खजुरा । बाँके खजुरा गाउँपालिका २ का मनिष शर्माले सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको सब इन्जिनियर पदको विज्ञापनमा अनलाइनबाट एक हजार रुपियाँ तिरेर फाराम भरे ।
लिखित परीक्षा दिनका लागि उनी जेठ महिनाको अन्तिमतिर धनगढी पुगे । धनगढी पुगेपछि तोकिएको परीक्षा केन्द्रमा पुग्दा सुरेन्द्र डाँगी नामका व्यक्तिसँग उनकाे भेट भयो र डाँगी मार्फत नै उनले जानकारी पाए कि लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएकोले सरकारी एकीकृत डाटा सेन्टरमा सिर्जित समस्याका कारण डाटाहरू नष्ट भएकाले परीक्षा रद्द गरिएको र पुनः दरखास्त दिनुपर्ने भनेर ।
उनी घर फर्किए । र सुरेन्द्र डाँगीकै सल्लाहअनुसार असार २० गते नेपालगन्ज बिपी चोकस्थित एक साइबर पसलबाट पुनः एक हजार रुपियाँ तिरेर सब इन्जिनियर पदका लागि अनलाइन फाराम भरे । फाराम भरे पश्चात् डाँगीकै कुराअनुसार उनी साउन ७ गते कैलालीको अत्तरिया नगरपालिकाको गेटास्थित जेके सेकेण्डरी स्कुलमा पुगेर लिखित परीक्षा दिए ।
साउन १८ गते उनको इमेलमा सुरेन्द्र डाँगीको नामबाट एउटा इमेल आयो । इमेलमा तपाईँ लिखित परीक्षामा पास हुनुभएको र मौखिक परीक्षाका लागि साउन २६ गते कैलाली आउन भनिएको थियो । उनका साथीभाइले सामाजिक सञ्जाल फेसबुकमार्फत शर्मालाई लिखित परीक्षामा सफल भएको र मौखिक परीक्षामा पनि थप सफलताको शुभकामना भन्दै उनको नामसहित उल्लेख गरिएको सुदूरपश्चिम लोकसेवा आयोगले प्रकाशित भएको सूचना पोस्ट गरे ।
सूचना तोडमोड गरी परीक्षार्थीलाई इमेल मार्फत पठाइएको नतिजा ।
प्रदेश लोकसेवा आयोग सुदूरपश्चिम प्रदेश धनगढी, कैलालीको नाममा सूचना नं। १०४, मिति २०८०–४–७ गते प्रकाशित लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको विषयको उक्त सूचनामा मनिष शर्मासहित ५ जनाको नाम लिखित परीक्षामा सफल भएको र २६ गते कार्यालय समयमा आवश्यक कागजातसहित मौखिक परीक्षाका लागि उपस्थित हुन भनी उल्लेख गरिएको छ ।
जब उनले आफ्नी दिदीलाई उक्त कुरा जानकारी गराए । दिदीले सुदूरपश्चिम लोकसेवा आयोगको वेबसाइट हेरिन् । आयोगले त मिति २०८०–३–१२ गते सूचना नं. १०४(२०७९–८० को विज्ञापनमा सब इन्जिनियर पदका लागि साउन २७ गते मात्रै लिखित परीक्षामा सहभागी हुन आउन भनी जारी गरेको सूचना देखिन् । तब शर्मा झसङ्ग भए । र यो सबै नक्कली रहेछ भनेर बुझे ।
यो समाचार गोरखापत्रमा छ ।