- शंकर पोखरेल,
विषय प्रदेश
लुम्बिनी नेपालको मानचित्रमा रणनैतिक विन्दूमा रहेको प्रदेश हो । खासगरी विगतको तीनवटा आञ्चलिक मनोविज्ञान जोडिएर लुम्बिनी प्रदेश बनेको छ । यसमा पुरानो लुम्बिनीको नवलपरासी पूर्वखण्ड बाहेकका सबै जिल्लाहरू राप्ती अञ्चलको पश्चिम रुकुम र सल्यानबाहेकका जिल्लाहरू र भेरी अञ्चलको बाँके र बर्दिया जिल्ला मिलेर यो प्रदेश बनेको छ । भूगोलका हिसाबले हेर्दा लुम्बिनी हिमाल, पहाड र तराई गरी ३ वटै भूगोलसँग जोडिएको छ । त्यसैले यो प्राकृतिक विविधतायुक्त प्रदेशका रूपमा रहेको छ । जैविक विविधताका दृष्टिकोणले पनि लुम्विनी प्रदेश अत्यन्त सम्मृद्ध छ । लुम्बिनी प्रदेशको तराईको भूगोल मानव सभ्यताका हिसावले प्राचीन क्षेत्रका रूपमा चिनिन्छ ।
खासगरी नवलपरासी, रुपन्देही र कपिलवस्तुमा जमिनमुनि सैयौं सम्पदाहरू छिपेर रहेको मान्ने गरिन्छ । दाङको देउखुरी उपत्यका र बर्दिया जिल्ला पाषाणयुगीन विशेषताहरू प्राप्त भएका क्षेत्रका रूपमा चिन्ने गरिन्छ । जतिबेला मानिस जङ्गली अवस्थाको ढुंगे युगमा थियो, त्यतिबेला पनि लुम्बिनी प्रदेशमा मानव सभ्यता रहेको थियो भन्ने प्रशस्तै आधारहरू छन् ।
लुम्बिनी प्रदेशमा भूगोलका हिसाबले शिवालिक, चुरे, महाभारत र हिमाली गरी चारवटा क्षेत्रहरू छन् । यहाँको भू–वनोट नेपालका पहाडी र तराईका जिल्लाका परिप्रेक्ष्यमा अत्यन्तै अनुकूल छ । विकासका हिसाबले पनि लुम्बिनी प्रदेशका भौगोलिक क्षेत्र अनुकूल रहेका छन् । खासगरी नदी सभ्यताका हिसाबले हेर्दाखेरी यो आफैमा एउटा पृथक नदी सभ्यताको प्रदेश बन्न पुगेको छ । सिमावर्ती क्षेत्रहरूमा ठूला नदीहरू छन् । पूर्वमा कालिगण्डकी र पश्चिममा कर्णाली नदी सिमावर्ती नदीका रूपमा रहेका छन् । यो प्रदेशमा प्रशस्त मात्रामा आफ्नै जलाधार क्षेत्र छन् । त्यसमा पनि प्रमूख जलाधार क्षेत्रका रूपमा राप्ती नदी रहेको छ ।
लुम्बिनीको ऐतिहासिक सन्दर्भ
नवलपरासी, रुपन्देही र कपिलवस्तु नदी सभ्यताभन्दा पृथक मानववस्ती भएका प्राचीन वस्तीका रूपमा चिनिन्छन् । सामान्यतया नदी आधारित सभ्यताको छेउबाट मानव सभ्यताको विकास भएको मानिए पनि यी तीनवटा जिल्लाहरूमा आफ्नै पृथक खालको जलाधार क्षेत्र आधारित सभ्यता विकास भएको पाइन्छ । काठमाडौँ उपत्यताको सभ्यताको विकासमा पनि कपिलवस्तुको महत्त्व रहेको छ । प्राचीन तिलौराकोटको उत्खनन् गर्दा जुन प्रकारका ढुङ्गेधाराका संचरनाहरू भेटिएका छन्, ती संरचनाहरू काठमाडौँ उपत्यकाका संचरनाहरुसँग मिल्दाजुल्दा छन् । यसले के प्रमाणित गर्छ भने काठमाडौँको ढुङ्गेधाराको संस्कृति कपिलवस्तुबाट हस्तान्तरण भएको हो । त्यसकारण लुम्बिनी प्रदेशका यस्ता खालका महत्त्वपूर्ण संस्कृति र सम्पदा छन्, भन्न सकिन्छ । यद्यपि धेरैतिर उत्खनन् गर्न बाँकी नै छ । वास्तवमा लुम्बिनी प्रदेशका ऐतिहासिक सम्पदाहरूको उत्खनन् गर्ने हो भने यो आफैमा एउटा महत्त्वपूर्ण सम्पदा क्षेत्रका रूपमा स्थापित हुनेछ ।

