काठमाडौं । काठमाडौंको कागेश्वरी नगरपालिकामा रहेको कान्ति भैरव माध्यमिक विद्यालय एउटा सरकारी विद्यालय हो । वि.सं. २०२५ सालमा स्थापना भएको कान्ति भैरव माध्यमिक विद्यालय करिब ५८ रोपनी जग्गामा फैलिएको छ ।
उक्त विद्यालयको पुरानो भवनमा २०७२ सालको भूकम्पले क्षति पुर्याएको थियो । २०७७ सालमा भारत सरकारको २६ करोड ६० लाख रुपैयाँ आर्थिक सहयोगमा उक्त विद्यालय भवनको पुनः निर्माण सम्पन्न भइसकेको विद्यालयका प्रधानाध्यापक तीर्थराज कोइराला बताउँछन् ।
लामो समयदेखि शिक्षण पेसामा आबद्ध कोइरालाले २०५३ सालदेखि सिद्धी गणेश माविबाट अध्यापन सुरु गरेका हुन् ।अहिले कान्ति भैरवलाई गुणस्तरीय शिक्षाको थलो बनाउन लागिपरेका उनी प्रविधिको विकाससँगै गुणस्तरीय शिक्षा प्रदान गर्न सामुदायिक विद्यालयलाई नयाँ चुनौती थपिएको बताउँछन् ।
उनी भन्छन्, 'कान्ति भैरव विद्यालयमा निम्न वर्गीय परिवारका विद्यार्थीहरू नै बढी आउने गर्छन् । हामी अभिभावकसँग पनि समन्वय गरेर उनीहरूलाई गुणस्तरीय शिक्षा दिने गर्छौं ।'
प्रअ कोइरालाका अनुसार सरकारको समन्वयमा विद्यालयले दिवा खाजाका लागि कार्यक्रम चलाइरहेको छ । जसमा विद्यालयकै कर्मचारीले खाजा बनाएर विद्यार्थीलाई खुवाउँछन् । यो कार्यक्रम लागु हुनुअघि बालबालिका भोकले बेहोससम्म हुने गरेको उनको भनाइ छ । उनले भने, 'खाजा दिन थालेपछि केही मात्रामा विद्यार्थी संख्या बढेको छ तर, सोचेजति भने आएका छैनन् ।'
सरकारी विद्यालयमा शिक्षकले नपढाएको आरोप छ । तर आफ्नो विद्यालयमा त्यस्तो नभएको कोइरालाको दाबी छ । कहिलेकाहीँ कुनै विद्यार्थी केही कमजोर हुँदा शिक्षकले नपढाएको जस्तो देखिने भएपनि आफ्ना विद्यालयमा आउने सबै विद्यार्थीहरूलाई विद्यालयले समान व्यवहार गर्ने गरेको उनको भनाइ छ ।
कान्ति भैरव विद्यालयमा पाठ्यक्रमको सिकाइ मात्र नभएर सुविधा सम्पन्न खेलकुद सामाग्री सहितको खेल मैदान, इन्टरनेट र सोलार ब्याकअप सहितका अत्याधुनिक प्रविधियुक्त कम्प्युटर प्रयोगशाला, फरक क्षमता भएका विद्यार्थीलाई लिफ्टको व्यवस्था, पुस्तकालय, विद्यालयको आफ्नै सवारी साधन, भौतिक विज्ञान देखि जीव विज्ञानसम्मको प्रयोगशाला भएको र यसलाई अधिकतम रूपमा विद्यार्थीहरूले प्रयोग गर्ने गरेको उनी बताउँछन् ।
अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुने भएकाले विद्यार्थीलाई भाषाको पनि समस्या नहुने उनको भनाई छ । सैद्धान्तिक सिकाई मात्र नभई विद्यार्थी जीवनमा प्रयोगात्मक र व्यवहारिक शिक्षा आजको आवश्यकता हो । २१ औं शताब्दी वैज्ञानिक र प्रविधिको युग हो । वैज्ञानिक र प्रविधिगत तरिकाबाट अध्यापन अझै पनि सार्वजनिक विद्यालयमा लागु हुन सकेजस्तो देखिँदैन ।
