मन्थली । कारागारमा हुनुपर्ने न्यूनतम मापदण्ड नहुँदा रामेछाप कारागार सुधार गृह बन्न सकेको छैन । यहाँको कारागारमा कैदी बन्दी कोचाकोच बस्न बाध्य छन् ।
सो कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदी बन्दी राखिएका कारण कोचाकोच भएको हो । एक सय ५० देखि बढीमा दुई सयसम्म मात्र कैदी बन्दी अटाउने यस कारागारमा तीन सय ३५ कैदी बन्दी राखिएका छन् ।
‘कैदी बन्दी राख्न साह्रै गाह्रो छ’, कारागार प्रमुख रूपलाल तामाङले भने, ‘लाइन लगाएर सुताउनुपरेको छ । ठाउँ नपुगेर खाट मुनिसमेत कैदी बन्दीले ओछ्यान लगाउने गरेका छन् ।’
कारागारलाई सरकारले सुधार गृहको नामकरण गरेर पर्याप्त सुविधा दिने नीति लिएको भए पनि यहाँको कारागार भने सास्ती गृहका रूपमा परिणत भएको छ । जिल्लामा सुविधा सम्पन्न कारागार भवन नहुँदा यस्तो समस्या आएको हो ।
यहाँको पुरानो कारागारको भवन २०७२ सालको भूकम्पले भत्किएपछि केही भागमा मात्र पुनः निर्माण गरिएको छ । केही संरचना पुरानै छन् । पुराना संरचना ज्यादै जीर्ण रहेकाले थप चुनौती कारागार प्रशासनलाई छ । कारागारमा रहेका ती कैदीबन्दीमध्ये १७ महिला छन् ।
महिलाको लागि बेग्लै कोठा भए पनि उनीहरूको बसाइ अझ कष्टकर छ । एउटै कोठामा १५ जना अटाएका छन् । भान्सालाई बारेर (पार्टेशन गरेर) थप दुई जना राखिएको छ ।
प्रमुख तामाङका अनुसार तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणले कारागार पुनः निर्माणको कार्यक्रम राखेको थियो । त्यस बेला कारागार भवन निर्माणका लागि जग्गा व्यवस्थापन हुन सकेन ।
‘मैले प्रमुख जिल्ला अधिकारीलाई समेत जग्गा व्यवस्थापनका विषयमा भनेको छु’, उनले भने, ‘खाद्य संस्थानको जग्गा लिन सकेमा तत्कालका लागि कैदी बन्दी अन्यत्र स्थानान्तरण नगरी भवन निर्माण गर्न सकिने अवस्था छ ।’ खाद्य संस्थानले जिल्लाबाट कार्यालय हटाइसकेको छ ।