काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले नयाँ पुस्तालाई राजनीतिमा जोड्न नसक्ने राजनीतिक दलले देशका लागि काम गर्न नसक्ने धारणा व्यक्त गरेका छन् । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा आज यहाँ आयोजित राष्ट्रिय कार्यकर्ता भेलामा उनले एमाले युवामा भरोसा गर्ने र युवालाई अवसर दिने पार्टी भएको उल्लेख गर्दै पोखरेलले देश बनाउने अभियानको अगुवाइ युवाहरुले गर्नुपर्ने बताए ।
उनले भने, “नयाँ पुस्तालाई राजनीतिसँग जोड्न सकिँदैन भने त्यो राजनीतिक दलको भविष्य लामो हुन सक्दैन । युवाहरुलाई साथमा लिएर हिँड्न सक्नुपर्छ । अबको युग युवाको युग हो, युवाको साथमा एमाले छ ।”
महासचिव पोखरेलले लोकतान्त्रिक शासन व्यवस्थामा जनताले पत्याएका दलले शासन गर्नुपर्ने र ती दलले शासन स्वभाविक भएको बताए । उनले भने, “धेरैलाई दुई ठूला दल मिल्ने कुरा अप्राकृतिक भयो भन्ने लागिरहेको छ । जुन गलत हो, जनताले अस्वीकार गरेका दलहरू शीर्षस्थानमा रहने कुरा अप्राकृतिक हो ।”
उनले कांग्रेस–एमाले सधैंभरिका लागि नमिलेका पनि स्पष्ट पारे । जनताका बीचमा जाने बेलामा नेकपा (एमाले) र नेपाली कांग्रेसले एकापसमा गठबन्धन नगर्ने समेत उल्लेख गरे । देश बनाउनका लागि धेरै राजनीतिक दल होइन ठूला र बलिया राजनीतिक दल आवश्यक रहेको उनको भनाइ थियो । “ठूला र जनमतप्राप्त दलले मात्र मुलुकमा विकास र समृद्धिका लागि काम गर्न सक्छन्”, उनले भने, “देशलाई विकास र समृद्धिको बाटोमा लैजान जनमतप्राप्त राजनीतिक दल, स्पष्ट राजनीतिक दृष्टिकोण र दूरदर्शी नेतृत्व चाहिन्छ ।”
एमाले पार्टीको नीति एमालेको मात्रै नभएको उल्लेख गर्दै उनले भने, “एमालेको नीति मुलुकको नीति बन्नुपर्छ । एमालेको ‘मिसन–८४’ एमालेको एकल बहुमतको सरकारका लागि हो ।”