लुम्बिनी । लुम्बिनी प्रदेशमा पाठेघर मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ को खोप करिब दुई लाख ९० हजार किशोरीलाई लगाइने भएको छ ।
सरकारको १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई ‘एचपिभी’ को खोप लगाउने देशव्यापी अभियानअन्तर्गत आजदेखि लुम्बिनी प्रदेशमा खोप कार्यक्रम सुरु भएको छ ।
लुम्बिनी प्रदेशका दुई लाख ९० हजार १२४ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसका लागि आवश्यक पर्ने खोप सम्बन्धित सबै खोप केन्द्रहरुमा पठाइएको मन्त्रालयलले स्पष्ट गरेको छ ।
प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै रुपन्देहीका ६१ हजार २३१ किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ । यसैगरी, दाङमा ४२ हजार ६७ र कपिलवस्तुमा ३९ हजार ५२५ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले रुकुम पूर्वमा सबैभन्दा कम तीन हजार ५९१ र अर्घाखाँचीमा नौ हजार ३३४ किशोरीलाई खोप लगाउने लक्ष्य लिएको छ । पाल्पामा १२ हजार ५६६, गुल्मीमा १३ हजार ४६, नवलपरासी पश्चिममा १८ हजार ७९३, रोल्पामा १५ हजार ४७८, प्यूठानमा १६ हजार ३३५, बर्दियामा २४ हजार ६५ र बाँकेमा ३४ हजार ९३ जनाले ‘एचपिभी’ खोप लगाउने भएको छ ।
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानको आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको राप्ती गाउँपालिकास्थित आदर्श नमूना माध्यमिक विद्यालय लालमटियामा शुभारम्भ गरे ।
मुख्यमन्त्री आचार्यसहित प्रदेश स्वास्थ्यमन्त्री खेमबहादुर सारुले उक्त विद्यालयमा आयोजित एक कार्यक्रमबीच स्वास्थ्यकर्मीलाई खोप बाकस हस्तान्तरण गरी सो अभियान सुरु गरेका हुन् । अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने किशोरीसहित १० देखि १४ वर्ष उमेर समूहका सबै किशोरीलाई लक्षित गरिने भएको छ ।
कार्यक्रममा मुख्यमन्त्री आचार्यले विद्यालयबाहिर रहेका किशोरीलाई समेत समेटेर अभियान सञ्चालन गर्ने नीति भएअनुसार लक्षित उमेर समूहका सबैलाई समेटेर खोप कार्यक्रम सफल बनाउन सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो । “विद्यालयमा रहेका किशोरीले खोप पाउने कुरा सुनिश्चित छ”, मुख्यमन्त्री आचार्यले भने, “विद्यालयबाहिर रहेका किशोरीहरुलाई समेत खोजेर अभियानमा समेट्न जरुरी छ । विद्यालयमा नजोडिएका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरू नछुटून् भन्नेतर्फ हामी सबैको विशेष ध्यान जान आवश्यक छ ।”
प्रदेश स्वास्थ्यमन्त्री सारुले क्यान्सर, मिर्गाैला र मुटुको उपचारमा सहयोग गर्न गत वर्ष रु १३ करोड विनियोजन गरेको र क्यान्सर रोग उपचारका लागि मात्र रु नौ करोड खर्च भएको जानकारी दिँदै ‘खोप अभियान’ सफल बनाउन सबैसँग अनुरोध गरे ।
“नसर्ने रोगका कारण बर्सेनि ठूलो धनजनको क्षति भइरहेको छ, राज्यले आफ्नो तर्फबाट सक्दो सहयोग पनि गरिरहेकै छ”, उनले भने, “अब सचेत र सजग भई रोग नलाग्नेगरी हामी सबैले स्वास्थ्य जीवनशैली अपनाउन जरुरी छ ।” लुम्बिनी प्रदेशमा वार्षिक करिब दुई हजार व्यक्ति क्यान्सर रोग उपचारका लागि सहयोग लिन स्वास्थ्य निर्देशनालयको सम्पर्कमा आउने गरेको उनले जानकारी दिए ।
स्वास्थ्य सचिव डा वासुदेव उपाध्यायले दुई चरणमा खोप लगाइने जानकारी दिँदै लक्षित उमेर समूहका किशोरीहरुलाई अनिवार्य खोप लगाउने अभियान सफल बनाउन सम्बद्ध सबैसँग अनुरोध गरे ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले पालिकामा प्रभावकारी ढङ्गले खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी टोलीलाई निर्देशन दिए ।
यसैबीच, बुटवल उपमहानगरपालिकाले करिब १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य शाखाप्रमुख युवराज पाण्डेले जानकारी दिएका छन् ।
उपमहानगरअन्तर्गका ७० वटा विद्यालय र १२ वटा स्वास्थ्य संस्थामा गई खोप लगाउन सक्ने व्यवस्था मिलाइएको प्रमुख पाण्डेले जानकारी दिए । उपमहानगरकी खोप ‘फोकल पर्सन’ कल्पना भुसालका अनुसार बुटवलको आम्दा अस्पताल पनि खोप लगाउन सकिनेछ । बुटवल उपमहानगरले तयार पारेको तथ्याङ्कअनुसार खोप लगाउनुपर्ने किशोरीहरुको सङ्ख्या विद्यालयतर्फका नौ हजार ८१४ र विद्यालय बाहिरका १४७ जना रहेको छ ।
बुटवलमा खोप अभियानअन्तर्गत स्वास्थ्य स्वयंसेविका, विद्यालय शिक्षिका तथा नर्स र अन्य स्वास्थ्यकर्मीसमेत गरी करिब ३०० जनालाई प्रशिक्षित गरी परिचालन गरिने उपमहानगरपालिकाले जनाएको छ ।
प्रत्येक खोप केन्द्रमा एक स्वास्थ्यकर्मी, दुईजना स्वास्थ्य स्वयंसेविका, नर्स वा तालिमप्राप्त शिक्षिकाहरुलाई परिचालन गरिने छ । विद्यार्थीको सङ्ख्या बढी भएका विद्यालयको हकमा सङ्ख्या थप गरी खोप अभियानलाई सफल बनाइने ‘फोकल पर्सन’ भुसालले जानकारी दिए ।
पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्याबाट अत्यधिक नेपाली महिला पीडित हुने गरेको र धनजनको उल्लेख्य क्षति हुने गरेको तथ्याङ्कलाई दृष्टिगत गरी सरकारले देशव्यापी रुपमा खोप अभियान सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले स्पष्ट गरेको छ ।