काठमाडौं । वि.सं. २०४० सालमा महिलालाई हेर्ने नेपाली समाजको दृष्टिकोण फरक थियो । 'महिलाहरू घर बाहिर गएर पढे भने पोइला जान्छन्' भनेर होच्याउने प्रवृति थियो । कथंम्कदाचित् परिवारले महिलाहरूलाई बाहिर गएर पढ्नका लागि अनुमति दिइहाले पनि आमाहरूलाई विभिन्न प्रकारका लाञ्छना लगाउने गरिन्थ्यो । आमालाई कुरा लगाएर अनावश्यक रूपमा तनाव समेत दिइन्थ्यो ।
विभिन्न राजनीतिक परिवर्तनका कारण देशमा अनेक घटनाहरू समाचारमा आउने गर्थे । समग्रमा महिलालाई अगाडि बढ्न नदिने र अनेक आक्षेप, लाञ्छना लगाउने समाजको प्रवृत्तिका कारण महिलाहरू निकै कम मात्र बाहिर गएर पढ्ने चलन थियो ।
कसै कसैले त रहर लाग्दा लाग्दै पनि बीचैमा पढाइ छाड्नुपर्ने बाध्यता थियो । यसको भूमरीमा लीलादेवी गडतौला पनि परिन । उनका सपना बीचैमा तुहाउन गाउँलेहरूले अनेक खेल खेले । तर परिवारको साथले उनी रोकिने कुनै अवस्था थिएन ।
पूर्वी नेपालको तेह्रथुम जिल्लामा जन्मिएर तेह्रथुमकै सरकारी विद्यालयमा पढेकी लीलाका दाजुहरू काठमाडौंमा जागिरे भएकाले दाजुहरूले बहिनीलाई काठमाडौं ल्याउने सोच राखेका थिए । तर बुबाले पढाउन चाहे पनि आमाले भने उनलाई रोक्न चाहन्थिन् । एसएलसी पास गरेपछि उनी आफैलाई काठमाडौं जान मन थियो । तर आमाले घरमा बस्न भनेर फकाइरहने गर्थिन् । आमाको सोच छाेरी घरमा बसेर पढे हुन्थ्यो भन्ने थियो ।
शिक्षित परिवारमा जन्मिएकी उनको पढाइ पनि राम्रो थियो । अनन्त उनी काठमाडौं आएर पढ्ने भइन । तर उनलाई के पढ्ने भन्ने बारेमा कुनै जानकारी थिएन । उनलाई दाजुले नेपाल ल क्याम्पसमा भर्ना गरिदिए । कानुन पढ्यो भने के भइन्छ भन्ने समेत लीलालाई थाहा थिएन । उनले आइएल घरको पैसाले पढिन् तर बिएल पढ्न भने जागिर खानुपर्ने बाध्यता आयो । बिएल दोस्रो वर्षपछि लीलाले जागिर सुरु गरेकी हुन् ।
२०४७ सालमा उनले बिएल पास गरिन् । त्यतिबेला नेपालमा बहुदल आएको थियो । नेपालको राजनीतिक परिवर्तनका कारण त्यो बेला लोकसेवा भने खुलेको थिएन । परिवारबाट बिहे गर्नुपर्छ भन्ने दबाव आएपछि उनले २०४९ सालमा विवाह पनि गरिन् ।
विवाह पछि धेरै महिलाले पढाइलाई निरन्तरता दिन नपाउने समस्या विद्यमान थियो । तर लीलाले श्रीमानको साथ सपोर्ट पाएकाले पढाइलाई निरन्तरता दिइन् । २०५२ सालमा लोकसेवा खुलेपछि उनले लोकसेवाको परीक्षामा सहभागी भइन् । त्यो बेला महिलाहरू पास हुने चान्स निकै न्यून हुन्थ्यो । न्याय सेवातर्फ कानून मन्त्रालयमा त्यो भन्दा अगाडि एक जना महिलाले मात्र पास गरेको उनको भनाइ छ ।
०५१ सालमा उनको बच्चा जन्मियो । त्यो बेला कुनै संस्थामा जागिर गर्थिन् । दोस्रो बच्चा जन्मँदा भने उनी सरकारी सेवामा प्रवेश गरिसकेकी थिइन् । लीला आमा बन्दा ६० दिनको मात्र सुत्केरी बिदा दिइन्थ्यो । कर्मचारी संख्या कम भएकाले कामको चाप पनि धेरै हुन्थ्यो । उनी आफ्नो बच्चालाई बेबी केयर सेन्टरमा छाडेर अफिस जान्थिन् । बेलुका ५ बजेपछि बबरमहलबाट निस्किएर घट्टेकुलोबाट बच्चा लिएर सार्वजनिक यातायात चढेर उनी कोठा पुग्थिन् । उनी भन्छिन्, 'कहिलेकाहीँ त बस्ने ठाउँ नै हुँदैन थियो । कहिले त दुई बच्चा नि सँगै लिएर जानुपर्ने बाध्यता थियो ।'
