काठमाडौं । गत आर्थिक वर्षमा सुस्त बनेको अर्थतन्त्रको असर बैङ्किङ क्षेत्रमा पनि देखिएको छ । समग्र बैङ्किङ प्रणालीमा निष्क्रिय कर्जा बढेका कारण सम्भावित कर्जा नोक्सानीबापत व्यवस्था गर्नुपर्ने प्रोभिजन रकम पनि बढेको छ ।
प्रोभिजन रकम धेरै राख्नुपर्दा बैङ्कहरूको आम्दानी बढे पनि नाफा बढ्न नसकेको हो। गत आर्थिक वर्षको असार मसान्तसम्म नेपाल बैंकको नाफा १६.७० प्रतिशतले बढेर ३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आवमा यो बैंकको नाफा २ अर्ब ९२ करोड थियो । बैंकको सञ्चालन नाफा २१.१९ प्रतिशतले बढेर ४ अर्ब ४० करोड पुगेको छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ९७ करोड ३३ लाख छ । १४ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको नेपाल बैंकको जगेडा कोषमा २० अर्ब ९१ करोड छ। बैंकको खराब कर्जा १.८३ बाट २.८५ प्रतिशत पुगेको छ ।
यसैगरी गत वर्ष कृषि विकास बैंकको खुद नाफा ३९.२४ प्रतिशत बढेको छ । गत वर्ष बैंकले ३ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले २ अर्ब २२ करोड खुद नाफा गरेको थियो । एक वर्षमा बैंकले ८७ करोड ३५ लाख रुपैयाँ खुद नाफा बढाएको छ ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार २ अर्ब रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । बैंकको चुक्ता पुँजी १३ अर्ब ४५ करोड छ । यो बैंकको खराब कर्जा अनुपात बढेर २.४८ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म प्रभु बैंकको नाफा ४८.५४ प्रतिशतले बढेर २ अर्ब ८२ करोड पुगेको छ ।
अघिल्लो आवको यही अवधिमा बैंकको नाफा १ अर्ब ९० करोड थियो । बैंकको सञ्चालन नाफा ४७.५२ प्रतिशतले बढेर ४ अर्ब २० करोड पुगेको छ ।
यो समाचार कारोबार दैनिकमा छ ।