रुकुम । रुकुम पूर्व पुथा उत्तारगंगा गाउँपालिकाका बालबालिकाहरूले बजेट सार्वजनिक गर्ने समयको पुर्व सन्ध्यामा नमूना गाउँसभा सञ्चालन गरेका छन् ।
बजेट निर्माण प्रक्रियामा बालबालिकाहरूको प्रतिनिधित्व गराउने उद्देश्यले 'उपाध्यक्षसँग किशोर-किशोरी कार्यक्रम' अन्तर्गत गाउँसभाको नमूना अभ्यास गरिएको हो । गाउँसभा पुर्व १४ ओटा वडाध्यक्ष, पालिका अध्यक्ष र उपाध्यक्षको अभ्यास निर्वाचन गरिएको थियो ।
निर्वाचनको मत परिणामपछि निर्वाचित बाल जनप्रतिनिधिहरूले गाउँसभाको शून्य र विशेष समयमा बोल्दै आफ्ना मागहरू बजेटमा समेट्न माग गरेका छन् । उनीहरूले छात्रा शौचालय, सेनेटरी प्याड, खेल सामग्री, बाल क्लब सञ्चालनको लागि आवश्यक सामग्री आदि माग गरेका हुन् ।
अभ्यास गाउँसभाको समापन कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा मगरले बालबालिकाका सवालमा आफूहरू संवेदनशील रहेको बताए । अबको बजेटमा बालबालिकाका लागि उचित कार्यक्रम ल्याउने उहाँको प्रतिबद्धता छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत समीर गिरीले अबको बजेटमा बालबालिकाका मागहरू सम्बोधन गरिने प्रतिबद्धता जनाए ।
शिक्षा शाखा प्रमुख रामप्रसाद खड्काले बालबालिका भविष्यका कर्णधार मात्र नभएर बर्तमानका साझेदार पनि भएकोले उनीहरूको प्रतिनिधित्व बारे सबै सचेत हुनुपर्ने बताए । चुनाव र गाउँसभाकै झल्को दिनेगरी नमूना चुनाव र गाउँसभाको अभ्यास पुथाउत्तरगंगा गाउँपालिकाको केन्द्र तकसेराको चेबाङचौरमा गरिएको हो ।


