ती कठिन दिनहरू
बबरमहलमा कानून मन्त्रालयको अफिस थियो । त्यतिबेला लेडिजको छुट्टै कुनै शौचालय नै थिएन । शौचालय प्रयोग गर्न अर्को कार्यालयमा पठाइन्थ्यो। चुकुल पनि नभएकाले महिलाले प्रयोग गर्न एकदमै समस्या थियो । उनी सम्झिन्छन्, 'बच्चा सानो थियो । ट्वाइलेट जानुपर्छ भनेर केही नखाई बस्थे । यसले गर्दा कमजोर भएर कति पटक त हस्पिटल नै एडमिट हुनुपरेको छ ।'
लीला एक्लो महिला अफिसर थिइन । त्यसो हुँदा उनका लागि छुट्टै ट्वाइलेट बनाउने कुरामा कसैको ध्यान थिएन । यो विषयमा कोही पनि संवेदनशील थिएनन् । वा उनको कुरा सुन्न कोही पनि तयार थिएनन् ।
बच्चा, जागिर, प्रमोसन र अवसर मिलाउन अत्यन्त समस्या हुने उनको भनाइ छ । उनी भन्छिन्, 'मेरो दुई वटा बच्चा भए । बच्चाको जिम्मेवारी पनि पुरा गर्नुपर्ने भएका कारण मेरो १० वर्ष यसैमा केन्द्रित भयो । नयाँ खुलेको लोकसेवाका जाँचहरूमा सहभागी हुन सकिन । माथिल्लो पोस्टमा पुग्न यहीबाट रोकिए । अहिले महिलालाई विश्वास गर्दैनन् भने त्यो बेलाको समाज झन् कस्तो थियो हो !'
लीलाको अनुभवका आधारमा अहिलेको समाज एकदम सुधारिएको छ । तर कुनै पनि महिलाले बिहे गरेपछि काम गर्दै एक्लै बस्छु, एक्लै बच्चा हुर्काउँछु भनेर नसकिने उनको अनुभव छ ।
लीला भन्छिन्, 'जोइन्ट फेमिली हुँदा महिलालाई हरेक क्षेत्रमा सहज हुन्छ । पैसा खर्च गरेर भएपनि कसैले नचिनेको मान्छेलाई सानो बच्चा छाडेर हिँड्न आमाको मन नमान्ने रहेछ ।'
आमाको मन नै हो । अफिसमा काम गरिरहेको बेला पनि के गर्दै होला ? खायो वा खाएन भनेर ध्यान गइरहन्थ्यो उनलाई । लीलाले कानून मन्त्रालयमा १७ वर्ष काम गरिन् । शाखा अधिकृत,उपसचिव, र सहसचिव गरी १७ वर्ष त्याहाँ काम गरेकी थिइन । ऊर्जा, जलस्रोत, उद्योग, परराष्ट्र मन्त्रालय, निर्वाचन आयोग, गृह मन्त्रालय लगायतका महत्वपूर्ण निकायमा उनले काम गरिसकेकी छिन् लीलाले ।
०७० सालमा सहसचिव, ०७७ मा सचिव
बच्चा हुर्काउन र परिवार सम्हाल्ने जिम्मेवारीका कारण उनले रहर हुँदाहुँदै पनि पढ्ने मौका पाइनन् । त्यसकारण उनको पढाई रोकियो । २०५२ सालमा अफिसरको जागिरबाट सुरु भएको उनको यात्राले बीचमा धेरै अवरोधहरूको सामना गर्नुपर्यो ।
त्यसैले उनी ०६३ सालमा मात्र उपसचिव भइन भने २०७० सालमा सहसचिव भइन् । सहसचिवमा पनि उनी एकै पटकमा पास भइन् । त्याे बेला पनि महिलामा उनले मात्र नाम निकालेकी थिइन । उनले आरक्षणको सुविधा समेत लिन पाइनन् । २०६५ मात्र आरक्षणको सुविधा भएकाले उनले यो सेवा लिन नै परेन । लीला दोस्रो प्रयासमा उहसचिव भएकी हुन् । २०७७ साल कार्तिकमा सचिव भएकी उनी आफ्नो जागिरे जीवनमा थुप्रै चुनौती भोगे पनि महिलाका लागि सरकारी जागिर सुरक्षित हुने बताउँछिन् ।