त्यस्तै दाङ उपत्यका नाथ सम्प्रदायको महत्त्वपूर्ण थलोका रूपमा रहेको छ । नाथ सम्प्रदायमा आधारित प्राचीन स्थलहरू दाङ–देउखुरी क्षेत्रमा प्रशस्त मात्रा रहेका छन् । कपिलवस्तु, नवलपरासीको सम्भता र रुपन्देही जिल्लाको सैनामैना क्षेत्रमा रहेका सभ्यताहरु प्राचीन सभ्यता रहेका सम्प्रदाका रूपमा रहेका छन् । तिनीहरुको अन्वेषण गर्न सक्ने हो भने कुनै बेला यो क्षेत्र मानव सभ्यताका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण क्षेत्रका रूपमा स्थापित गर्न सकिनेछ र संसारकै ध्यान तान्न कुनै गाह्रो छैन ।
अर्कोतर्फ प्राचीन ज्ञान सभ्यताका हिसाबले पनि यो क्षेत्र उर्वर भूमि नै मानिन्छ । यहाँ प्रशस्त मात्रामा चेतनाको खानी थियो भन्ने तथ्य हामीमाझ छँदैछन् । बुद्धको भविष्य के हुन्छ ? भन्ने विषयमा पूर्व घोषणा (भविष्यवाणी) गर्ने असित ऋषि दाङका थिए । सांंख्यदर्शनका प्रणेता कपिलमुनी कपिलवस्तुका थिए भन्ने विश्वास गरिन्छ । आज योगका क्षेत्रमा प्रसिद्धि आर्जन गरेका चर्चित व्यक्तित्व पतञ्जलीले पनि यही कपिलवस्तु र अर्घाखांची क्षेत्रमा योग, साधना र अध्ययन गरेको इतिहास छ । त्यस्तै संस्कृत व्याकरणका रचयीता पाणिनीले पनि यसै क्षेत्रमा साधना गरेको हामी सवैले पढेकै छौं । त्यतिमात्रै होइन त्रेतायुगको सभ्यताका रूपमा बुझिने रामसँग जोडिने सन्दर्भ र किम्बदन्तीहरूमा लेखिएका गुरुहरू यसै लुम्बिनी प्रदेशकै थिए भन्ने प्रमाणित हुन्छ । त्यसर्थ लुम्बिनी क्षेत्र प्राचीन ज्ञान, चेतना र सिद्धान्तका दृष्टिले सम्मृद्ध क्षेत्र हो भन्ने स्पष्ट हुन्छ । पछिल्लो समयमा स्वर्गद्वारी महाप्रभुजस्ता चर्चित साधक र दार्शनिक पनि यही क्षेत्रका थिए जसले लुम्बिनी प्रदेशको ऐतिहासिकता र महत्त्वलाई थप उजागर गर्ने काम गरे ।
लुम्बिनीको समृद्धिका आधार
ऐतिहासिक विरासतभित्र खडा भएको लुम्बिनी प्रदेश आधुनिक विकासका सम्भावनाका हिसाबले पनि अत्यन्त महत्त्वपूर्ण क्षेत्रका रूपमा रहेको छ । खासगरी लुम्बिनीको विकासको महत्त्वपूर्ण आधार भनेको सिमावर्ती क्षेत्रमा रहेकोे विशाल जनसंख्यालाई मान्न सकिन्छ । खासगरी भारतको उत्तर प्रदेशमा रहेको घना जनसंख्यालाई अहिलेको जलवायु परिवर्तनका कारण बढिरहेको अत्यधिक गर्मी छल्ने एउटा महत्त्वपूर्ण गन्तव्य लुम्बिनी प्रदेश बन्न सक्छ । त्यही बढिरहेको तापक्रम र त्यहाँको विशाल जनसंख्या लुम्बिनीको विकासको आधार बन्न सक्छ । लुम्बिनी प्रदेशका समृद्धिका आधारलाई यहाँ प्रस्तुत गरिन्छ ।
कृषि
