काठमाडौं । कार्यालय पोशाक र कार्यालयभित्र सरकारी कर्मचारीले भिडियो बनाएर सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरेको विषय आलोचना भएपछि सरकारले अंकुश लगाउने भएको छ ।
सरकारी कर्मचारीले सरकारी पोशाकमा टिकटक बनाएर पोस्ट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल हुनुका साथै आलोचना भएपछि सरकारले यस्तो तयारी गरेको हो ।
कर्मचारीको औपचारिक पोसाकमै, कार्यालयसँग सम्बन्धित गतिविधिहरू टिकटकमा निर्बाध रूप प्रसारण गर्न थालेपछि सरकारले कर्मचारीका त्यस्ता गतिविधिमाथि अंकुश लगाउन थालेको हो । टिकटकमा रमाउने कर्मचारीलाई मन्त्रालयहरूले लगाम लगाउन थालेका छन् ।
राष्ट्रसेवक कर्मचारीहरूले कार्यालयभित्रै अशोभनीय र उच्छृङ्खल किसिमका टिकटक पोस्ट गर्न थालेको भन्दै सार्वजनिक रुपमा आलोचना भएपछि विभिन्न मन्त्रालयले कार्यालयभित्र टिकटक बनाउन रोक लगाएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गृह मन्त्रालयलगायतले हालै परिपत्रमार्फत कार्यालयभित्र र कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएका छन् ।
सर्वसाधारणको गुनासो सुन्न सरकारले खडा गरेको संयन्त्र 'हेलो सरकार'मा परेका उजुरीका आधारमा हाल विभिन्न मन्त्रालयले मातहतका कर्मचारीका लागि टिकटक प्रयोगसम्बन्धी निर्देशन नै जारी गरेका हुन् । 'कार्यालयभित्र टिकटक नबनाउन हामीले कर्मचारीलाई निर्देशन दिएका छौँ', संघीय मामिला मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले भने, 'केही कर्मचारीले बनाएका टिकटकका विषयवस्तुबारे गुनासो आएपछि यस्तो निर्देशन दिएका हौँ ।'
गृहले जारी गर्यो सात बुँदे निर्देशन
यसैबीच गृह मन्त्रालयले पनि गत १९ जेठमा यस्तै निर्देशन दिएको छ । सचिवस्तरीय निर्णयअनुसार गृहले सात बुँदे निर्देशन जारी गरेको हो । 'गृह मन्त्रालय मातहत कार्यरत केही वरिष्ठ अधिकारीले अनुपयुक्त, अव्यावसायिक गतिविधि तथा पदको गम्भीरता र महत्वलाई ध्यान नदिई टिकटकमा अनावश्यक र उच्छृङ्खल किसिमका भिडियोहरू पोस्ट गर्ने गरेको भन्ने ब्यहोराको गुनासो प्राप्त भएको'ले यस्तो निर्देशन जारी गरिएको गृहले जनाएको छ । गृहको उक्त निर्देशनको पहिलो बुँदामा 'कार्यालय समयमा, कार्यालय परिसरभित्र र कर्मचारी पोसाकमा टिकटकजस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्ने' उल्लेख छ ।
त्यस्तै, सरकारी सवारीसाधनको प्रयोग गरेर, कार्यालयसँग सम्बन्धित संवेदनशील कामकारबाहीको जानकारी दिन नहुने निर्देशनमा उल्लेख छ । कार्यालयको कामकारबाहीको विवरण जानकारी गराउँदा व्यक्तिगत प्रचार–प्रसार र जस लिने आशयले पनि गर्न नपाइने निर्देशन छ । 'आफ्नो नियमित कर्तव्यभित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई अनावश्यक तन्काएर विज्ञापन गरेजस्तो देखिने गरी व्यक्तिगत सञ्जालमा समेत नराख्ने', पाँचौँ नम्बर बुँदामा भनिएको छ ।
पदीय जिम्मेवारीलाई नकारात्मक प्रभाव पार्ने खालका विषयवस्तु सामाजिक सञ्जालमा राख्न नपाइने गृहको निर्देशनमा छ । निर्देशन पालना गरे–नगरेको विषयमा मन्त्रालयले अनुगमनसमेत गर्ने प्रवक्ता जितेन्द्र बस्नेतले बताए । 'यो कर्मचारीको अनुशासनसँग सम्बन्धित विषय हो', उनले भने, 'टिकटक बनाउनतर्फ लागेर सेवा प्रवाहमा पनि असर नपरोस् भनेर कार्यालयभित्र नबनाउन भनेका हौँ । हामी नियमित अनुगमन पनि गर्छौँ ।'
सुरक्षा निकायहरूले पहिलेदेखि नै पोसाक लगाएर खिचिएको फोटो र भिडियो राख्न नपाउने नियम लागू गरेका छन् । युनिफर्म लगाएर तथा कार्यालयमा फोटो–भिडियो खिचेर पोस्ट गर्ने सुरक्षाकर्मी त कारबाहीमा समेत पर्दै आएका छन् ।
- नयाँपत्रिकाबाट