काठमाडौं । मालपोत कार्यालय वीरगन्जका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृत हरिनारायण मिश्र, सनद कुमार द्वीवेदी ब्रह्मण, चन्द्रबहादुर भण्डारी, कमोद तिवारी, ना.सु. रामेश्वर प्रसाद साह र लेखनाथ भट्टराईविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
रजिस्ट्रेसन पास गर्दा लिखतहरूमा घर बाटो सिफारिस विना न्यूनतम मूल्याङ्कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना हुने गरी व्यक्तिगतले लाभ लिई लिखत पारित गरेको भन्ने उजुरीको आधारमा उनीहरुबिरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कसुर गरेको देखिएकाले प्रतिवादी साहलाई ७,५१,८०९, तिवारीलाई २३,४९५, भण्डारीलाई ४,७८,८०८, भट्टराईलाई ३९,०५७, मिश्रलाई ६१,२४३ र द्वीवेदी ब्रह्मणलाई २,२७,५५६ जरिवाना माग दाबी सहित अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।