उनी भन्छिन्, 'महिलाका लागि जुनसुकै भएपनि सरकारी जागिर सुरक्षित छ । महिलाले सरकारी जागिरमा फोकस गरेको राम्रो हुन्छ ।'
हरेक पाइलाहरूमा चुनौतीका चाङ
छोरी काठमाडौं पठाएर आमालाई गलत देखिरहेको समाजले लीलाले काठमाडौंमा जागिर सुरु गरेदेखि नै गर्व गर्ने थालिसकेको थियो । जागिरका कारण उनको गाउँमा समेत चर्चा हुन थाल्यो । मान समानका लागि अफरहरू आउने थाले । उनी विगत सम्झिन्छिन्, 'महिला गाउँबाट सहर पढ्न आएको हाम्रो तेह्रथुमको पिप्ले गाउँमा पहिलो म नै थिए । दाजुहरू नभएको भए अहिले म कहाँ हुन्थे । आमालाई गाउँलेले पिडा दिन्थे रे । अब तेरी छोरीको बिहे गर्न पाउन्नस् पोइल जान्छे भन्थे रे ! आमालाई ६ महिनासम्म निन्द्रा नै लाग्दैनथ्यो रे । त्याे बेला धनकुटाबाट मात्र गाडी चल्थ्यो काठमाडाैबट गाउँ जान ५ दिन लाग्थ्यो त्यतिबेला । आमा भेट्न मन हुन्थ्यो तर सक्दैनथेँ ।'
सचिव लीला महिलाले प्रत्येक पाइला-पाइलामा परीक्षा दिनुपर्ने अवस्था अहिले पनि विद्यमान रहेको बताउँछिन् । उनी भन्छिन्, 'जीवनमा महिलाहरू पटक-पटक पास हुनुपर्छ । महिलाले लोकसेवामा मात्र पास गरेर नहुने रहेछ । अफिसमा पनि, घर परिवारमा पनि महिलाले प्रत्येक चोटि पास हुनुपर्छ ।'
उनी महिलाहरूलाई काम गर्न नदिनेहरूको जमात छुट्टै रहेको बताउँछिन् । शिक्षित समाज नै पटक-पटक अवसरबाट वञ्चित गर्ने गरेको उनको अनुभव छ । फलानालाई अगाडि बढ्नबाट रोक्न सके आफू त्यहाँ पुगिन्छ भन्ने मानसिकताले अनेक आरोप र लाञ्छना लगाएर कमजोर बनाउन खोज्नेहरूको जमात बाक्लै रहेको उनी बताउँछिन् ।
महिलाहरूलाई प्रत्येक पाइलामा अवरोध गरिने भन्दै उनी तर त्यसप्रति सचेत हुनुपर्ने बताए । पछिल्लो समय यस्तो बुझाइमा अलिक फरक रहेको भन्दै उनले बिस्तारै ती कुरालाई हटाउनका लागि यसतर्फ सबैको ध्यान जानुपर्ने उनको मान्यता छ ।
'कहिलेकाहीँ पुरुष साथीहरूले मिटिङ तथा तालिममा जाँदा जताततै महिलाहरूको उपस्थित बढेको छ भन्नुहुन्छ', उनी भन्छिन्, 'मैले भन्छु हामी यतिका वर्ष एक्लै कसरी हिँड्यौ होला । पुरुष नै पुरुषको जमातमा हिँडेका थियौँ भनिदिन्छु ।'
सचिव लीला जागिरे जीवनमा महिलाहरूले पटक-पटक अप्रत्यक्ष हिंसा सहनुपरेको बताउँछिन् । चाहिने मिटिङ तथा तालिममा समेत महिलाहरूलाई खबर नहुने । निर्णय गर्दा जानकारी शेयर नै नहुने जस्ता समस्या उत्पन्न गराउने प्रवृत्ति रहेको उनको भनाई छ । उनले भने, 'शिक्षित मान्छेहरूमा अझ त्यस्ता समस्या बढी छ । त्यस्ता सोच बोकेर हिँड्ने धेरै नै थिए ।'
अहिले कर्मचारी, सरकारी सेवा, राजनीति तथा अन्य सेवामा पनि महिलाको सङ्ख्या बढेकोप्रति गर्व गर्छिन् । आफूले काम गरेकाे कानून मन्त्रालयमा पनि महिलाहरूको सङ्ख्या बढिरहेकोमा उनी खुसी छन् ।
कानून शिक्षा अनिवार्य लिन सुझाव
