काठमाडौं । हावा चल्ने क्रम नरोकिएपछि अमेरिकाको क्यालिफोर्निया राज्यमा आगलागी झनै बढेको छ । विगत ६ दिनयता जारी आगलागीमा परेर अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ । १३ जना बेपत्ता छन् ।
लस एन्जलस वरपरमात्र अहिले चारवटा जंगलमा आगो लागिरहेको छ । त्यहाँ ८० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलिरहेकाले आगलागी तत्काल नियन्त्रणमा ल्याउन कठिन रहेको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संस्थाहरूले बताएका छन् ।
आगामी १२ घण्टाभित्र हावाको गति अझै बढ्ने पूर्वानुमान गरिएको छ । आगलागी नियन्त्रणमा सहयोग गर्न छिमेकी देशहरूले समेत नियन्त्रकहरू पठाउन थालेका छन् । क्यानाडा र मेक्सिकोबाट नियन्त्रकहरू क्यालिफोर्निया पुगेका छन् ।
क्यालिफोर्नियाका छिमेकी राज्यहरू टेक्सास, न्यू मेक्सिको, कोलोराडो, उटा, नेभाडा, एरिजोना, ओरेगन र वाशिंगटनले पनि लस एन्जलसमा अग्नि नियन्त्रकहरू पठाएका छन् ।
आगलागीबाट आफ्नो घरसहितको भौतिक सम्पत्ति गुमाएका लस एन्जलसवासीले पुनर्निर्माणको प्रयास सुरु गरिसकेका छन् । आफ्नो घरको भग्नावशेषभित्र विभिन्न सामग्रीहरू खोज्न सुरु गरेको समाचारहरूमा उल्लेख छ ।
आगलागीबाट मालिबुमा मात्रै पूर्वी क्षेत्रमा एक तिहाइ भाग नष्ट भएको छ । आगलागीबाट अहिलेसम्म १३५ अर्ब डलर बराबरको क्षति भएको अनुमान गरिएको छ । एजेन्सी