काठमाडौं । सिम्रौनगढ नगरपालिका बाराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, लेखा अधिकृत, इन्जिनियर, उपभोक्ता समितिका अध्यक्षसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मधेस प्रदेश सरकारको अनुदानबाट आ.व. २०७७/०७८ मा सञ्चालित योजनाहरूमा रकम निकासा गरी योजना सञ्चालन एवं सम्पन्न नगराई रकम हिनामिना गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानु, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, इन्जिनियर सुरेश कुमार यादव र सब-इन्जिनियर उपेन्द्र कुशवाहाबिरुद्ध मुद्दा दायर गरेको हो ।
सिम्रौनगढ नगरपालिकाका वडा नं. ३ मा सामुदायिक भवन निर्माण कार्य र नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यमा सम्झौता विपरीत निर्माण भएको भनी झुटो बिल भरपाई बनाई भुक्तानीका लागि पेस गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत साह कानु, चौधरी, यादव र कुशवाहकलाई ३७,९३,३९२ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को १ बमोजिम कैद र जरिवाना माग दाबी गरिएको छ ।
साथै इन्जिनियर यादव र सब-इन्जिनियर कुशवाहकले गलत नापी किताब र कार्य सम्पन्न प्रतिवेदन तयार गरेको आरोपमा कैद र जरिवानासमेत माग दाबी गरिएको छ ।
सामुदायिक भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिकेन्द्र प्रसाद यादव, सचिव विजय कुमार यादव र कोषाध्यक्ष कविता देवी तथा बर्थिङ्ग सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष रामलोचन साह कानु, सचिव छठु गिरी र कोषाध्यक्ष अनिता देवीले निर्माण कार्य सम्पन्न भएको भनी झुटो बिल भरपाई गरी १९,०७,५३२ र नयकाटोलमा बर्थिङ्ग सेन्टर निर्माण कार्यका लागि १८,८५,८६० भ्रष्टाचार गरेको आरोपमा अध्यक्ष यादव, सचिव विजय कुमार यादव र कोषाध्यक्ष कविता देवीलाई १९,०७,५३२ रुपैयाँ र बर्थिङ्ग सेन्टर निर्माण उपभोक्ता समितिका अध्यक्ष साह कानु, सचिव गिरी र कोषाध्यक्ष अनिता देवीलाई १८,८५,८६० रुपैयाँ बिगो दाबीसहित आज विशेष अदालतमा अखितयारले मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।