काठमाडौं । आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ ।
यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न उहाँ सफल भएका थिए । पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई बिस्तार गरेको इतिहास छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौँ उपत्यका विजय हासिल गरे । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गर्नुभएका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ । यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिने जनाइएको छ । प्रत्येक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम आयोजना गरिन्छ ।
पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शकः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणका लागि मार्गदर्शक भएको बताका छन् ।
राष्ट्रिय एकता दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदानलाई हामीले बिर्सन हुँदैन स्पष्ट गरेका छन्।
“पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको र सो अभियानलाई इतिहासको विभिन्न कालखण्डमा हाम्रा वीर पुर्खाहरूले निरन्तरता दिएको कारणले हामीले आज सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ,” राष्ट्रपति पौडेलले आफ्नो सन्देशमा भने, “यही आधारभूमीमा टेकेर हामीले नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य भनेर घोषणा गरिसकेका छौँ । स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदानलाई हामीले बिर्सन हुँदैन ।”
पृथ्वीनारायण शाहलाई सम्झना गर्दा उनको दिव्योपदेशको पनि सम्झना गर्नुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले लोकप्रिय र सान्दर्भिक दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रहरूसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकको रूपमा रहेको बताएका छन्।
“राष्ट्रिय एकता दिवसको यस अवसरले हाम्रो मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न सबैमा प्रेरणा प्रदान गरोस्,” राष्ट्रपति पौडेलले भने, “नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
प्रधानमन्त्री ओलीद्वारा शाहप्रति सम्मान प्रकट
प्रधानमन्त्री केपी शर्मा ओलीले ३०३ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल एकीकरणका अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गरेका छन्।
एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले शाहसँगै त्यस अभियानमा योगदान दिनुभएका सबै पुर्खाहरूको स्मरण गर्दै उहाँहरूप्रति सम्मान व्यक्त गरे ।
उहाँले आफ्नो सामाजिक सञ्जालमार्फत दिनुभएको सन्देशमा भन्नुभएको छ, “राज्य एकीकरणको नेतृत्व गर्नुहुने शाह र त्यस अभियानमा आफ्नो ज्यानको प्रवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।”
पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय एकता दिवस तथा ३०३औँ पृथ्वी जयन्तीको अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।
शनिबार सामाजिक सञ्जाल ट्वीटर पेजमा लेख्नु हुँदै पूर्वराष्ट्रपति भण्डारीले तत्कालीन गोरखा राज्यका राजा, आधुनिक नेपाल एकीकरण अभियानका नायक पूर्वराजा पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गरिन्।
“राष्ट्रिय एकता दिवसले नेपाल एकीकरण अभियानको गौरवमय इतिहासको स्मरण गराउँदै राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको अनवरत रक्षा तथा सुदृढीकरण गरी ‘समृद्ध नेपाल सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्पलाई साकार पार्न एकजुट भई अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु”, उनले ट्वीटर पेजमा लेखेकी छन् ।