काठमाडौं । विभागीय टोली एपीएफले अपराजित रहँदै एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको महिला लिगको विभागीय डर्बी फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफ बनेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे ।
एपीएफ र पुलिस दुवैले क्वालिफायरमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएर फाइनल पुगेको थियो । जहाँ एपीएफले आफ्नो च्याम्पियन छवि कायम राख्दै अपराजित रहेर लगातार चौथो पटक लिग जितेको हो ।
लिगभर उत्कृष्ट प्रदर्शन गर्दै आएको एपीएफलाई पुलिसले पहिलो हाफमा गोलरहित बराबरूिमा रोकेपनि दोस्रो हाफमा भने एपीएफले ३ गोल गर्यो । पहिलो हाफमा एपीएफले पुलिसमाथि दबाब बनाउँदै गोल गर्ने केही अवसर बनाएपनि फिनिसिङ राम्रो हुन सकेन ।
३० मिनेटमा अनिता केसीले करिब १५ यार्डबाट हानेको हाफ भलिल पुलिसकी गोलकिपर उषा नाथले बचाइन् । ३२ औं मिनेटमा एपीएफले पुलिसको पनाल्टी बकस बाहिर फ्रिकिक पाएको थियो । त्यसमा कप्तान अनिता बस्नेतले हानेको प्रहार बारमाथिबाट बाहिरियो । पुलिसले भने पहिलो हाफमा एपीएफको पोष्टमै बल पुर्याउन संघर्ष गर्नुपरेको थियो । दोस्रो हाफमा पनि एपीएफले सुरुवात देखि नै पुलिसमाथि दबाब बनाएको थियो ।
६४औं मिनेटमा सविता राना मगरले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् । उनले सरु लिम्बुले बायाँ साईडबाट दिएको क्रसमा गोल गरेकी हुन् । ६९ औं मिनेटमा सरु लिम्बुले गोल गर्दै एपीएफकोअग्रता दोब्बर पारिन् । सुरुमा सविता राना मगरले हानेको प्रहार पोष्टमा लागेर फर्केपछि रिबाउण्डमा सरुले गोल गरेकी हुन् ।
८३ सविताले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफको अग्रता ३–० बनाइन् । यस सिजन महिला लिग एपीएफ र पुलिसबीच चौथो भेट हुँदा एपीएफ अपराजित रह्यो ।