काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको ऊर्जा र सिँचाइ क्षेत्रका विविध विषयमा छलफल भएको जनाइएको छ ।
भेटमा मन्त्री खड्काले नेपालका लागि नवनियुक्त राजदूत तोरुलाई बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरे । उनले जापानले कालिगण्डकी ‘ए’, कुलेखानी जलविद्युत् आयोजना, तनहुँ जलविद्युत् आयोजना, ग्रामीण विद्युतीकरणलगायतका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिए ।
यस्तै, जापानले नेपालमा चन्द्रनगर सिँचाइ प्रणाली, उच्च जोखिममा रहेका कोशी, नारायणी, बागमतीलगायतका मुख्य नदीमा बाढी नियन्त्रणका लागि गरेको सहयोगप्रति आभार प्रकट गरे । जापानले नेपालको ऊर्जा क्षेत्रमा प्राविधिक सहयोग गर्दै आइरहेको भन्दै उनले धन्यवाद दिए ।
मन्त्री खड्काले जापान सरकारलाई नेपालको जलविद्युत् क्षेत्र, हरित हाइड्रोजन, स्मार्ट ऊर्जा प्रविधि, तथा ठूला सिँचाइ आयोजनामा लगानी गर्नसमेत अनुरोध गरे । उनले मन्त्रिपरिषखबाट भर्खरै पारित भएको ऊर्जा विकास मार्गचित्रलाई कार्यान्वयनमा सहयोग गर्नसमेत जापान सरकारलाई अनुरोध गरे।
भेटमा राजदूत तोरुले विश्व बैंकको वित्तीय व्यवस्थापनको निर्माण हुन लागेको माथिल्लो अरुण जलविद्युत् आयोजनामा जापानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपालको जलविद्युत् आयोजनाको विकासको प्राथमिकता हेरी सहयोग गर्ने उनको भनाइ थियो ।