लुम्बिनीको विकासको कुरा गर्दा कृषिको रूपान्तरण पहिलो विषय हुन आउँछ । कृषिलाई एकप्रकारले भन्दा तराई क्षेत्रमा मूलतः अन्नको उत्पादनको हिसाबले महत्त्वपूर्ण क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । खासगरी भेरी–बबई डाइभर्सन र सिक्टा सिचाइ आयोजनाले बाँके, बर्दिया बाह्रै महिना सिञ्चित हुने क्षेत्र बनेका छन् । यी दुवै आयोजनालाई पूर्णरूपमा सञ्चालनमा ल्याउँदा यी जिल्लाहरूले कृषि उत्पादनका दृष्टिले एउटा क्रान्ति नै गर्नेछन् । अर्कोतिर हामी कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजनाका माध्यमबाट रुपन्देही, नवलपरासी र कपिलवस्तुका निश्चित क्षेत्रलाई बाह्रै महिना सिञ्चित गर्ने आधार तयार पार्न सक्छौं ।
त्यस्तै राप्ती रिभर बेसिनको पानीको उपयोगका लागि बन्दै गरेको योजनाबाट दाङ, देउखुरी उपत्यकाका र कपिलवस्तु पश्चिम खण्ड सिञ्चित गर्ने क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना छन् । त्यसो गर्दा तराईका जति जिल्ला छन्, ती जिल्लाहरूलाई अन्नको भण्डारका रूपमा विकास गर्न सकिन्छ भन्ने लाग्छ । त्यतिमात्र नभएर लुम्बिनीका तराईका जिल्लामा उत्पादन हुने अन्न लुम्बिनी प्रदेशको जनसंख्यालाई पु¥याएर सिंगो देशका लागि निर्यात गर्ने सामथ्र्यको विकास गर्न सकिन्छ । यसबाट कर्णालीमा जुन प्रकारको खाद्यान्नको न्यूनता छ त्यो न्यूनतालाई पूर्ति गर्ने क्षमता लुम्बिनी प्रदेशभित्रै विकास गर्न सकिन्छ भन्ने लाग्छ ।
अर्कोतर्फ हाम्रा पहाडी जिल्लाहरू जैविक विविधताले भरिपूर्ण छन् । त्यहाँ जडिबुटी, बहुमूल्य काष्ठ, चिया, कफी, रेसमलगायतका उत्पादन बढाउन सकिन्छ । त्यतिमात्र होइन उत्तर भारतलाई बजारको आधार मानेर तरकारी खेती पनि गर्न सकिन्छ । ठूलो स्केलमा तरकारी खेती गरेर उत्तर प्रदेशमा सप्लाई गर्न सकिन्छ भन्ने लाग्छ ।
पशुपालनका हिसाबले पनि लुम्बिनी प्रदेश सम्भावको क्षेत्र हो । कुखुरामा त एकप्रकारले आत्मनिर्भरकै अवस्थामा छौं । दूधको उत्पादनका हिसाबले पनि लुम्बिनी प्रदेश राम्रै छ । मासुतर्फ खसीबोका पालनका दृष्टिले राम्रो सम्भावना बोकेको प्रदेश हो । सम्मृद्धिको पहिलोे आधार कृषिको आधुनिकीरकण, ब्यावसायीकरण र वजारीकरण हो भन्ने कुराका आधारमा अगाडि बढ्न सकिन्छ ।
औद्योगिकीकरण
लुम्बिनीको सम्मृद्धिको दोस्रो आधार भनेको औद्योेगिक विकास हो । औद्योगिक विकासका दृष्टिले लुम्बिनीमा अत्यन्तै धेरै सम्भावना छन् । लुम्बिनी प्रदेशमा पछिल्लो समय तीनवटा ठूला औद्योगिक क्षेत्रका लागि जमिन प्राप्त गर्ने काम भएको छ । मोतिपुर, नौवस्ता र घोराही क्षेत्रमा औद्योगिक क्षेत्रका लागि जमिन प्राप्त भएको छ । करिव–करिव दुई हजार विगाहा जमिन औद्योगिक क्षेत्रका लागि प्राप्त भएको छ । औद्योगिक क्षेत्रका लागि यति धेरै जमिन प्राप्त भएको नेपालको यो पहिलो प्रदेश हो ।