पुराना पुस्ताका शिक्षक नै नचाहिने पनि होइन । तर प्रविधिगत ज्ञान भएका शिक्षकको पनि आवश्यक पर्छ । पुराना शिक्षकहरूले पनि विज्ञान र प्रविधिको क्षेत्रमा दखल राख्नुपर्ने उनको भनाई छ । सोही अनुसार विद्यालयले पनि आफ्ना शिक्षकलाई प्रविधिसँग जोडेको छ ।
तर पछिल्लो समय सम्पन्न परिवारका बालबालिकाले सार्वजनिक विद्यालयमा अध्ययन नगर्ने प्रवृत्ति भएकाले यसलाई रोक्नुपर्ने उनको तर्क छ । उनी भन्छन्, 'शिक्षामा सुविधाको कमी, सार्वजनिक विद्यालयहरूले शिक्षा प्रदान गर्ने विधि, शिक्षकहरूको संख्या, शिक्षा सामग्रीको उपलब्धता, देखिएको छ । यसका कारणले सम्पन्न परिवारका बालबालिका निजी विद्यालयहरूमा आकर्षित हुन्छन् ।'
आफ्नो विद्यालयमा सम्पूर्ण सुविधा पुगेको भएपनि केही परिवारहरूको राजनीतिक, व्यावसायिक वा पारिवारिक नियम नै भएकाले विद्यार्थीहरू सोचेजति उपस्थित गराउन नसकिएको उनको भनाइ छ ।
कोइराला सार्वजनिक विद्यालय सुधार गर्नका लागि सम्बन्धित निकायले निम्न उपायहरू अपनाउन सक्नुपर्ने बताउँछन् :
१. शिक्षकहरूको तयारी र उनीहरूको अभिवृद्धि सुनिश्चित गर्ने कार्यक्रमहरू लागू गर्ने ।
२. शिक्षा सामग्री र पाठ्यक्रमको समीक्षा, नयाँ शिक्षा सामग्रीहरूको विकास गरी उचित सामर्थ्य भएका विषयहरू समावेश गर्ने ।
३. शिक्षा प्रविधिको अपडेट गर्ने, शिक्षा प्रक्रियाहरूलाई सहज बनाउने ।
४. शिक्षा सुविधाको समृद्धि गर्न योजना बनाउने, जसमा कम्प्युटर, इन्टरनेट सुविधा, विज्ञान प्रयोगशाला, पुस्तकालय, खेल मैदान आदि समावेश गर्न सकिन्छ ।
५. छात्राहरूको समर्थनमा कार्यक्रमहरू गर्ने, छात्राहरूलाई अध्ययनमा अग्रसर बनाउनका लागि विशेष भूमिका निभाउनुपर्छ ।
६. सूचना सम्प्रेषण र सजिलै सम्पर्क गर्न विद्यालय तथा शिक्षा अधिकारीहरू, अभिभावकहरू, र विद्यार्थीहरू बिचको सम्पर्कको योजनाहरू बनाउन अधिक प्रयास गर्नुपर्छ ।
७. सार्वजनिक विद्यालयहरूले आफ्नो शिक्षा योजना र मापदण्डहरूको पुनरावलोकन गर्नुपर्छ जसले विद्यार्थीहरूको समृद्धि र सफलता प्रमाणित गर्न सहयोग गर्छ ।
८. समान शिक्षा वितरणका लागि योजना बनाउनुपर्छ जसले सबैलाई उचित शिक्षा सुविधा प्रदान गर्छ ।
९. शिक्षकहरूलाई कामको आधारमा पुरस्कृत र जिम्मेवारीमा हेरफेर गरिरहनु पर्छ ।
१०. काम र जिम्मेवारी अनुसार भत्ताको व्यवस्था गरिनुपर्छ ।