काठमाडौं । सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा (थियटर स्क्रीन) रहेका छन् । चिनियाँ फिल्मकर्मीको भनाइलाई आधार मान्ने हो भने फिल्मको लागि विश्वकै ठूलो बजार चीन हो ।
त्यहाँ एक वर्षमा विदेशी फिल्म प्रदर्शन हुन् पाउनेको संख्या ३४ मात्र रहेको छ । भारतकै सर्वाधिक व्यापार गर्ने फिल्म ‘दङ्गल’ पनि चीनमा प्रदर्शन भएकै कारण इतिहास रच्न सफल भएको थियो ।
भारतीय मात्र नभई अमेरिकन (हलिउड) फिल्म पनि न्यून मात्रमा चीनमा प्रदर्शन हुने गरेको छ । त्यहाँ नेपाली फिल्म प्रदर्शन गर्न सकिने अवस्था छ त? नेपालमा पहिलोपटक पुस २५ मा चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानद्वारा संयुक्तरूपमा आयोजित एकदिवसीय ‘चीन फिल्म दिवस’ सहभागी हुन् आएका वितरक कम्पनी टाइगर पिक्चर्स इन्टरटेनमेन्टका उपप्रमुख (भाइस प्रेसिडेन्ट) ओवेन यङले पछिल्ला केही वर्षमा नेपाली फिल्मले राम्रो गरिरहेको आफूले थाहा पाएको बताए ।
उनले भने, ‘मैले हङकङ र अमेरिकाको बजारमा नेपाली फिल्मको बारेमा सुनेको छु । विशेषत द्वन्द्व प्रधान र सामाजिक ‘ड्रामा’ भएका फिल्ममा स्तरीयता थपिएको मैले महसुस गरें । यसकारण नेपाली फिल्मको भविष्य निकै राम्रो छ भन्ने मैले महसुस गरेको छु । यस्तै महोत्सवमार्फत हामीले कला र संस्कृतिसँगै एक आपसमा फिल्म बजार खोज्न सक्छौँ । नेपालीका लागि चीनको बजार नयाँ छ भने हाम्रो लागि नेपालको बजार पनि नयाँ नै छ ।’
उनले चीनका दर्शकले रोमान्टिक, एक्सन र थ्रिलर विधाका फिल्म रुचाउने जानकारी दिए । विशेषत आउँदो मार्च महिनामा हङकङ र चीनकै बेइजिङमा हुने फिल्म महोत्सवमा सहभागी भएर नेपाली फिल्मको प्रचार गर्नुकासाथै स्थानीय वितरक र प्रदर्शकसँग भेटघाट गर्न सकिने उनले बताए ।
‘चीनमा प्रदर्शन भएका विदेशी फिल्मले राम्रो फाइदा लिएका छन् । यसकारण नेपाली फिल्मकर्मी त्यहाँ पुगेर स्थानीय वितरकसँग सहकार्य गर्न सकेमा नयाँ सम्भावनालाई नकार्न सकिँदैन । विशेषत फिल्मको छायाँकन अगावै त्यहाँ पुगेर स्थानीयलाई भेट्नु उपयुक्त हुन्छ । किनकि स्थानीयको सहभागिताले प्रदर्शनमा सहजता दिनेछ’, उनले भने ।
वितरक यङले निकट भविष्यमा नेपाली फिल्मकर्मीसँग सहकार्य हुने विश्वास व्यक्त गरे । चाइना फिल्म प्रसाशन (फिल्म एडमिनिस्ट्रेसन) का अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङले गत वर्ष (सन् २०२४)मा नेपालमा ‘पूर्णबहादुरको सारङ्गी’ र ‘१२ गाउँ’जस्ता फिल्म सफल भएकाले चीनको बजारतर्फ प्रयाश गर्न नेपाली फिल्मकर्मीलाई आग्रह गरे ।
उनले भने, ‘हाम्रो चिनियाँ फिल्म उद्योग सबैका लागि खुल्ला छ, हामी सबैलाई अवसर दिने गरेका छौँ । यस्ता महोत्सवले हाम्रो दुई देशको फिल्मलाई आदानप्रदान गर्ने विश्वाश लिएको छु । नेपाली फिल्मकर्मीले प्रयास गर्नुभएमा चीन पनि नेपाली फिल्मका लागि बजार बन्न सक्नेछ । यसका लागि दुई देशबीच यस्तै महोत्सव हुनु आवश्यक छ ।’
उनले चिनियाँ फिल्म नेपालमा छायाँकनका लागि आउने र नेपालको सुन्दरतालाई विश्वभर पर्याउने गरेको बताए । उनले चिनियाँ फिल्मले नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका निर्वाह गर्दै आएकोमा जोड दिए । नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा फिल्म निर्देशक केपी पाठकले नेपाली फिल्मकर्मीका लागि चीनमा बजार खोज्ने सम्भावनालाई गति दिने काम ‘चीन फिल्म दिवस’ ले गरेकोमा जोड दिए ।
उनले भने, ‘चीनका फिल्म यहाँ प्रदर्शन भएका थिएनन्, यस किसिमको कार्यक्रम पहिलोपटक भएको छ । यसले दुई देशबीच सामीप्यता बढाउने मात्र नभई फिल्म आदानप्रदानका लागि संवाद गर्ने अवस्था सिर्जना गरेको छ । हामीले त्यहाँ केही फिल्मलाई पुर्याउन सकेमा हाम्रो फिल्म उद्योग नयाँ युगमा प्रवेश गर्नेछ । नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ ।’
एकदिवसीय ‘चीन फिल्म दिवस’का लागि प्रसिद्ध अभिनेत्री यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभागका उपनिर्देशक झेङ झेङ, निर्देशक जिङ जिआओ, पटकथा लेखक लु वेइ, निर्देशक झाङ गुदोङ, निर्देशक झाङ युडीसहित १४ चिनियाँ फिल्मकर्मी नेपाल आएका थिए ।