अर्कोतर्फ भन्सार नाका आधारित करिडोर क्षेत्र निर्माण यहाँका महत्त्वपूर्ण परियोजना हुन् । जसका अध्ययनहरू पनि भएका छन् । भैरहवा नाकालाई बैकल्पिक सडकका रूपमा जोड्दै हुलाकी सडकलाई आधार बनाएर परासीमा औद्योगिक क्षेत्र विकासको सम्भावना बढेको छ । राप्ती उपत्यकामा राजधानी बनेपछि कपिलवस्तु र नेपालगञ्ज नाकाको सम्भावना बढेको छ । दाङ उपत्यकाको औद्योगिक क्षेत्रलाई पहाडी क्षेत्रका उत्पादन प्रशोधन गर्ने हवका रूपमा विकास गर्न सकिन्छ । त्यसबाहेक कपिलवस्तुमा पनि त्यस्तै सम्भावना बढेको छ । त्यसकारण यहाँको सम्मृद्धिको दोस्रो आधारका रूपमा औद्योगिक विकासलाई लिन सकिन्छ ।
पर्यटन
लुम्बिनीलाई सम्मृद्ध बनाउने तेस्रो आधार भनेको पर्यटन हो । लुम्बिनी–बौद्ध सर्किट प्रदेशको महत्वपूर्ण पर्यटकीय क्षेत्र हो । यसका साथै लुम्बिनी प्रदेश पर्यटनका लागि जैविक विविधतायुक्त छ । बर्दिया राष्ट्रिय निकुञ्ज र ढोरपाटन आरक्ष केन्द्र पर्यटनको सम्भावनाका निकै ठूला आधार हुन् । ढोरपाटन सिकार आरक्षको तीन खण्ड लुम्बिनी प्रदेशमा पर्दछ । त्यसलाई उपयोग गरेर हजारौं पर्यटन भित्र्याउन सकिन्छ । भविष्यमा पुथा उत्तरगंगा गाउँपालिकाको पूर्वाधार विकास गरेर ढोरपाटन सिकार आरक्ष क्षेत्रको मुख्य विन्दु पुथा उत्तरगंगा गाउँपालिकालाई बनाउन सकिन्छ ।
अर्कोतर्फ लुम्बिनी प्रदेश आफैले पहाडी क्षेत्रको पर्यटन पूर्वाधार विकास गर्नका लागि रामपुरदेखि रोल्पा हुँदै जिनावाङसम्मको वैकल्पिक सडक बनाउने काम भइराखेको छ । त्यसले पहाडी हिलस्टेशनको सम्भावनालाई बृद्धि गर्न सक्छ । भविष्यमा पर्यटनका महत्त्वपूर्ण गन्तव्यहरु उच्च पहाडी क्षेत्रका हिलस्टेशनहरू हुनेछन् । तराई क्षेत्रमा जति तापक्रम बढ्दै जानेछ त्यति हिलस्टेशनहरूको महत्त्व बढ्दै जाने सम्भावना छ । सघन वस्ती भएका क्षेत्रका नजिकका टाकुराहरू पर्यटनका गन्तव्यका रूपमा विकास हुन थालिसकेको हामीले देखेका छौं । रूपन्देही जिल्लाका वसन्तपुर र नुवाकोट गढीलाई हामीले उदाहरणका रूपमा लिन सकिन्छ । अन्य क्षेत्रमा पनि त्यही प्रकारका सोंचहरूलाई विकसित गर्र्दै जाँदा पर्यटनमार्फत् लाभ लिन सकिने सम्भावना छ ।
शिक्षा र स्वास्थ्यको हव
सामाजिक क्षेत्रको विकासका दृष्टिकोणले लुम्बिनी प्रदेशलाई शिक्षा र स्वास्थ्यको हवका रूपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ । त्यसका लागि बुटवलमा प्रदेश सरकारले नमुना अस्पताल बनाउने काम गरिराखेको छ । त्यसले भविष्यमा स्वास्थ्य सेवापूर्वाधारको मोडेल प्रदान गर्नेछ । त्यही प्रकारका गुरुयोजना राप्ती प्रादेशिक अस्पतालको पनि तयार भएको छ । अर्कोतर्फ संघीय सरकारले