काठमाडौं । प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री वितरण गरेको पाइए स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले कारबाही गर्ने भएको छ ।
विभागले औषधिपुरक सामग्री बिक्री वितरणसम्बन्धी सूचना जारी गर्दै विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री वितरण भइरहेको पाइएकाले यस्ता औषधि बिक्री वितरण अविलम्ब रोक्न आग्रह गरेको हो । विभागका हानिर्देशक नारायणप्रसाद ढकालले विभागको स्वीकृतिविना आयात भएका यस प्रकारका औषधिको सुरक्षा, गुणस्तरीयता र मूल्य सार्थकता यकीन नहुने हुँदा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम सृजना भएको बताए ।
विभागमा दर्ता भएका औषधिसँगको सक्रिय तत्व र ‘ब्रान्ड’सँग दुरुस्त मिल्दोजुल्दो हुने र देखिने गरी न्युट्रास्युटिकल्स तथा सौन्दर्य प्रशोधनका नाममा विभागमा दर्ता नै नगरी आयात गरी औषधि पसलमार्फत उपलब्ध गराउँदा चिकित्सक तथा स्वास्थ्यकर्मी र बिरामीमा भ्रम सृजना भएको विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
फर्माको पियामा (औषधिको आधिकारिक विवरण भएको पुस्तिका) मा उल्लेख भएका र उपचारमा प्रयोग हुने भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल वनावट (ट्याब्लेट, क्याप्सुल, झोलहरू) का औषधि न्युट्रास्युटिकल्सका नाममा र औषधि मिश्रित मलहम, क्रिमहरू, सौन्दर्य प्रशोधन सामग्रीका नाममा आयात गरी बिक्री वितरण भइरहेको गुनासो आएकामा बजार अनुगमन तथा निरीक्षण गर्दा विभागमा दर्ता नभएका ती औषधि चिकित्सकको सिफारिसमा पूर्जामार्फत औषधि पसलबाट बिक्री वितरण भइरहेको पाइएको सूचनामा उल्लेख छ ।
सूचनाको अवज्ञा गरी त्यस्ता उत्पादनहरू निरीक्षणको क्रममा बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार जफत तथा औषधि ऐन, २०३५ बमोजिम कारबाही गरिने विभागले जनाएको छ । औषधि ऐन, २०३५ र सो अन्तर्गत बनेका नियमावली अनुसार औषधि बिक्री वितरण गर्न प्रमाणपत्र लिएको व्यक्तिले ऐनको दफा ८ (क) बमोजिम विभागमा दर्ता रहेको औषधि मात्र बिक्री–वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।