काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका वडा नं.३ का स्थानीय बासिन्दा विजयकुमार शर्मा ३४ वर्षको उमेरमा निजामती सेवामा प्रवेश गरेका हुन् । शाखा अधिकृतबाट उपसचिवको परीक्षा दिँदा नेपालभरिमा एक नम्बरमा नाम निकालेका उनी भक्तपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन् ।
शर्मा गौरीगञ्ज गाउँपालिकाबाटै पहिलो उपसचिव हुन् । शर्माको पालिकाबाट ३ जना शाखा अधिकृतहरू थिए । निजामती सेवामा प्रवेश गर्नुअघि शर्माले काठमाडौंको विभिन्न कलेजहरूमा १३ वर्ष अध्यापन गरेका थिए । उनले नेशनल स्कुलको प्राध्यापकको कार्यभार समेत सम्हाले ।
सोही दौरानमा रौतहटका एक जना लेखापाल साथीले निजामती सेवामा प्रवेश गर्न शर्मालाई प्रोत्साहित गरे । साथीले दिएको सुझावअनुसार उनले एकपटक प्रयास गर्ने विचार गरे । साथीको सुझाव बमोजिम ०७४ सालमा लोक सेवाको परीक्षा दिएर ०७५ सालमा उनी शाखा अधिकृतमा नाम निकालेर निजामती सेवाको यात्रा प्रारम्भ गरेका हुन् ।
यसरी सुरु गरे निजामती यात्रा
शर्मा ०७५ सालमा झापाको अर्जुनधारा नगरपालिकामा समायोजन भएर ७औं स्तरको अधिकृतमा सिफारिस भए । पुनः समायोजन भएर झापाकै गौरादह नगरपालिकामा काम गरेका उनी ०७७ सालमा भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा काम गर्न पुगेका हुन् ।
०७८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासमा करिब ९ महिना काम गरेर उनले ०७९ साल वैशाखमा टंगालमा भएको अख्तियारको केन्द्रीय कार्यालयमा शाखा अधिकृतको कार्यभार सम्हालेका हुन् ।
निजामती सेवामा ४ वर्ष बिताइसकेका शर्माले सोही दौरान समावेशी समूहबाट ४ वर्षको कार्यकाल पुरा गरी (१ वर्ष नपुग्दै) उपसचिव पदमा खुल्ला प्रतिस्पर्धा गर्ने अवसर पाए । उनले शाखा अधिकृतमा नियुक्त भएको ४ वर्षमा उपसचिवको फर्म भरेका हुन् ।
०८० सालमा नेपालभरबाट उनले उपसचिवको एक नम्बरमा नाम निकाल्न सफल भएका हुन् । उनी हाल भक्तपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छन् ।
भक्तपुरमा नियुक्त हुनुभन्दा दुई महिना अघिबाटै प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त थियो । अधिकृत नभएपछि नगरपालिकाको बजेट भुक्तानीका कामहरू विधाराधीन अवस्थामा थिए । बजेट पेस गर्ने म्यादको अन्तिम समय आइसकेको हुनाले बजेटहरू फ्रिज भएका थिए । शर्माको नियुक्ति भएसँगै भक्तपुरमा रोकिएका कामहरूले पुनः लय समाउन थालेको उनी बताउँछन् । दैनिक हिसाबकिताबमा भुक्तानीहरू सुचारु भएका छन् । भक्तपुर नगरपालिकामा अन्य नगरपालिकाभन्दा बढी बजेट भएकोले आगामी आर्थिक वर्षको बजेटमा बन्ने योजनाहरूमा नयाँ–नयाँ सोच राखेर अगाडी बढाइएको छ ।
पछिल्लो समयमा टुक्रे तथा साना–साना योजनाहरू सञ्चालन गर्दा विकास निर्माणले द्रुत गति लिन सकेको थिएन । भक्तपुर नगरपालिकामा यी कुरालाई सुधार गर्दै लगेको शर्मा बताउँछन् । उनी आफैले बजेट तयार गरी ठुला–ठुला योजनाहरू सञ्चालन गर्ने तयारीमा रहेको समेत बताए ।