सञ्चालन गरेका दुईवटा अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताललाई विशेषज्ञ अस्पतालका रूपमा विकास गर्ने सोंच बनेको छ, त्यसले स्वास्थ्य पूर्वाधारका दृष्टिले लुम्बिनीलाई महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्नेछ । पाल्पाको मिसन अस्पताल पनि त्यसको एउटा केन्द्र बन्नेछ र जिल्ला अस्पतालहरूको क्षमता विकास गरेर लुम्बिनीलाई स्वास्थ्यको हव बनाउने अभियान सफल पार्न सकिनेछ ।
त्यस्तै शिक्षाका दृष्टिकोणले पनि लुम्बिनीलाई हव बनाउने अभियान सुरू भएका छन् । यद्यपि लुम्बिनीमा रहेका दुईवटै विश्वविद्यालय प्राचीन विद्यासँग सम्बन्धित छन् । ती नेपाल संस्कृत विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय हुन् । जुन प्रकारको आधुनिक शिक्षाको माग छ, त्यो प्रकारले प्राविधिक शिक्षामा जोड दिनुपर्दछ भन्ने सोंचले बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गर्ने काम भएको छ । त्यसलाई व्यवस्थित ढङ्गले अगाडि बढाउँदा अब शिक्षाको मूल बाटो प्राविधिक शिक्षा हो भन्ने मान्यतालाई स्थापित गरेर विद्यार्थीहरुको ध्यान तान्न सकिने छ । त्यसबाट जनशक्ति विकासका दृष्टिकोणले लुम्बिनीलाई अगाडि बढाउन सकिने छ । यद्यपि मानव विकासका दृष्टिकोणले लुम्बिनी प्रदेशका केही जिल्लाहरू अत्यन्त अनुकूल देखिन्छन् । पाल्पा, गुल्मी, अर्घाखाँची त्यसका उदाहरण हुन् । ती जिल्लाहरुमा विकास भएको मानव विकासलाई अन्य जिल्लामा पनि विस्तार गरेर सिंगो लुम्बिनीको मानव विकासको स्थितिलाई दक्ष जनशक्ति उत्पादन गर्ने क्षेत्रका रूपमा विकास गर्न सकिन्छ ।
खनिज सम्पदा
लुम्बिनीको सम्मृद्धिको आधार यहाँको खनिज सम्पदा पनि हो । त्यसलाई सही ढंगले प्रयोग गर्नका लागि खनिज सम्पदाको अध्ययन अन्वेषण गर्ने काम छिटो गर्नुपर्ने देखिन्छ । यहाँका निश्चित भूखण्डहरूमा पेट्रोलियम पदार्थको सम्भावना रहेको अनुमान गरिएको छ । पहिले सम्भावना छैन, भनेर उपेक्षा गर्ने काम भएको दैलेखको उत्खनन्पछि वास्तवमा गहिरिएर अध्ययन नगरिएको रहेछ, भन्ने निष्कर्ष निकालिएको छ । अर्कोतर्फ यहाँ चुनढुंगाको अपार सम्भावना छ । देशमै सबैभन्दा धेरै चुनढुंगा भएको क्षेत्रको रूपमा लुम्विनीलाई लिन सकिन्छ । सिमेन्ट उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ बाहिरबाट खरिद गर्नुपर्ने आवश्यकता अहिले नै छैन । भविष्यमा पूर्वाधार निर्माणका काम गर्दा सिमेन्ट उद्योग आधारित पूर्वाधार विकास गरेर त्यसलाई खपत गर्न सक्छौं । जस्तो कि हरेक वर्ष मर्मत गर्ने झण्झट रहेका पहाडी सडकहरूलाई ढलानयुक्त सडकका रूपमा निर्माण गरेर वर्षौ टिक्ने पूर्वाधारका रूपमा विकास गर्न सक्छौं ।
वन पैदावार क्षेत्र
