काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिसम्मत् ढंगले चल्न नसकेको बताएका छन् ।
नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको दोस्रो अधिवेशनलाई आइतबार सम्बोधन गर्दै उनले पार्टी विधिसम्मत् ढंगले चल्न नसक्दा भ्रातृ र शुभेच्छुक संस्था अफ्ठ्यारोमा परेको बताएका हुन् ।
'प्रजातान्त्रिक पार्टी कांग्रेस प्रजातान्त्रिक विधि र पद्धतिअनुसार चल्न सकेन । विधि र विधानअनुसार चल्न नसकेकै कारण यो अवस्था सिर्जना भएको हो,' नेता सिंहले भने ।
ट्रेड युनियनका मुद्दा सम्बोधन गर्न कांग्रेस लागिपर्ने स्पष्ट पार्दै उनले योग्य र ट्रेड युनियन हाक्न सक्ने नेतृत्वलाई चयन गर्न प्रतिनिधिलाई आग्रह गरे ।
कांग्रेस केन्द्रीय सदस्य रमा पौडेलले कांग्रेसलाई बलियो बनाउन ट्रेड युनियन कांग्रेस बलियो हुनुपर्ने धारणा व्यक्त गरिन् । उनले ट्रेड युनियन कांग्रेस र पार्टीको नेतृत्वलाई जोड्न आफू लाग्ने बताइन् ।
नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष पुष्कर आचार्यले पार्टीका नेतृत्वले मजदुरको समस्यालाई सम्बोधन गर्न नसकेको गुनासो गरे ।
नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहाल, वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव, महासचिव योगेन्द्र कुँवरलगायतले पार्टीको विधानमा मजदुरको मुद्दालाई समावेश गर्न पार्टी नेतृत्व लाग्नुपर्ने बताए ।
आजदेखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने कार्यक्रम छ ।