गण्डकी । गोठ र चरनमा आधारित पशुपालनको परम्परा बोकेका यहाँको वन संरक्षणमा स्थानीय सक्रिय भएका छन् । पोखरा महानगरपालिका– १६ मा अवस्थित बहुमूल्य जडीबुटीको भण्डार सत्रखर्क कालीलेक सामुदायिक वनको संरक्षणमा उपभोक्ताले चासो देखाएका हुन् ।
जंगलमा रहेका बहुमूल्य जडीबुटी, काठसहित चोरी–सिकारी हुँदै आएको सो वनलाई डिभिजन वन कार्यालय कास्कीले एक वर्षअघि संरक्षण, विकास र उपयोग गर्ने गरी गठित समूहलाई अधिकार हस्तान्तरण गरेसँगै उपभोक्ता वन जोगाउने अभियानमा जुटेका हुन् ।
यहाँ बहुमूल्य जडीबुटी, सतुवा, लोठसल्लो, नीरमसी, पाखनवेद, चन्दन, चुत्रोलगायत मालिँगाे, घुँडे र तितेनिगालो स्वादिलो तरकारीमा प्रयोग गरिने टुसा, निउरो, तरुल प्रशस्त पाइने सत्रखर्क कालीलेक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुवेदार इन्द्रबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार जंगल क्षेत्रमा चोगो, नसी, खाँदो, पनेलो, स्याक, क्रेटोेपँधेरो, कोइप्रोनो, तल्लोदोवान, वलाय, तोमोधु, तोढ्रे, एकल, दोबाटे, माडदी, घुडे, लिते र सबल गरी सत्रवटा चरनलाई समेटेर यस वनलाई सत्रखर्क नामकरण गरिएको हो ।
समुद्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरसम्मको उचाइमा अवस्थित जंगलमा चितुवा, भालु, मृग, थार, घोरल, बाँदर, दुम्सीजस्ता जंगली जनावर र मुनाल, प्युरा, वन कुखुरालगायत विभिन्न प्रजातिका चराचुरुंगीको वासस्थान भएको अध्यक्ष गुरुङको दाबी छ ।
भारतीय सेनामा भर्ती भएका गुरुङले भने, ‘आजभन्दा ६ दशक अघिसम्म प्रत्येक खर्कमा भैँसी, गाई, भेडाका तीनदेखि चारवटा गोठ थिए, जसमा जंगलमा चार–पाँच हजार घरपालुवा चौपाया चर्ने गर्दथे ।’
जंगलको बिचभागमा रहेको बलायखर्कमा चेतबहादुर पौडेल र उमा पौडेलले भैँसी गोठमा भविष्य खोज्दै आएका छन् । उनको गोठमा हाल सानाठुला गरेर ४० वटा भैँसी र गाई रहेका छन् भने सुरेन्द्र पौडेलले चरनमा आधारित बाख्रापालन गर्दै आएका छन् । पौडेलको खोरमा अहिले पनि एक सयभन्दा बढी बाख्रा रहेका छन् ।
अध्यक्ष गुरुङ भन्छन्, ‘विगतमा बाहिरबाट आउनेले जंगलबाट जडीबुटी संकलन र जनावरको चोरी–सिकारी हुँदा पनि सरकारीस्तरको ध्यान नपुग्नु र उपभोक्तामा अधिकार नहुँदा बर्सेनि बहुमूल्य जडीबुटी बाहिरिन्थ्यो । हाल उपभोक्ताले निगरानी राख्न थालेपछि केही नियन्त्रण भएको छ । सो क्षेत्रको करिब तीन हेक्टर क्षेत्रफलमा रहेको महत्त्वपूर्ण वनस्पति लोठसल्लो बिस्तारै पातलिँदै गएको छ । क्यान्सरको उपचारमा प्रयोग हुने उक्त वनस्पतिका पात र डाँठसमेत संकलन गरेर बोराका बोरा लैजाने गरेको स्थानीयको भनाइ छ ।
मार्की, जैमुरे, खरिकुना, ठुलोखोरिया, कुरा आँटीघर मौजा मोरियालगायत विभिन्न स्थानबाट जंगलमा प्रवेश गर्ने नाका रहेको बताउँदै उनले भने, ‘टुसा र निउरो उत्पादन हुने सिजनमा चोरी–निकासी अत्यधिक हुने गरेको छ । समूहको ऐतिहासिक प्रथम साधारणसभाले अबका दिनमा समूहको कार्ययोजना र विधानको परिधिभित्र रहेर ‘टेन्डर’ आह्वान गरी समूहको केही हदसम्म भए पनि आयआर्जन गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