सभा भवनको लागी दश करोड, सिटी स्क्यान खरिदका लागि आठ करोड आदी योजनाहरू यो वर्षका छुट्याइएको उनले बताए । बजेट कार्यक्रममा बढी सहभागिता रहोस् भन्ने ध्येयले विभिन्न आठ वटा बैठकहरूमा छलफल गरी बजेट पारित गर्ने नयाँ अभ्यास थालिएको छ ।
नगरपालिका भित्रै विवादहरूको व्यवस्थापन
भक्तपुर नगरपालिकामा विवादका कुराहरू त्यति देखा परेका छैनन् । नगरपालिकामा देखिने व्यक्ति–व्यक्तिबीचको विवादका लागि न्यायिक समिति हेर्दै आएको छ । पालिकाहरूमा उपप्रमुख/उपाध्यक्ष न्यायिक समितिको संयोजक रहने व्यवस्था छ । समितिले नै स्थानीय स्तरमा देखिने विवादहरूको सुनुवाइ गर्ने गर्छ । सामान्य विवादहरू वडा मेलमिलाप केन्द्रबाट पनि हल गर्ने गरिएको शर्माले बताए ।
भक्तपुरमा एउटै राजनीतिक दल बढी सक्रिय हुने भएकाले विवादका धेरै कुराहरू सुन्नमा नआएको उनले बताए । कर्मचारीहरूबीचमा पनि अहिलेसम्म केही विवाद देखिएको छैन । यद्यपि विवाद देखिएको खण्डमा यसको बारेमा प्रमुख प्रशासकीय अधिकृतले गुनासो सुन्ने र हल गर्ने काम गर्दछन् । नगरपालिकामा आएका केही विवाद न्यायिक समितिबाट हल गर्ने गरिन्छ ।
वडा स्तरमा स्थानीय आवश्यकताहरूको पहिचान हुन्छ । वडाले नै छलफल गरेर आवश्यकता अनुसारका माग नगरपालिकामा गर्ने गर्छन् । वडाबाट आएका जायज मागहरूका लागि नगरपालिकाले आफ्नो क्षमताअनुसार जिम्मेवारीपूर्वक उचित सम्बोधन गर्न आवश्यक स्रोतसाधन र बजेटहरूको व्यवस्थापन गरी समाधान गर्ने गरेको उनले बताए ।
नगर स्तरमा नै प्रभाव पार्ने मागहरूको हकमा नगर कार्यपालिकाको बैठकमा नगरप्रमुख मार्फत उचित निर्णय गर्ने गरिएको छ । नगर कार्यपालिकाबाट आएका प्रत्येक मागहरूलाई विचार गरेर बजेट निकास गरिन्छ ।
पारदर्शिता र उत्तरदायी नगरपालिका बनाउने प्रयत्न
भक्तपुर नगरपालिका आफैँ पनि भ्रष्टाचार विरोधी नगरपालिका भएको शर्माको दाबी छ । 'यो नगरपालिका पारदर्शिताको सन्दर्भमा पनि उच्च स्थानमा रहेको छ । प्रत्येक दिन भएको कामकारबाहीलाई हामीले वेबसाइट र पत्रिका मार्फत प्रसारण गर्ने गरेका छौं । जसमार्फत १५ दिनको समयावधिमा नगरपालिकाले गरेका कामकारबाही प्रकाशन गर्ने गरिन्छ', उनी भन्छन्, 'हाम्रो खर्चहरू पनि नगर कार्यपालिकाको बैठकमा पेस गरेर मात्रै भुक्तानी दिने र रिपोट निकालेर वेब साइटमा प्रकाशन गर्ने गर्छौं । नगरपालिकाको भुक्तानीमा गडबड भएमा सम्बन्धित कर्मचारीहरूसँग स्पष्टीकरण लिने र कारबाही अघि बढाउने गरेका छौं । भक्तपुर नगरपालिकामा कर्मचारीहरूले आफ्नो नैतिकता बाहिर गएर काम गरेको घटना छैन ।'
यस्ता छन् चुनौतीहरू
अन्य नगरपालिकाको दाँजोमा भक्तपुर नगरपालिकाको कार्यशैली फरक लागेको शर्मा बताउँछन् । सुरुमा उक्त कार्यशैलीमा समायोजन हुन केही चुनौतीहरू पनि आएको बताउँदै उनले प्रशासन र राजनीतिलाई समन्वय गरी अघि बढाउन समस्या भएको उनले बताए ।
'दुई महिनादेखि बाँकी रहेका भुक्तानी गर्न, छोटो समयमा बजेटहरू सुचारु गर्नसाथ विभिन्न योजनाहरू सम्पन्न गर्न चुनौती थियो । जनप्रतिनिधीहरूलाई पनि तत्काल कार्यपालिकाको बैठक राखेर छलफल तथा समन्वयन गर्ने गरियो', शर्माले भने, 'मेरा योजनाअनुसार भएका कार्यहरू सफलतापूर्वक नै सम्पन्न भएका छन् । असार २४ गतेका दिन अन्य पालिकाहरूले १२ बजे रातीसम्म चेक काट्दा हामी चाहिँ ६ बजे घर गएर आरामले सुतेका थियौँ ।'
