कास्की । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान (जिटिइभिटिइ) अन्तर्गतको गण्डकी प्राविधिक शिक्षालय स्थापना भएको चार वर्षपछि भवन बन्ने भएको छ।
गण्डकीमा दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीमा आबद्ध गर्ने उद्देश्य लिएर गण्डकी प्रदेश सरकारले २०७७ सालमा गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान ( जिटिइभिटिइ ) स्थापना गर्ने निर्णय गरेको थियो ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित गुर्धुममा बन्ने प्रशासनिक भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शिलान्यास गरेसँगै जिटिइभिटिइ आफ्नै भवनबाट सञ्चालनमा आउने भएको हो।
शिक्षालयको पूर्वाधारका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)सँग सम्झौता भएलगत्तै शुक्रबार भवन शिलान्यास गरिएको हो। गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका सचिव राजेन्द्रदेव पाण्डे र कोइकाका नेपाल कार्यालयका देशीय निर्देशक मुहुन कङबीच सम्झौता भएको हो । परियोजना अन्र्तगत कोइकाले करिब नौ मिलियन अमेरिकी डलर (करिव सवा अर्ब रुपैयाँ)को सहायता अनुदान उपलब्ध गराउने छ।
सोही सम्झौतापछि गुर्धुममा ‘नमुना प्राविधिक संरचना’ बनाउने कामको थालनी भएको हो । उक्त कामको शिलान्यासपछि मुख्यमन्त्री पाण्डेले पाण्डेले प्राविधिक शिक्षा आजको मुल आवश्यक भएको बताए। प्राविधिक शिक्षालय स्थापनापछि नेपालमै प्राविधिक क्षेत्रमा सीप र ज्ञान वृद्धि गर्ने अवसर प्राप्त हुने उनले सुनाए।
देशमै रोजगारी गर्न वा विदेशमा रोजगारीका लागि जान चाहनेका लागि यसले टेवा पुर्याउने मुख्यमन्त्री पाण्डेको भनाइ थियो। “अहिले नेपालमा केही पनि गर्न सकिदैन भन्ने नकरात्मक सोच छ। अब यसबाट उत्पादन भएका विद्यार्थीले स्वरोजगार सिर्जना वा रोजगारका लागि आफूलाई स्थापित गर्न दक्ष सीपयुक्त व्याक्ति निर्माण गर्छ,” उनले भने, “यहाँबाट ज्ञान, सीप प्राप्त गरेकामा भोलिका दिनमा नेपालकै केही सकिन्छ र यही गर्नुपर्छ भन्ने भावना पनि जगाउँछ भन्ने मलाई लाग्छ।”
कार्यक्रममा कोईका नेपाल कार्यालयका देशीय निर्देशक कङले परियोजनाले युवा, महिला र असक्षम व्यक्तिलाई गुणस्तरीय प्राविधिक शिक्षा प्राप्त गर्न अवसर प्रदान गर्ने बताए। पछिल्लो समय तीव्ररूपमा विकास भइरहेको रोजगारी बजारमा अघि बढ्न आवश्यक सीपले सुसज्जित गर्ने उनको भनाइ थियो । कोइकाले नेपालमा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिएको पनि उल्लेख गर्दै सोहीअनुसार शिक्षालयलाई सहयोग गरेको उनले सुनाए।
गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक डा सोमनाथ सापकोटाले प्रदेशका लागि आवश्यक पर्ने जनशक्तिको प्रक्षेपणअनुसार तालिम सञ्चालन गर्नका लागि पूर्वाधारका लागि कोइकाबाट प्राप्त सहयोगले ठूलो महत्व राख्ने बताए। प्रदेश शिक्षा नीतिले प्रदेशभित्र सञ्चालन हुने सबै खालका प्राविधिक शिक्षा तथा तालिम यसै संस्था मातहत रहनुपर्ने परिकल्पना पनि गरेको छ।
सम्झौताअनुसार परियोजना सन् २०२५ बाट सुरु भई पाँच वर्षसम्म सञ्चालन हुने छ। यो परियोजना कोइका र गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानले संयुक्तरूपमा कार्यान्वयन गर्नेछ।
भवन निर्माणको काम सकिएपछि ईलेक्ट्रोनिक्स/ईलेक्ट्रिकल, अटोमोबाइल्स र टुरिजम/हस्पिटालिटी विषयमा पठनपाठन हुने उनले बताए।