दुबई । साउदी अरबले लागूऔषध तस्करीको आरोपमा ६ इरानीलाई मृत्युदण्ड दिएको छ ।
साउदी अरबको आधिकारिक समाचार एजेन्सी एसपीएले जारी गरेको विज्ञप्तिका अनुसार ती ६ जनालाई खाडीको तटीय शहर दमाममा "गुप्त रूपमा ह्यासिस भित्र्याएको" अभियोगमा मृत्युदण्ड दिइएको हो । तर, मृत्युदण्ड कहिले दिइयो भन्ने विषयमा विवरण खुलाइएको छैन ।
यस घटनापछि इरानले साउदी राजदूतलाई तलबान गरेर अन्तर्राष्ट्रिय कानूनका "नियम र मान्यताहरूको उल्लंघन" गरेको भन्दै कडा विरोध जनाएको छ । इरानी विदेश मन्त्रालयले यो कदमलाई "अस्वीकार्य" भनेको छ ।
एएफपीको तथ्यांकअनुसार, साउदी अरबले सन् २०२४ मा कम्तीमा ३३८ जनालाई मृत्युदण्ड दिएको छ । जुन सन् २०२३ को १७० रहेको तुलनामा तीव्र वृद्धि हो ।
मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेशनलले साउदी अरबमा सन् १९९० को दशकदेखि मृत्युदण्डको तथ्यांक संकलन गर्दै आएको छ । उक्त तथ्यांकअनुसार यसअघि सन् २०२२ मा १९६ र सन् १९९५ मा १९२ जनालाई मृत्युदण्ड दिइएको थियो ।
सन् २०२४ मा मृत्युदण्ड दिइएका ३३८ व्यक्तिमध्ये कम्तीमा ११७ लागूऔषध तस्करीमा दोषी ठहरिएका थिए ।
साउदी अरबले दुई वर्षअघि लागूऔषध अपराधका लागि मृत्युदण्ड रोक्ने निर्णयलाई उल्ट्याएपछि यो संख्या तीव्र रूपमा बढेको हो । सन् २०२३ मा साउदी अरबले लागूऔषधविरुद्ध व्यापक अभियान चलाउँदै छापा मार्ने र पक्राउ गर्ने क्रम तीव्र पारेको थियो ।
साउदी अरब हाल लागूऔषध "क्याप्टागोन" को प्रमुख बजार बनेको छ । यो लागूऔषध सिरियाको गृहयुद्धका क्रममा ठूलो मात्रामा उत्पादन गरिएको थियो ।
सन् २०२४ मा मृत्युदण्ड दिइएकामध्ये १२९ जना विदेशी नागरिक थिए । जसमा २५ यमनी, २४ पाकिस्तानी, १७ इजिप्सियन, १६ सिरियाली, १४ नाइजेरियन, १३ जोर्डनियन, र ७ इथियोपियन रहेका थिए ।
सन् २०२२ मार्चमा, साउदी अरबले "आतंकवादी अपराध" को आरोपमा एकैदिन ८१ जनालाई मृत्युदण्ड दिएको थियो ।
सन् २०१६ मा साउदी अरबले शिया धर्मगुरु निमर अल-निमरलाई मृत्युदण्ड दिएपछि इरानका प्रदर्शनकारीहरूले तेहरान र मशहदस्थित साउदी कूटनीतिक कार्यालयमा आक्रमण गरेका थिए । यसपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध टुटेको थियो ।
तर, सन् २०२३ को मार्चमा चीनको मध्यस्थतामा यी दुई देशले कूटनीतिक सम्बन्ध पुनःस्थापना गरेका थिए । एएफपी