काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ ।
विसं २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिएको छ । सहिदलाई प्रत्येक यस दिन सम्झना गरे पनि पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरुबाट सहिदको सपना पूरा गर्न लागि परेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
माघ १६ गते बुधबार सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको जनाइएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि सहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने सहिदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा कार्यक्रमको तयारी भएको जनाइएको छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिने राष्ट्रिय सहिद तथा शान्ति पार्क निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिको आयोजनामा कार्यक्रम गर्न लागेको अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए।
विसं २०६३ अघि सहिद दिवसका दिन राज्यका तर्फबाट सहिद गेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । सहिद गेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् ।
पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि सहिदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिएको छ । विदेशी पाहुना आउँदा स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने सहिदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ ।
सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलीः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहितप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।
सहिद दिवसका अवसरमा आज शुभकामना दिदै उनले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने तर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए।
वीर सहिदहरूले गरेका बलिदानको उच्च मूल्याङ्कन गर्दै सहिदको आकाङ्क्षालाई साकार बनाउन हामी सबैले आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्नमा यस दिवसले थप प्रेरणा प्रदान गर्ने उनको भनाइ छ ।
“सहिद दिवस, २०८१ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, शुभकामना सन्देशमा उनले भने ।
सहिद दिवस देशका लागि प्राण आहुति दिनुहुने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको राष्ट्रपति पौडेलले उल्लेख गरे ।
समृद्ध राष्ट्र निर्माणका लागि सहिदको साहस सबैका लागि प्रेरणा : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा सबल, सुदृढ र विकसितमुलुक निर्माणका लागि सहिदहरुको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन् ।
सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिता, सबैखाले विभेद्को अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्नुहुने सहिदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उपराष्ट्रपति यादवले नेपालको पवित्र धर्तीमा कैयौंँ महान सपूतहरु÷वीरवीरङ्गनाहरुले जन्म लिएका र उहाँहरुले लोकतन्त्र, समानता, पहिचान, सहअस्तित्व, सदाचार, सद्व्यवहार, समान अधिकारका लागि प्राणको आहूति दिएको बताए । उनले सहिदहरूले हामीलाई एउटा स्वतन्त्र, समृद्ध र शान्त नेपाल निर्माण गर्न प्रेरणा प्रदान गरेको उल्लेख गरे ।
वीर सहिदहरुको बलिदान, त्याग, अदम्य साहस, वीरता र हौसलालाई स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन, सम्मान र नमन गर्नका लागि हरेक वर्ष माघ १६ का दिन मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइन्छ । “सहिद दिवस हामीलाई सहिदहरूको सम्झना मात्र गराउने दिन होइन, हामीलाई उहाँहरूको मार्गदर्शन र प्रेरणाले अघि बढ्न प्रेरित गर्ने दिन पनि हो”, उनले भने ।