लुम्बिनी प्रदेशमा वन पैदावारको सम्भावना व्यापक छ । नेपालको औसत बन क्षेत्र जति छ त्यति वन क्षेत्र लुम्बिनी प्रदेशमै रहेको छ । यहाँको वन क्षेत्र बुट्यानका रूपमा नभएर उत्पादनमूलक वन क्षेत्रका रूपमा रहेको छ । अहिलेसम्म हामीले वन क्षेत्रलाई उत्पादनको स्रोतका रूपमा विकास गर्न सकेका छैनौं । वास्तवमा वन क्षेत्र आफैमा व्यवसायिक उत्पादनको क्षेत्र बन्न सक्दछ । वन पैदावार नै उत्पादन गर्ने र त्यसको विक्री वितरण गर्ने क्षेत्रका रूपमा विकास गर्न सकिन्छ । हाम्रो संविधानले राष्ट्रिय वन क्षेत्र प्रदेशको जिम्मेवारीको विषय भनेकाले भविष्यमा त्यसलाई कानुनद्वारा व्यवस्थित गर्न सकियो भने प्राकृतिक रुपमा संरक्षित गर्ने आवश्यकताका आधारमा निकालेर उपयोग गर्नेगरी व्यवस्था मिलाउन सकिन्छ । त्यसबाहेक निश्चित पकेट क्षेत्रमा बृक्षरोपण गर्ने र निश्चित अवधिपछि निकाल्ले गरी धेरै मुलुकमा व्यवसायिक वन क्षेत्रको विकास गरेको देखिन्छ त्यसलाई पनि हामी लुम्बिनी प्रदेशमा उपयोग गरेर हेर्न सक्छौं । त्यसबाट आम्दानीको विकास गर्न पनि सकिने र गुणस्तरीय काठ उत्पादनमा सहयोग पुग्ने सम्भावना रहन्छ । निकुञ्ज क्षेत्रबाहेकका वन क्षेत्रहरूलाई व्यवसायिक वन क्षेत्रका रूपमा विकास गर्न सकियो भने आम्दानीको ठूलो स्रोत विकास गर्न सकिन्छ भन्ने लाग्छ ।
ढुंगा उत्खनन्
लुम्बिनीको अर्को सम्मृद्धिको आधार भनेको ढुंगा तथा नदीजन्य पदार्थको उत्खनन् पनि हो । नदीले बगाएर ल्याएको चीजको सदुपयोग गर्ने जुन प्रचलन छ त्यस सँगसँगै निश्चित खानी क्षेत्र पहिचान गरी खानी आधारित ढुंगा प्रशोधन केन्द्र निर्माण गरेर अगाडि बढ्न सकिन्छ । विगतमा लुम्बिनी प्रदेश सरकारले तिनाउ क्षेत्रमा सिद्धबाबा पहाड क्षेत्रमा रहेको पहिरोको समस्या समाधानका लागि ढुंगा उत्खनन् गरेर भारत पठाउने र भविष्यमा त्यस ठाउँमा वस्ती बसाल्ने योजना बनाएको थियो । तर, पछि केन्द्र सरकारले त्यसलाई स्वीकृति दिएन । तर, लुम्बिनी मात्र होइन मुलुककै सम्मृद्धिका लागि निश्चित खानी क्षेत्रहरू पहिचान गर्ने, सञ्चालन गर्ने र त्यसबाट लाभ लिएर सोही क्षेत्रको विकासमा प्रयोग गर्न सकिन्छ । यो मुलुकको सम्मृद्धिको एउटा दीर्घकालिन आधार पनि हो ।
सांस्कृतिक सम्पदा
लुम्बिनीको सांस्कृतिक सम्पदा अत्यन्त समुन्नत छ । विभिन्न जातजातिका बिचमा अत्यन्त मौलिक प्रकृतिका संस्कृतिहरू रहेका छन् । प्रदेशको आफ्नो गौरव, सामथ्र्य र पहिचान बृद्धि गर्ने कुराको आधार त्यस ठाउँको संस्कृति पनि हो । यसले पर्यटन प्रबद्र्धनका लागि महत्त्वपूर्ण आधारका रूपमा काम गर्न सक्छ । सांस्कृतिक हिसाबले पनि लुम्बिनी प्रदेश जीवन्त संस्कृतिका हिसाबले अत्यन्त सम्भावना बोकेको क्षेत्र हो । त्यसकारण हामीले लुम्बिनीको विकासका लागि यी सवै विषयलाई ध्यान दिनुपर्छ । जनताको परम्परागत जीवनशैली रहनसहनसँग जोडिएका आधुनिक विकासका मोडलहरू तयार गर्न सकियो भने आम जनता त्यस जोडिनसक्ने सम्भावना रहन्छ । उदाहरणका लागि चुरे क्षेत्रमा रहेको बाबियो हाम्रा लागि कागज उत्पादनको महत्त्वपूर्ण कच्चा पदार्थ हो ।