यसरी सुधारिँदै छ नगरवासीको जीवनस्तर
नगरवासीको जीवनस्तर माथि उठाउन नगरवासीको मागअनुसार नगरपालिकाले विभिन्न तालिमहरू सञ्चालन गरिरहेको छ । शिक्षालाई जोड दिन नगरपालिकाले शिशु केन्द्र सञ्चालन गर्दै आएको छ । नर्सरी पढ्नको लागि पनि वडाहरूको प्रायः प्रतिष्ठानमा शिशु स्याहार केन्द्रहरू सञ्चालन भइरहेका छन् ।
स्कुलको सन्दर्भमा पनि भक्तपुर नगरपालिकाले चलाएको सामुदायिक स्कुल 'ख्वप माध्यमिक विद्यालय' रहेको छ । जुन नेपालको दोस्रो नम्बरमा पर्ने सामुदायिक विद्यालय समेत हो ।
स्वास्थ्यको सन्दर्भमा पनि नगरपालिकाले एक सय बेडका अस्पताल सञ्चालन गरेको छ । भक्तपुर नगरपालिका सय बेडको अस्पताल सञ्चालन गर्ने पहिलो पालिका समेत हो । अस्पताल लगायत पोलिक्लिनिक लगायतका संस्थान पनि रहेका छन् । त्यसरी नै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्यको प्रत्याभूति दिन हर सम्भव प्रयास गरिरहेको शर्माको भनाई छ ।
सांस्कृतिक नगरपालिका भएकाले सांस्कृतिक परिवर्तनका लागि भूकम्प पछिका पुनः निर्माण गर्न भक्तपुरले ठुलो बजेट खर्च गरेको छ ।
सरसफाइका सन्दर्भमा पनि भक्तपुरलाई सुन्दर राख्न नगरपालिकाले हरेक घरबाट हप्तामा तीन पटक फोहोर उठाउँदै आएको छ । उक्त फोहोर नगरपालिका भित्र नै व्यवस्थापन गर्ने गरिएको छ । त्यही फोहरबाट मल बनाएर बिक्री समेत गरिरहेको उनले बताए ।
बाटा–घाटा जस्ता मौलिक संस्कृतिको संरक्षण गर्न ढुङ्गा छपाई, इट्टा छपाई गर्ने र पिप कम मात्रामा गर्ने काम भक्तपुर नगरपालिकाले गरिरहेको छ । किनभने ढलान गर्दा जमिनमा पानी नपुग्ने भएकाले त्यस्तो गरिएको हो ।
नगरपालिकाभित्र बेरोजगारी जस्ता सामाजिक समस्याहरू समाधान गर्न भक्तपुर नगरपालिकाले विभिन्न योजनाहरू ल्याउने तयारीमा छ ।
स्थानीय सीप, संस्कृति र यहाँको मौलिक कुराहरूलाई प्रोत्साहन गरिने भक्तपुर नगरपालिकाको भनाई छ । हस्त कला जस्ता कुरालाई प्रोत्साहन गर्ने नीति लिइएका शर्माले बताए । भक्तपुर पर्यटकसँग पनि प्रत्यक्ष जोडिएको नगरपालिका हो । जहाँ हरेक वर्ष ८६००० बढी पर्यटकहरू आउने गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, 'ती पर्यटकहरूले गर्ने खर्चहरू के–के हुन् भनेर त्यतातिर ध्यान दिएर पर्यटकले रुचि राख्ने खालका पसलहरूबाट आर्थिक वृद्धिमा ध्यान दिएका छौँ ।'
त्यसैगरी पढेर केही काम गर्न चाहनेका लागि शैक्षिक लोनको व्यवस्था समेत भक्तपुर नगरपालिकाले गरेको छ । बुटिक, ब्यूटिसियन, हेयर कटिङ जस्ता व्यवसायमूलक तालिमहरू, चाइनिज, जापनिज, कोरियन लगायतका भाषा कक्षाहरू समेत सञ्चालन गर्न नगरपालिकाले आफै प्रशिक्षकको व्यवस्था गरेको छ । भाषा सिकाएर त्यही क्षेत्रमा काम गर्नका लागि सहजीकरण गरिएको नगरपालिकाको दाबी छ ।
