काठमाडौं । कर्मचारी आवश्यकतासम्बन्धी सूचना रद्द गर्नुपर्ने माग राख्दै मध्यपश्चिम विश्वविद्यालयका कर्मचारी आन्दोलित भएका छन् ।
विश्वविद्यालयको ग्य्राजुएट स्कुल अफ एग्रीकल्चर एन्ड फरेस्ट्री,ग्य्राजुएट स्कुल अफ इन्जिनियरिङको डीन कार्यालयले जारी गरेको कर्मचारी आवश्यकतासम्बन्धी सूचना रद्द गर्नुपर्ने विश्वविद्यालयका कर्मचारी संगठनको मागमा सहमति जनाउँदै मध्यपश्चिम विश्वविद्यालयका कर्मचारीहरू आन्दोलित भएका हुन् ।
विश्वविद्यालयले प्रशासन, लेखा, ल्याब र लाइव्रेरीमा कर्मचारी आह्वान गरेको छ । त्यसैगरी उपप्राध्यापक तथा प्रशिक्षकतर्फ समेत गरी १३ जना कर्मचारी र उपप्राध्यापक पदमा जनशक्ति माग गरिएको छ । त्यसको विरोधमा आन्दोलनका थप कार्यक्रमहरु समेत अघि बढाउने चेतावनी दिएका छन् ।
मंगलबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारी संगठनले तीन दिनभित्र उक्त सूचना रद्द गर्नुपर्ने माग गरे ।
‘विश्वविद्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी हालसम्मका करार सेवाका सम्पूर्ण विज्ञापनहरू रद्द गर्नुपर्छ,ु प्रेस विज्ञप्तिमा भनिएको छ,‘विज्ञापन रद्द गरी सेवा आयोगमार्फत स्वीकृति दरबन्दीहरूको परिधिभित्र रही विज्ञापन आह्वान गर्न जोडदार माग गर्दछौं ।’
सेवा आयोगले गर्ने काम विश्वविद्यालयको डीनको कार्यालयले गर्दा यहाँ कार्यरत कर्मचारीलाई वृत्तिविकासको अवसर एवं उत्प्रेरणाबाट समेत बञ्चित गर्न खोजेको कर्मचारी संघ–संगठनहरुको आरोप छ ।