रोल्पा, रुकुम, गुल्मी, अर्घाखाँचीमा प्राकृतिक रूपमा गाँजा उत्पादन हुन्छ । गाँजाको औषधि मात्र होइन सावुन, लत्ता कपडालगायतका वस्तु उत्पादन गर्न सकिन्छ । त्यसर्थ हाम्रो पहाडी क्षेत्रका प्राकृतिक पैदावारहरूलाई आजको आधुनिक उत्पादनसँग जोड्न सक्ने सम्भावना छन् । त्यसलाई पनि हामीले ध्यानमा राख्नुपर्छ । टिमुर उत्पादनका लागि लुम्बिनी क्षेत्र पकेट क्षेत्रकै रूपमा विकास गर्न सकिन्छ । वास्तवमा हरेक जिल्लालाई एउटा एउटा उत्पादन गर्ने क्षेत्रको रूपमा बाँडेर उत्पादनका काम गर्ने हो भने छिट्टै सम्मृद्धितर्फ जान सकिन्छ ।
निष्कर्ष
लुम्बिनी प्रदेशमा कृषि, औद्योगिकीकरण, पर्यटन, र सामाजिक क्षेत्रका विकासका लागि अपार सम्भावना छन् । उर्वर जमिन, जल स्रोतहरूको प्रचुरता र जैविक विविधता यस प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउँदै समग्र देशलाई खाद्यान्नमा सहयोग पु¥याउने क्षमता दिन्छ । औद्योगिक विकासका लागि प्रशस्त भूमि, सीमावर्ती क्षेत्रको पहुँच र नीतिगत पहलहरूले लुम्बिनीलाई उद्योगको केन्द्र बनाउन सक्नेछ । पर्यटनका लागि लुम्बिनीको ऐतिहासिक बौद्ध धरोहर र प्राकृतिक विविधता मुख्य आधार हुन् । साथै, शिक्षा र स्वास्थ्यका क्षेत्रमा भइरहेको पूर्वाधार विकासले लुम्बिनीलाई ज्ञान र स्वास्थ्यको केन्द्रका रूपमा स्थापित गर्नेछ । यी सबै पहलहरू समेटेर प्रदेशलाई दिगो विकास र समृद्धिको दिशामा अगाडि बढाउन सकिन्छ । समग्रमा, ऐतिहासिक महत्व र प्राकृतिक स्रोतहरूको सन्तुलित उपयोगमार्फत् लुम्बिनी प्रदेश नेपालको विकासको स्तम्भ बन्न सक्नेछ । अब हरेक चीजलाई व्यापारसँग जोड्नुपर्छ । भारतमा धार्मीक अनुष्ठान आयोजना गरेर करोडौं आम्दानी गर्न थालिएको छ । धर्म आफैमा व्यापार भएको छ । यस्तो अवस्थामा हामीले हाम्रो प्रकृतिलाई, संस्कृतिलाई, उत्पादनलाई सम्मृद्धिको आधार बनाउन सक्नुपर्छ । त्यो चीजको सामथ्र्य लुम्बिनीसँग प्रचुर मात्रामा छ भन्ने बुझ्नुपर्दछ । हामीले संसारभर देखेका छांैं । आन्तरिक पर्यटनको प्रबद्र्धनमार्फत् त्यहाँको अर्थतन्त्र चलाएमान भएको हुन्छ । त्यो हिसावले एक ठाउँको मान्छेलाई अर्को ठाउँ जानुपर्ने ढंगको बोध गर्ने पूर्वाधार निर्माण गरेर पर्यटनलाई चलायमान बनाउन सक्छौं । त्यो खालको बाटोबाट हामीले लुम्बनीको सम्मृद्धिका आधारहरु खोज्नुपर्छ ।
(टक्सार म्यागजिनको ‘समृद्ध लुम्बिनी’ विशेषाङ्कबाट)