लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूमिसम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले समन्वय र सहजीकरण गर्ने बताएका छन् । भूमि समस्या समाधान आयोगले आज आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक सहजीकरण गर्ने बताएका हुन् ।
“आयोगलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ । त्यो जिम्मेवारी पूरा गर्न पूर्ण रूपमा सफल हुनुहोस् । प्रदेश सरकारले सङ्घ र स्थानीय सरकार, भूमि आयोग सबैसँग प्रभावकारी सहजीकरण गर्छ । सहजीकरणमा कुनै कमी आउन दिइने छैन”, मुख्यमन्त्री आचार्यले भने ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन सुकुम्वासीलाई न्याय दिन गठन भएको आयोग अन्तिम भएको र यसले भूमिसम्बन्धी सबैखाले समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । “विगतमा पटक–पटक आयोग गठन भए पनि समस्या समाधान हुन सकेनन् । अब यो अन्तिम आयोग हुनेछ”, उनले भने, “अब न त कोही जग्गाको मामिलामा अन्यायमा पर्छ, न त कोही भूमिहीन नै रहन्छ । हामी एकपटकका लागि देखिएका सबै समस्या समाधान गर्छौं ।”
भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले भूमिसम्बन्धी समस्या स्थायी रूपमा समाधान गर्न संवैधानिक अधिकार प्राप्त आयोग बनेको बताए । भूमिका कारण विभेदमा परेका जनताको समस्या समाधान गर्न संवैधानिक रूपमा बलियो आयोग बनेको भन्दै उनले यसपटक जसरी पनि समस्या समाधान हुने धारणा राखे ।
जिल्ला तहमा गठन भएका आयोगका अध्यक्ष, सदस्य तथा सदस्य सचिवलाई एकसाथ अभिमुखीकरण गरिएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ९६ हजार निवेदन सङ्कलन भएका र त्यसै आधारमा आयोगले काम अघि बढाइरहेको त्यस अवसरमा जानकारी दिइयो । प्रदेशका रुपन्देही, दाङ, बाँके, बर्दिया, कपिलवस्तु, नवलपरासीलगायत जिल्लामा भूमिसम्बन्धी समस्या बढी रहेको छ । साथै, देशभर १० लाख ९७ हजार निवेदन सङ्कलन भइसकेका आयोगले जनाएको छ ।
कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले विगतमा भूमिसम्बन्धी समस्या समाधान हुन नसकेको बताउँदै वर्तमान सरकारले समाधानका लागि ठोस कदम चालेको उल्लेख गरे ।
आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले वास्तविक भूमिहीन तथा सुकुम्वासीले न्याय पाउनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले जनताको मर्मसँग जोडिएर सरकार अघि बढिरहेको बताए ।