जागिर खाए पनि वा नखाए पनि कानून विषय सबैले पढ्नुपर्ने सचिव लीलाकाे सुझाव छ । जुनसुकै विषय अध्ययन गरेपनि कानून भने सबैले पढ्नुपर्ने उनको बुझाइ छ । सानो-सानो कुराले मानिसमा हिंसा भइरहेको भन्दै आफ्नो अधिकार, कर्तव्य र आफूमाथि अरूले गरेको व्यवहार कस्तो हो भनेर बुझ्नका लागि पनि कानून पढ्नुपर्ने उनको मान्यता छ ।
उनी भन्छिन्, 'आफूले बोल्ने र हेर्ने दृष्टिकोण र आफूलाई अरूले गर्ने व्यवहारका बारेमा थाहा पाउन पनि कानून पढ्नुपर्छ । म त अझ महिलाहरूलाई डाक्टर,पाइलट, मानविकी, व्यवस्थापन जे पढे पनि कानून पढ्नुपर्छ भन्ने सुझाव दिन्छु ।'
कानून पढेकाले कसैबाट हेपिनु तथा हेप्न समेत नसकिने भएकाले कानून विषयमा जानकार रहनु महिलाका लागि अझ राम्रो विषय रहेको उनी बताउँछिन् । पुरुषले पनि कानून पढ्नु अनिवार्य रहेको उनको भनाइ छ ।
महिलाका लागि सुरक्षित सरकारी सेवा
महिलाका लागि सरकारी जागिर निकै सुरक्षित पेसा भएको उनको भनाई छ । जस्तोसुकै अवस्था आएपनि राज्यले दिएकाे सुविधाले महिलाका लागि सरकारी जागिर सुरक्षित हुने उनको बुझाइ छ । भन्छिन्, 'बरु पुरुष सरकारी जागिरमा नआए हुन्छ । बच्चा, परिवार तथा हरेक क्षेत्रलाई सम्हाल्दै महिला सरकारी सेवामा आउनुपर्छ ।'
सेवाग्राही पनि बढी महिला नै भएकाले पनि सकिन्छ भने महिलाले सरकारी जागिरमा नै फोकस हुनुपर्ने उनको मान्यता छ । उनी कानून मन्त्रालयमा अफिसर हुँदा एक्लो महिला थिइन् । पछि उपसचिव भएपछि दुई जना महिला भएका थिए । सहसचिव हुँदा त अफिसरबाट धेरै महिलाहरू कानुन सेवामा आए ।
आफू अफिसर भएको १२ वर्षपछि मात्र नयाँ अफिसरमा महिला आएको बताउँदै उनले त्यो बेला महिलाले लोकसेवा पास गर्न सक्दैनन् भन्ने गलत बुझाई रहेको बताइन् । तर पछिल्लो समय अरूजस्तै म पनि सक्छु भन्ने सोच राखेर सरकारी सेवामा महिला आउनुपर्ने उनको मान्यता छ । 'महिलाहरूले कुनै पनि जिम्मेवारी र कामबाट पन्छिनु हुँदैन । कमजोरी हुनुहुँदैन । अवसर नपाएपछि महिलाहरू पनि पछाडि पर्न सक्छन् । यसका लागि आफू पनि तयार हुनुपर्छ', उनले भनिन्, 'राजनीतिक संगठनमा लागेकाहरूको के हुन्छ थाहा छैन तर आफूसँगै सरकारी सेवामा आएको उसले यस्तो गरेछ भनेर चित्त दुखाउनु हुँदैन । म जे छु ठिक छु भन्ने हिसाबले बस्नुपर्छ । लाजा गाला भए पनि कहिलेकाहीँ महिलालाई अवसर दिनुपर्छ ।'
सरकारी जागिरमा थुप्रै चुनौतीहरू रहेको भन्दै त्यसका लागि आफूहरू तयार हुनुपर्ने उनको भनाइ छ । महिलाका लागि बनेका कानूनहरू पनि सुरक्षित नै रहेको उनको भनाई छ । महिलाहरूलाई अहिले पनि जिम्मेवारी दिन आनाकानी गर्ने समाज रहेकाले त्यतातिर पनि सचेत रहन उनी सुझाउँछिन् ।
१ वर्ष पछि जागिरे जीवनबाट अनिवार्य अवकाशमा जान लागेकी लीला अवकाशपछि कानून क्षेत्रमा नै काम गर्ने बताउँछिन् । उनी आफू यहाँसम्म आउनु परिवार र सरकारी जागिरको हात रहेकाले दुवै क्षेत्रप्रति उत्तिकै कृतज्ञ समेत छिन् ।