तेहरान । इरानका शीर्ष कूटनीतिज्ञले युद्धग्रस्त गाजा पट्टीबाट प्यालेस्टिनीहरूलाई सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावले मध्यपूर्वको स्थिरता र सुरक्षामा खतरा उत्पन्न गर्ने बताएका छन् ।
“गाजाबाट प्यालेस्टिनीहरूलाई जबरजस्ती विस्थापित गर्नु औपनिवेशिक तरिकाले प्यालेस्टिनलाई समाप्त पार्ने योजनाको एक हिस्सा हो”, विदेशमन्त्री अब्बास अराघचीले शनिबार राति आफ्ना इजिप्टका समकक्षी बद्र अब्देलाट्टीसँग टेलिफोन वार्तामा भनेको इरानी विज्ञप्तिमा उल्लेख छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ह्वाइट हाउस बैठकमा मङ्गलबार पहिलो पटक सार्वजनिक गरिएको गाजामाथि अमेरिकाले नियन्त्रण लिने र त्यहाँका बासिन्दाहरूलाई स्थानान्तरण गर्ने ट्रम्पको प्रस्तावको व्यापक निन्दा भएको छ ।अराघचीले यो योजनाले यस क्षेत्रको ‘स्थिरता र सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गर्ने’ बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले गाजावासीहरूलाई इजिप्ट वा जोर्डनमा पुनर्वास गर्नसक्ने सुझाव दिएका छन् । दुवै सरकारले यस्तो कदमको कडा विरोध गरेका छन् ।
अराघचीका अनुसार ‘यस परियोजनाविरुद्ध इस्लामिक देशहरूले दृढ र एकीकृत अडान लिन आवश्यक छ ।’ इरानी विदेश मन्त्रालयका अनुसार अराघचीले शनिबार गाजाको स्थितिबारे ट्युनिसिया र टर्कीका आफ्ना समकक्षीहरूसँग पनि वार्ता गरेका थिए।
शनिबार तेहरानमा हमासका अधिकारी र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीबीच भएको बैठकपछि मन्त्रीको छलफल भएको हो । यो जनवरी १९ मा इजरायल–हमास युद्धमा १५ महिनाभन्दा बढीको युद्ध रोक्दै नाजुक युद्धविराम लागू भएपछिको पहिलो यस्तो बैठक थियो ।
हमासको कट्टर समर्थक इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि प्यालेस्टिनी मुद्दालाई आफ्नो विदेश नीतिको आधारका रूपमा लामो समयदेखि समर्थन गर्दै आएको छ । तेहरानले इजरायललाई मान्यता दिँदैन ।