नगरपालिकाभित्र भएको दिगोपन र वातावरण संरक्षण सम्बन्धी समस्याहरू सम्बोधन गर्न सरसफाई विभागबाट आएको फोहोरलाई कुहिने र नकुहिने गरी दुई भागमा विभाजन गर्ने गरिएको छ । उक्त फोहरलाई रिसाइकल गरेर कम्पोस्ट मल बनाउने समेत नगरपालिका आफैले गर्छ ।
प्रत्येक वडामा ६० हजार बिरुवा पठाएर हरियाली प्रवर्द्धन गर्ने काम नगरपालिकाले गरेको छ । प्रदूषणजन्य समस्या उत्पन्न भएमा नगरपालिकाले तत्काल रोकथाम गर्ने र वातावरणको संरक्षण गर्ने गर्दै आएको छ ।
भक्तपुर नगरपालिकाले आफैँले व्यवस्थित बसोबासका लागि प्लानिङ गर्दै आएको छ । नगरपालिकाले कमल विनायकमा प्लानिङ गरिसकेको छ । अहिले डेकोचामा पनि प्लानिङ गर्ने काम सञ्चालन भइरहेको छ । त्यहाँ भएको जग्गाहरू आफ्नै नियन्त्रणमा लिएर ढल, बिजुली, पानी जस्ता कुराको व्यवस्थापन गरी पुनः जनतामा 'ओपन स्पेस'हरू राख्ने नगरपालिकाको तयारी छ । ती ठाउँहरूमा पूर्वाधार विकास गरेर फिर्ता दिनेगरि नगरपालिका अगाडी बढेको छ ।
भक्तपुर नगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गरेर प्रायः जसो ठाउँहरूमा सिसिटिभीको जडान समेत गरेको छ । प्रत्येक नाकाहरूमा पर्यटन कर्मचारीहरू राखिएको शर्माले बताए । जसले नगरपालिका क्षेत्रमा हुनसक्ने अवाञ्छित क्रियाकलाप रोक्न मद्दत गरेको उनको भनाई छ ।
त्यसैगरी प्रत्येक वडामा एक–एक जना निरीक्षक समेत भक्तपुरले राखेको छ । 'वडा निरीक्षकको सहायताले वडाभरका गतिविधिको जानकारी राख्छौ । जनप्रतिनिधिहरूले पनि आउने जाने समयमा निगरानी राख्नुहुन्छ । जनताका गुनासो सुन्नको लागि पनि हामीले फोन नम्बर सार्वजनिक गरेका छौँ । यी सबै प्रतिवेदन प्रणालीबाट सुरक्षाको व्यवस्थापन गर्ने गरेका छौँ', शर्माले भने ।
भक्तपुर नगपालिका क्षेत्रमा भू-भाग धेरै भएपनि कृषि कर्म गर्न जनसंख्या अत्यन्त न्यून छ । ती कृषकलाई लक्षित गरेर नगरपालिकाले सरकारबाट प्राप्त भएका मल, बिउँ, खादहरूको वितरणमा सहजीकरण गर्दै आएको छ ।
उनले भने, 'हामीले किसानको सूचीकरण पनि गर्दै आएका छौँ । यस कार्यक्रमबाट असली किसानको पहिचान हुने र तथ्याङ्क लिएर किसानलाई के गर्दा सहजीकरण हुने भन्नेबारे विभिन्न कार्यक्रमहरू सम्पादन गर्दै आएका छौँ ।'
प्रत्येक नगरपालिकाले आफ्नो भविष्यको विकासबारे नीति तथा कार्यक्रमबाट नै योजना बनाउने गर्दछ । सोही अन्तर्गत भक्तपुरले 'एक घर एक स्नातक'को परिकल्पना गरेको छ । 'प्रत्येक घरबाट एक जना विद्यार्थीले स्नातक पढेको हुनुपर्छ भन्ने हिसाबले शैक्षिक लोनको व्यवस्था गरेका छौँ । प्रत्येक नागरिकको स्वास्थ्यको प्रत्युक्ति गर्नको लागि घर–घरमा एक नर्सले गएर चेक जाँच गर्ने व्यवस्था नगरपालिकाले गरेको छ । हाम्रो नगरमा प्राविधिक शिक्षा मात्र होइन, राजनीतिक विज्ञानको अध्ययनका लागि पाँच लाख सम्मको छात्रवृत्तिको व्यवस्था गरेका छौँ ।'
शिक्षा, स्वास्थ्य, संस्कृतिका साथै पुरानो भवनहरूको संरक्षणमा पनि नगरपालिकाले जोड दिएको छ । प्रमुख प्रशासकीय अधिकृत शर्माले भने, 'पुराना डिजाइनको भवन बनाउनेहरूलाई हामीले ३५ प्रतिशत सम्मको अनुदान दिने गरेका छौँ । यसै वर्ष ६४ लाख बजेट विभिन्न परिवारहरूलाई वितरण गरेका छौँ ।'