काठमाडौं । कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औँ परराष्ट्र सचिवका रूपमा बुधबार अपराह्नदेखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
“हाम्रो देश चुनौती र अवरको दोसाँधमा छ । ती चुनौतीको सामना गर्दै अवसरलाई राष्ट्रको हितमा उपयोग गर्न निष्ठापूर्वक लाग्नेछु”, परराष्ट्र सचिवको कार्यभार सम्हालेपछि उनले बिहीबार बिहान भने । देशलाई समृद्धिको दिशामा अग्रसर गराउन आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता पनि सचिव राईले व्यक्त गरे ।
सन् १९९६ मा निजामती सेवामा प्रवेश गरेका परराष्ट्र सचिव राई सन् २००५ मा उपसचिवका रूपमा परराष्ट्र सेवामा प्रवेश गरेका । उनले परराष्ट्र मन्त्रालयमा संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय सङ्गठनहरू र अन्तर्राष्ट्रिय कानुन महाशाखाको सहसचिवका रूपमा सेवा गरेका थिए ।
मार्च २०१९ देखि जुन २०२३ सम्म उनि संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि तथा डिसेम्बर २०१४ देखि डिसेम्बर २०१८ सम्म दक्षिण अफ्रिकाका लागि नेपालको राजदूत थिए । कायममुकायम सचिव हुनुअघि उनले परराष्ट्र मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी पनि सम्हालेका थिए।
सार्वजनिक सेवाको प्रारम्भिक वर्षमा सचिव राईले सन् २००३ देखि २००५ सम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सन् २००२ देखि २००३ सम्म सामान्य प्रशासन मन्त्रालयमा सेवा गरेका थिए ।
सन् १९९६ मा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा शाखा अधिकृतको रुपमा उनले निजामती सेवा प्रारम्भ गरेका हुन् ।
सन् १९७० मा सङ्खुवासभाको चिचिला गाउँपालिकामा जन्मिएका परराष्ट्र सचिव राईले जर्मनीको पोट्सडाम विश्वविद्यालयबाट सार्वजनिक व्यवस्थापन र त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक प्रशासनमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले उनलाई परराष्ट्र सचिवमा पदोन्नति गरेको हो ।