काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ । वैदेशिक रोजगारीमा श्रम गर्न जाने श्रमिकहरू विदेशमा नै मृत्यु वा अंगभंग भएमा वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको हो ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई विसं २०६७ सालमा दिने सुविधा अहिले समयअनकुल नभएको भन्दै वृद्धि गर्ने वैदेशिक रोजगार बोर्डले निर्णय गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए ।
बुधबार वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारहरूसँगको छलफल कार्यक्रममा बोल्दै उनले त्यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको विदेशमा नै मृत्यु भएमा दिने ७ लाखलाई वृद्धि गरी १५ लाख पुर्याउने तयारी रहेको बताए ।
सचिव भण्डारीले मृतकको सन्ततिलाई प्रदान गरिने शैक्षिक छात्रवृत्ति ८ लाख र १२ लाख प्रतिवर्ष रहेकामा १२ हजार ५ सय र १६ हजार ५ सय प्रतिवर्ष बनाउने निर्णय भएको बताए । उनले अवैधानिक रुपमा वैदेशिक रोजगारमा गएर विदेशमा मृत्यु हुनेहरूले पाउने २५ हजारलाई पनि उल्लेख्य बनाउने योजना सरकारको रहेको बताए ।
उनले त्यसलाई नियममा संशोधन गर्नुपर्ने भएकाले संशोधनको लागि मन्त्रिपरिषद्मा लग्ने तयारी रहेको बताए । वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले फ्री भिसा फ्री टिकटको मापदण्डलाई व्यवस्थित गर्ने बताए ।
उनले व्यवसायीहरूबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरू ठगी गर्नेहरूलाई तत्काल कारबाही गरी कानूनी कठघरामा उभ्याउने बताए । उनले मंगलबार मात्रै नक्कली कागज बनाएर ठगी गर्ने म्यानपावरको इज्जातपत्र नै खारेज गरेको बताए ।
सचिव भण्डारीले मंगलबार टी स्क्वायर प्राइभेट लिमिटेड म्यानपावरको इजाजतपत्र खारेज गरेको बताए । उनले व्यवसायीहरू नै वैदेशिक रोजगारीमा जानेहरूलाई ठगी गर्ने कार्यमा सहभागिता रहेको बताए ।
भण्डारीले मुलुकी संहितामा भएको मेलमिलाप सम्बन्धीको नीति नै ठगी रोक्न बाधक रहेको बताए । ५ करोड रुपैयाँ ठगी गरेपनि मेलमिलापको नीतिले ५ करोड फिर्ता गरेपछि सकिने रहेकाले ठगी गर्न प्रेरित गरिरहेको महानिर्देशक दाहालको भनाइ छ ।