काठमाडौं । फोहोरमैला बोकेका पोखरा महानगरपालिकाले १३ दिनपछि ल्याण्डफिल साइट लामेआहाल पुगेर फोहोर विसर्जन गरेका छन् । महानगरको अस्थायी ल्याण्डफिल साइट सञ्चालनमा स्थानीयहरूले अवरोध गरेपछि फोहोरका गाडीहरू १२ दिनदेखि त्यस स्थानमा जान दिइएको थिएन ।
मंगलबार बिहान पोखराको दमकल शाखाबाट छुटेका फोहोरका ३० वटा गाडीहरूले वडा नं.३२ लामेआहालस्थित अस्थायी ल्याण्डफिल पुगेर फोहोर बिर्सजन गरेका हुन् ।
सोमबार बसेको जिल्ला सुरक्षा समिति कास्कीको बैठकले फोहोर बिर्सजनको काममा भइरहरको स्थानीय अवरोधलाई समन्वयात्मक ढंगले हटाउँदै फोहोर विसर्जन गर्ने कार्यलाई सुचारु गर्ने निर्णय गरेसँगै मंगलबार फोहोर विसर्जन गरिएको हो ।
अस्थायी ल्याण्डफिल साइट सञ्चालनका क्रममा गरिएको सहमति कार्यान्वयनका सवालमा केही कमजोरी भएको भन्दै स्थानीयहरूले फोहोर नल्याउन भनेका थिए । यस सम्बन्धमा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, प्रवक्ता मोतीलाल तिम्सिना, फोहोर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी लगायत वडा अध्यक्षहरूको समेत उपस्थितिमा केही दिन अघि सार्वजनिक छलफल गरिएको थियो ।
असन्तुष्ट स्थानीयहरूसँग यसअघि भएको पटक पटकको छलफलमा पनि महानगरपालिकाले सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताउँदै आएको छ । तर, केही स्थानीयहरूले फोहोर ल्याउनै नदिने अडानका साथ अदालतसम्म पुगेको यस विषयका सम्बन्धमा उच्च अदालत पोखराले समेत फोहोर विसर्जन गर्ने कार्यमा अवरोध सृजना नगर्न भनेको थियो ।
मंगलबार फोहोर विसर्जन कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सुरक्षाको प्रबन्ध मिलाएका थिए । हाल पोखरा महानगरपालिकाले बजार क्षेत्रमा फोहोर संकलनको काम गरिहरेको छ ।
यसैबिच पोखरा महानगरपालिकाले फोहोर मैला व्यवस्थापन नियमावलीको नियम २४ को खण्ड (छ) मा गरिएको व्यवस्था बमोजिम घर, कम्पाउन्ड वा परिसरको फोहोर मैला सडक वा अन्य सार्वजनिक स्थलमा जथाभाबी राख्ने, फाल्ने वा थुपार्ने कसुर गरेको पाइए रु ५ हजारदेखि १५ हजारसम्म जरिवाना गर्ने समेत बताएको छ ।