‘जनता कहिलेसम्म बाघको शिकार भइरहने ?’

‘जनता कहिलेसम्म बाघको शिकार भइरहने ?’

काठमाडौं । पछिल्लो समय मुलुकभर मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएका छन् । यही विषयलाई आज सांसदहरूले प्रतिनिधिसभाको बैठकमा जोडदार रूपमा उठाएका छन् ।

प्रतिनिधिसभाको बैठकको आकस्मिक समयका बोल्दै आज उनीहरूले खासगरी बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु हुने क्रम बढेको भन्दै समाधानका लागि माग गरे ।

सांसद शान्ति चौधरीले बर्दियामा निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वन जोडिएको र किसानले आफ्नोे खेतमा काम गरिरहेको अवस्थामा समेत बाघको आक्रमणबाट मृत्युवरण गनुपर्ने आवस्था रहेको भन्दै समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद चौधरीले भनिन्, “खेतमा काम गर्ने बेलासमेत बाघको आक्रमण हुने गरेको छ, यसको समाधानका लागि वैज्ञानिक योजना तय गर्न सरकारसँग माग गर्दछु, साथै घाइते र मृत्युका भएकाका परिवारलाई समयमै राहत व्यवस्था गर्न आग्रह गर्दछु । चालु आर्थिक वर्षमा मात्र बर्दियामा बाघको आक्रमणबाट मात्र चार जनाले ज्यान गुमाउनुपरेको छ ।”

सांसद जावेदा खातुन जागाले केही दिनअघि मात्र बर्दियामा चितुवाको आक्रमणबाट आफ्नै खेतमा काम गरिरहेकी ५१ वर्षीया जुनाकुमारी लामिछाने क्षेत्रीको यही माघ २५ गते मृत्यु भएको जानकारी गराउँदै यसको दिगो समाधानका लागि सरकारसँग आग्रह गरिन् ।

यसैगरी गत पुस २८ गते बर्दियामै ४० वर्षीया पदमकला थापाको पनि बाघको आक्रमणमा परी निधन भएको बताउँदै बढ्दो मानव–वन्यजन्तु द्वन्द्व तत्काल न्यूनीकरण गर्न र पीडितपरिवारलाई क्षतिपूर्ति प्रदान गर्न माग गरिन् ।

सांसद खातुनले भनिन्, “बर्दियामा जनता कहिलेसम्म बाघको सिकार भइरहने हो । कहिलेसम्म वन्यजन्तुको आतङ्क सहिरहनुपर्ने हो, सरकारको स्पष्ट धारणा माग गर्न चाहन्छु, अब अति भयो बर्दियाका सांसदहरूले सदनमा पटकपटक कुरा उठाउँदा पनि सरकार कहिले पनि गम्भीर भएको देखेनौँ । महिनापिच्छे बाघको आक्रमणबाट मानिसको ज्यान गइरहेको छ । निकुञ्ज वरिपरिको स्थानीयको जीवन त्रासमय बनेको छ ।”