वन समूहका सचिव बबिता गुरुङका अनुसार पोखराको पानीको मुख्य स्रोत रहेको सम्भवतः कास्की जिल्लाको भौगाेलिक हिसाबले सबैभन्दा ठुलो उक्त वन ६९३.५ हेक्टरमा फैलिएको सो वनमा ३१६ घरधुरी उपभोक्ता रहेका छन् । समूहले स्थायी लेखा नम्बर लिएको छ ।
वनमा प्रशस्त मात्रामा रहेको निगालोबाट माद्रो, थुन्से, नाम्लो, मोहडा, कुर्चीलगायत घरेलु सामग्री निर्माण गरिन्छ भने अल्लोबाट भांग्रा, कछाड, टोपी, थैलो, स्टकोटजस्ता कपडा निर्माण गर्दै आएको बताउँदै उनले थपे, ‘प्राकृतिक स्रोत उपयोगका लागि आवश्यक तालिमको खाँचो छ ।’
अर्मलाकोट ‘होमस्टे’का अध्यक्ष रहेका उनले भने, ‘पोखराबाट छोटो दूरीमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण चराचुरुंगी, जंगली जनावरको प्रत्यक्ष अध्ययन गर्न सकिने यस क्षेत्रको उचित प्रचारप्रसार गर्न सक्ने हो भने पर्या–पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्नाका साथै होमस्टेमा आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास छ ।’
ऐतिहासिक प्रथम वार्षिक साधारणसभा
सत्रखर्च कालीलेक सामुदायिक वन उपभोक्ता समूहको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । विगत लामो समयको निरन्तर प्रयासबाट एक वर्षअघि सामुदायिक वनका रूपमा हस्तान्तरण भएपछि वनबारे पहिलोपटक उपभोक्ताको भेला भएको हो ।
भेलाले वनको संरक्षणसहित ढलापडा काठ निकासी गर्ने, टुसा र निउरो टिप्नका लागि ‘टेन्डर’ आह्वान गर्ने, जंगलमा जाने बाटो सफा गरी सञ्चालन गर्ने, पानीका मुहान संरक्षण र व्यवस्थापनमा जोड दिनेजस्ता निर्णय गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरिप्रसाद बाँस्तोलाले साधारणसभाको उद्घाटन गर्दै प्राकृतिक स्रोतको उपयोगमार्फत स्वरोजगार सिर्जना गर्न सकिने बताए । वनको संरक्षण, संवर्द्धन, विकासमा महत्त्वपूर्ण योगदान गर्दै आएका उपभोक्ताले अब आयआर्जनसँग जोडिनुपर्ने आवश्यकता औँल्याउँदै उनले सामुदायिक वनलाई समृद्धिको आधार बनाउन तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुको विकल्प नभएको बताए ।
मुलुकमा हाल २३ हजार २६ सामुदायिक वन समूहका ३१ लाख ९५ हजार ३२३ घरपरिवारले २४ लाख २५ हजार ३९२.६० हेक्टर क्षेत्रफल वन व्यवस्थापन गर्दै आएको उनले जानकारी दिए ।
समूहका अध्यक्ष सुवेदार इन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका गण्डकी प्रदेश सदस्य जितबहादुर बस्नेत, समूहका कर्णबहादुर गुरुङ, सिमबहादुर गुरुङ, हेमु परियार, शेरजंग गुरुङ, झलश्री गुरुङ, श्री सीता आधारभूत विद्यालयका प्रधानाध्यापक सीता विश्वकर्मालगायतले वन क्षेत्रमा स्थानीय बासिन्दाको भूमिका र वातावरणीय प्रभावका सम्बन्धमा चर्चा गरेका थिए । सामुदायिक वन अभियानले तीन दशक पार गरे पनि यस समूहका उपभोक्ताले भने पहिलोपटक सामुदायिक वनको अनुभव गर्न पाएका छन् । रासस