवर्तनका कारण तापमान वृद्धि हुने क्रम जारी छ । यसका लागि प्रकृतिमा मानवीय अतिक्रमणलाई नै प्रमुख जिम्मेवार मानिएको छ । जीवाश्म इन्धनको हाम्रो व्यवहारले सम्भवतः स्थायी रूपमा जलवायुलाई परिवर्तन गर्ने तथ्यलाई वैज्ञानिकहरूले दशकौँदेखि चेतावनी दिइरहेका छन् । आधुनिक अभ्यासका लागि वैज्ञानिक आविष्कार नै पनि यसमा जिम्मेवार छन् । तथ्यहरूले उल्लेखित दावीहरूलाई पुष्टि गर्छन् ।
वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर निरन्तर बढिरहेको छ र सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा स्थापित भएको छ । सन् २०१५ को पेरिस सम्झौताले विश्वलाई स्थायी रूपमा तापक्रमको उच्चस्तर नाघ्नबाट जोगाउने प्रयास गरेको सन्दर्भमा जलवायु परिवर्तनको जोखिम तथा असरलाई उल्लेखनीय रूपमा घटाउने कुरालाई आत्मसात गरेको थियो ।
सम्झौताले विश्वव्यापी औसत तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि दुई डिग्री सेल्सियसभन्दा तल कायम राख्ने र तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि १.५ डिग्री सेल्सियसमा सीमित राख्न प्रयास गर्ने जनाएको छ ।
बदलिँदो जलवायुका केही परिणामहरू सजिलै देख्न सकिन्छ । अमेरिकी राष्ट्रिय महासागरीय तथा वायुमण्डलीय प्रशासनले सन् २०२४ को पहिलो १० महिनामा संयुक्त राज्य अमेरिकामा २४ वटा मौसमसम्बन्धी प्राकृतिक प्रकोप उत्पन्न भएको र यसबाट कम्तीमा एक अर्ब अमेरिकी डलरबराबरको क्षति भएको जनाएको छ ।
दक्षिण अमेरिकाको उत्तरी क्षेत्रमा खडेरीका कारण विश्वको सबैभन्दा ठूलो नदी प्रणाली अमेजनको केही भाग सुकेको छ । वातावरणीय परिवर्तनहरू क्रमिक रूपमा हुने गर्छन् जलवायु परिवर्तनका धेरै परिणामहरू देख्न गाह्रो छ । समुद्रको तातो पानी सोस्ने स्रोतहरूमा हस्तक्षेप भएको छ तर यसको परिणाम देख्ने गरी जानकारीमा आउन निकै समय लाग्न सक्छ ।
जलवायुसम्बन्धी वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन कोप २९ ले विकासशील देशहरूलाई उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आर्थिक सहयोग गर्न सामान्य प्रगति गरेको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न र हरित अर्थव्यवस्थामा सङ्क्रमणलाई छिटो गर्न डिजाइन गरिएका विभिन्न प्रविधिहरूमा प्रगति गरेका छन् । तथापि, तिनीहरूको सफलता धेरै कम र ढिलो हुन सक्छ । रासस